PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘प्रचण्डले ढाल्नुपर्‍यो , हामीले जतिसुकै टाउको भित्तामा हाने पनि सरकार ढल्दैन’



‘प्रचण्डले ढाल्नुपर्‍यो , हामीले जतिसुकै टाउको भित्तामा हाने पनि सरकार ढल्दैन’

 नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका डा. शेखर कोइराला कांग्रेसभित्र पनि प्रतिपक्षजस्तै देखिन्छन्। संविधानको अन्तिम विधेयकमा समेत पार्टी ह्वीप मिचेर संशोधन प्रस्ताव हाल्ने उनी राजनीतिको प्रवाह जता बहन्छ, प्राय: त्यसको परिवर्तनमा उभिने गर्छन्। अहिले सत्तापक्षले मात्र होइन प्रतिपक्षले पनि गल्ती गरेका कारण राजनीतिमा समस्या आएको बताउँदै आइरहेका छन्, उनी।

न्यायपरिषदको बाटोबाट सर्वोच्चमा एनजिओ घुसाएको भनेर पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठलाई गम्भीर आरोप समेत लगाउने नेता कोइरालासँग पहिलोपोस्टका लागि रमेश वाग्ले र मनोज सत्यालले गरेको अन्तरवार्ता :
 

कांग्रेसले किन बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको? केही दिनभित्रै सत्तापक्ष हुन्छु भन्ने मानसिकता हाबी हुँदै गएको त होइन?


प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो। जसलाई स‌ंसदीय सिस्टम हामी भनछौं। तर यहाँ बडो रमाइलो छ। हाम्रै नेताहरु यही सरकारमा जानुपर्छ भन्नुहुन्छ। दिए इज एब्सुलुट्ली कन्ट्रयाडिक्टरी। कम‍्युनिस्टहरुले यस्तो भन्न सुहाउँछ। 
 
किनकि उनीहरुको मुलुकमा पार्लियामेन्ट हुँदैन र प्रतिपक्षको भूमिका नै खेल्दैनन्। चीन र क्युबामै हेर्नुस् न एउटै हुन्छ उनीहरुको।

हामी भनिरहेका छौं– यही सरकारमा गयो भने संविधान कार्यान्वयन हुन्छ। के संविधान कार्यान्वयन गर्न कांग्रेसले रोकेको छ? प्रदेशको निर्वाचनको कानुन ल्याउन, स्थानीय निकाय निर्वाचन कानुन ल्याउन अनि आम निर्वाचन गराउन के कुरा रोकेको छ?


तर अहिले त संविधानको नियमावली र सुनुवाइ समिति विवादले कार्यान्वयनको पहिलो खुट्किलो नै रोकिएको छ नि?

यो हामीले रोकेको होइन। यो विवाद १५ र ७५ सदस्यको होइन। रामप्रसाद सिटौलालाई न्यापरिषदमा सुशील दाले सिफारिस गर्नुभयो। अनि ३४ औं दिन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ समिति छैन भन्दै उहाँको नियुक्ति सिफारिस फिर्ता गर्नुभयो। विवाद यो हो कि– न्यायपालिकामा राजनीतिक सिफारिस गर्न खोजिएको छ।

सिटौलाको नियुक्ति समिति छैन भनेर फिर्ता लिनुभयो। अनि अर्कोतिर यसरी गरौं भनेर भन्न मिल्छ? यो १५ र ७५ को विवादै होइन।

न्यायपालिकामा उहाँहरुले हस्तक्षेप गर्न खोज्नुभयो। कसरी भन्दा– तीन जना न्यायपरिषदका पदेन सदस्य प्रधानन्यायाधीश, वरिष्ठ न्यायाधीश र कानुन मन्त्री बसेर ११ जना न्यायाधीश सिफारिस गर्‍यो। कांग्रेस त्यसमा बोलेन, किनभने शेरबहादुरजीको पनि मान्छे पर्‍यो, त्यसकारण बोल्नुभएन। कसैको अर्को मान्छे पर्‍यो होला- पुनरावेदन अदालतको। त्यो गलत हो कि होइन?

पाँच जनाको न्यायपरिषद छ। दुई जना वाचडगको रुपमा काम गर्छन्। एक जना बार एसोसिएशनबाट, अर्को प्रधानमन्त्रीको तर्फबाट, बाँकी पदेन भए। बाहिरबाट आउने दुई जनालाई नियुक्त नै नगरीकन न्यायपरिषदको कामकारबाही जे पनि गरिदिने! सबैभन्दा गल्ती त तत्कालीन
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गर्नुभयो। एनजिओलाई भित्र्याउनुभएको छ उहाँले। त्यही कारण हो, सपना प्रधान मल्ल आएको। यहाँ १५ र ७५ को विवाद होइन। १५ भए नि ७५ भए नि दुवैमा कांग्रेसको बहुमत नहुने भएपछि किन चिन्ता गर्नु हामीले?  
 

तर कांग्रेसले किन भन्दैछ– हामी १५ मान्दैनौ ७५ नै चाहिन्छ? हामीलाई पनि भागवण्डा चाहिन्छ भन्न खोजेको हो?

म त्यही त भन्दैछु। कांग्रेस यही गलत भन्दैछ। राजदूतको नियुक्तिमा किन कांग्रेस जाने? त्यो त सरकारको काम हो। कांग्रेसले नाम नदिए भइहाल्यो नि एमालेको सरकारलाई। सरकारमा हुँदा एमालेबाट जोजो गरेको छऽ कांग्रेसले पनि सबै विथड्र गरे भइहाल्यो नि।
 

तर राजदूत माग्न त कांग्रेसकै रामचन्द्र पौडेल गएका हुन्

उहाँहरुले जे गर्नुभयो त्यो सही भन्दैछैन म। हो, पुनर्निर्माण प्राधिकरणको बैठकमा जानु ठिक छ। तर त्यो बैठकमा प्रधानमन्त्री डाक्दै डाक्नुहुन्न। महत्वपूर्ण बैठक, जसमा एनजिओहरुलाई इन्भल्भ गराउने त्यसमा बोलाउनुहुन्न। एनजिओलाई अर्बौं त्यत्तिकै दिइदिने?

शेरबरहादुरजीले अर्को गल्ती गर्नुभयो। सुनुवाइ समिति छैन भने सुशीला कार्कीजीलाई किन सिफारिस गर्नुभयो संवैधानिक परिषदबाट? हाम्रो पार्टीले पनि गलत काम गरिरहेको छ।  

यस्तो कुरा पार्टीको फोरममा, केन्द्रीय समितिमा किन उठाउनुहुन्न?

बैठक बस्नुपर्‍यो नि उठाउन त। पार्टीको फोरम सेन्ट्रल कमिटी बस्दै बस्दैन कहाँ उठाउनु!

मैले सुनेँ- शिक्षा ऐनमा निजी कम्पनीलाई दिने निर्णय थाहा भएन भनेर कांग्रेसले भन्यो। हामीलाई सोध्नुपर्थ्यो। किन सोध्ने सरकारलाई?
शिक्षा ऐन बनाउँदा संसदीय समितिले बनाएको हो। म पनि छु त्यो समितिमा। कांग्रेसका प्रतिनिधि छ्न्। हामीसँग सोध्ने हो नि उहाँहरुले। ओलीजीलाई गएर सोध्ने होइन। शिक्षा इज नट अ इसेन्सल कमोडिटी, यो बुझ्नुस्। कम्पनी एक्टमा शिक्षा निजीलाइ दिएर ट्याक्स तिर्ने होइन प्राइभेट स्कुलहरुले। यो दुनियाँमा कहीँ पनि छैन। कम्पनी एक्टमा राखेको नेपालमा मात्र हो। निजी गुठीमा के हुन्छ भने 'दे निड नट पे ट्याक्स बट दे इज अ प्राइभेट वर्क'। त्यो हो विश्वको प्राक्टिस।

गलत कामलाई गलत भन्नुपर्‍यो हामीले। म त्यो भन्दैछु। यस्तो कुराहरुमा कांग्रेस चुकेको छ।
 

कांग्रेस नीतिगत रुपमा चुकेको हो कि लोभीपापीको झुण्ड भएर चुकेको हो?

लोभीपापी त भन्दिनँ त्यसरी। तर कतैकतै नीतिगत रुपमा चुकेको भन्छु। नबुझेर चुकेको।

दीपकुमार उपाध्यायलाई फिर्ता बोलायो। म के भन्छु भने– गभरमेन्ट ह्याज एभ्री राइट टू रिकल दि एम्बेसडर। तर भारतसित साँठगाँठ गरेर सरकार गिराउने जुन चार्ज लगाएको छ, त्यसमा प्रतिवाद गर्नुपर्‍यो। त्यो पो हो राजनीति भनेको। रिकल गर्‍यो त गर्‍यो। भोलि हामी प्रधानमन्त्री भएपछि अर्जुन कार्कीलाई रिकल गर्दिऊँ। चाइनाको वा अरु ठाउँको रिकल गरौं। गरे हुन्छ किनकि सिस्टम बस्छ।

मलाई त खुसी लागेको छ सिस्टम बस्न लागेकोमा।
 

कांग्रेसमा सभापतिलाई नै राखेर अब डेमोक्रेसीको क्लास चलाउनुपर्‍यो त्यसो भए?

बेसिक कुरा हामीले थाहा पाउनुपर्छ। के कुरामा हामी अड्ने हो भनेर। पुनर्निर्माणको विषयमा प्रतिपक्षलाई बोलाउनुपर्‍यो नि त। ओलीजीले भन्न पाउनुहुन्छ- म सुशील ज्ञवाली राखेर कुरा गर्छु भनेर। हु इज सुशील ज्ञवाली? एउटा कर्मचारी न हो। प्रधानमन्त्रीसित कुरा गर्न जाँदा त्यसो भन्न पाइन्छ। प्रतिपक्षलाई इन्भल्भ नै नगराई एनजिओलाई दिन पाइन्छ? प्रतिपक्षी दलको नेता प्राधिकरणको उपाध्यक्ष हुने भनेर पुनर्निर्माण ऐनमै लेखेको छ। उसलाई इन्भल्भ नै नगर्ने, त्यस्तो धृष्टता देखाउने सरकारले?
 

राजदूत नियुक्ति लगायतका विषयमा कांग्रेस किन भाग खोजिरहेको छ?

कांग्रेसले सहयोग गर्ने हो संविधान कार्यान्वयनका विषयमा। प्रदेशको विषयमा, मधेसको विषयमा समस्या समाधान गर्न मद्दत गर्छ। तर बसेर छलफल त गर्नुपर्‍यो नि। प्रतिपक्षसँग छलफल नै नगर्ने अनि राष्ट्रियता र अखण्डताको ठूलाठूला नारा दिने ओलीजी। हाम्रो परराष्ट्र मन्त्रीज्यू चाहिँ भारतलाई गएर चारबुँदे डकुमेन्ट दिने?

 
दिएको छैन भन्छन् त?

त्यस दुई बुँदा अनुसार संविधान संशोधन भइसक्यो। चार बुँदा दिएको छैन भन्ने सबै फटाहा हुन्। चार बुँदामध्ये दुई बुँदाले संविधान संशोधन भइसकेको छ।
 

सरकारले त राष्ट्रिय स्वाधीनता बचाएको दाबी गर्दै आएको छ

यो झुटो राष्ट्रवाद-अति राष्ट्रवाद-अन्ध राष्ट्रवाद-उग्र राष्ट्रवादको नारा दिएर नेपाली जनतालाई बेवकुफ बनाइयो।
 

तपाईं कांग्रेसभित्रको प्रतिपक्ष बन्दै गइरहनुभएको छ है।

होइन, म प्रतिपक्ष हैन। म मलाई लागेको कुरा गर्छु।
 

सरकार परिवर्तका लागि कांग्रेसको कार्यदलमा सभापति देउवाले तपाईंलाई पनि खटाएको छ भन्ने आएको छ नि?

मेरो पनि नाम देखेँ मैले। तर म त्यसमा संलग्न छैन। हामीले प्रतिपक्षको भूमिका खेल्छौं। खेलिरहन्छौं। प्रतिपक्षको भूमिका खेलिरहँदा संसदमा नम्बरको खेल हुन्छ। नयाँ संविधानले कुनै पनि दलको बहुमतको अवस्था आउँदैन। समानुपातिक व्यवस्थाले। कुनै न कुनै दलसँग अलायन्स गर्नैपर्छ।

राप्रपा नेपाल र विजयकुमार गच्छदारको पार्टी मिलेर बनेको छ। कांग्रेस प्रतिपक्षमा छ। सत्तामा जान खोज्नु नेचुरल हो। हामी हाम्रो कार्यक्रमअनुसार लग्न खोज्छौं। देउवाले कोसिस गरिरहनुभएको छ भने गलत गरिरहनुभएको छैन। तर मचाहिँ त्यसमा इन्भल्भ छैन।
 

तपाईंले केही दिनअघि प्रचण्डसँग भेट गर्नुभएको थियो नि। के कुरा भयो?

व्यक्तिगत भेटघाट गरेको हुँ। देउवाजीले आफ्नो विश्वास पात्र विमलेन्द्र निधि र रमेश लेखकलाई खटाउनुभएको छ भन्ने सुनेको छु, ठिक छ। यस्तो कुरामा म सपोर्ट नै गर्छु देउवाजीलाई। यस्ता कुरामा ट्रस्टेड मान्छेलाई नै पठाउनुपर्छ। मेरो त प्रचण्डसँग व्यक्तिगत सम्बन्ध छ। १०/१२ वर्षदेखिको। मेरो कुराकानी हुन्छ भेटघाट हुन्छ। दुई/तीन राउण्ड कुराकानी भयो।
 

तर विगतमा कांग्रेसको प्रधानमन्त्रीको प्रस्तावमा प्रचण्ड किन युटर्न भए भन्नुभएन?

शेरबहादुरजी त प्रस्ताव नै लिएर जानुभएको थियो नि। कतैबाट आकाशवाणी आयो होला।

आकाशवाणी नै हो?

अरु के हुन सक्छ? राति ९ बजेमसम्म ठिकै थियो भन्छन् सबै जना। बिहान ८ बजे देउवाजी जाँदा युटर्न हुनुभयो। अग्रिमेन्ट गर्नुभएन भने त आकाशवाणी नै त आएको होला नि कतैबाट।
 

प्रधानमन्त्रीको उम्मेदवारी दिँदा सुशील कोइरालाले जस्तो आरोप खेपे, अहिले प्रचण्डलाई त्यस्तै आरोप छ नि? 

त्यो हदसम्म तपाईंले भनेको कुरा हुँदैन म भन्दिनँ। यस्ता कुरा चलिरहन्छन्। यसलाई अनौठो पनि नमान्नुस्। तपाईंको छिमेकी मुलुक त होइन- अफगानिस्तामा निर्वाचन भयो। दुवै पक्ष अमेरिकन लबीका थिए। तर रिजल्ट आउन सकेन। ५० प्रतिशत नतिजा कसैको नआएपछि अमेरिकन तालमेलमा एउटालाई चिफ एक्जुकेटिभ अफिसर बनायो एउटलाई प्रेसिडेन्ट।

विदेशीहरुले यस्ता खेल खेल्छन्। 

के ‘उत्तर’बाट पनि यस्तो भयो?

यसपटक उत्तरबाट पनि भयो। नौलो कुरा भन्दिनँ म। दिस इज नट न्यु। यसलाई हामी यसरी प्रचार गर्छौं नि भारतमा छोराछोरीलाई स्कलरसिपको मुद्दा समेत उठ्छ। तर चीनमा हेर्नुस्, कति स्कलरसिपमा पढिराखेका छन्? नाम त म नै लिन सक्छु ककसका छोराछोरी पढ्छन् भनेर।

इन्डिया, चीन र रसियाले पढाएर के फरक पर्‍यो? । तर यहाँ अतिरञ्जlत कुरा गर्छन्। आफूलाई सबै कुराको ज्ञाता भन्छन्। जबकि दुईटा छिमेकी मुलुक नेपालसित अस्वाभाविक ढंगले असुरक्षित महसुस गरिरहेका छन्।

खासा बोर्डर किन खुलिराखेको छैन? सबै तयारी हुँदा पनि किन खोलेन। उसले असुरक्षित महसुस गर्‍यो।
 

एक महिनाअघि पनि प्रचण्डसित टच हुनुहुन्थ्यो। अहिले पनि हुनुहुन्छ। तर गेममा छैन भन्नुहुन्छ?

प्रचण्डसित मेरो पर्सनल राम्रो छ। कन्ट्याक्टमा छु। फोन गर्‍यो भेट्यो…
 

फेरि भेट्नुहुन्छ?

आवश्यकता पर्‍यो भने भेटौंला नि। देउवाजीले पठाएर भेटेको होइन। नेपाली कांग्रेसको नेता शेरबहादुरजी हो भने सहयोग गर्नुपर्छ मैले, द्याट इज माई ड्युटी।  असफल हुनुभयो भने म त ठिक गर्नुभयो भन्छु।

हाम्रा नेताहरु अपरिपक्व डिसिजन भयो भने केन्द्रीय समितिमा छलफल गर्नुपर्थ्यो भन्नुहुन्छ। म त्यसो भन्दिनँ किनभने १२ बुँदे समझदारी गर्दा गिरिजाबाबुले सुशील कोइरालालाई थाहा पनि दिनुभएको थिएन। जबकि सुशील कोइराला राइट ह्यान्ड मान्छे हुनुहुन्थ्यो। सिटौलाजी र मलाई मात्र थाहा थियो।

होहल्ला हुन्छ, काम हुँदैन भनेर थाहा दिनुभएन। १२ बुँदेमा हस्ताक्षर हुने बेला भएपछि सुशीललाई भन्नुभयो- केन्द्रीय समिति बोलाऊ।
प्रेसिडेन्टले त्यति पनि अधिकार लिएन भने के अधिकार लिने? गोप्य हुनुपर्‍यो नि यस्ता कुरा। कन्फिडेन्सियल मान्छे खटाउनुभयो ठिकै छ। म यसमा देउवाजीलाई दोष नै दिन्न।
 

अब कसरी सरकार बन्नुपर्छ? माओवादी र कांग्रेस मिलेर?

म कसरी भनौं सरकार बन्छ/बन्दैन। यो सरकार चल्ने हो/होइन हामीमा निर्भर गर्दैन। हाम्रो २०७ सिट छ। हामीले त्यो बेला पनि सरकार गिराउन खोजेको होइन। प्रचण्डजीले आफैं आएर भन्नुभयो- यो सरकार असफल भइसक्यो। मलाई पनि असफल भएको सरकार जानुपर्छ भन्नुभयो। त्यसपछि लागेको हो नि हामी त।

हाम्रो बलबुतामा सरकार गिर्दैन। प्रचण्डले विथ ड्र गर्नुपर्‍यो। उहाँले गिराउनुपर्‍यो। हामीले जतिसुकै टाउको भित्तामा हाने पनि सरकार गिर्दैन।


सरकारको आयु कति हो?

प्रचण्डसँग के ‘जेन्टलमेन अग्रिमेन्ट’ भएको हो उहाँलाई सोध्नुपर्‍यो। मलाई थाहा भएन। तर कांग्रेसको बलबुतामा सरकार गिर्दैन। मधेसको मुद्दा कसरी सम्बोधन हुन्छ, ओली सरकारको आयु त्यसमा भर पर्छ। उहाँ उदासीन देखिनुहुन्छ। प्रधानमन्त्री भएपछि त समस्या समाधानमा लाग्नुपर्‍यो नि।

एउटा छिमेकीलाई चिढ्याउन लागिरहनुभएको छ। त्यसले भोलि ब्याकफायर गर्छ। दीपकुमारजीलाई जुन चार्जमा विथड्र गराउनुभयो, त्यो गर्न हुँदैनथ्यो।

चीनसँगको सम्बन्ध राम्रो बनाउनुभएको छ, द्याट इज गुड। मलाई त्यसमा केही भन्नुछैन। सम्झौता नेपालको हितमा छ। तर नेपालको हितमा एउटासँग सम्झौता गर्दा अर्को देशलाई चिढ्याउन भएन। भारत मात्र होइन हामीले अमेरिकालाई वा अरुलाई पनि चिढ्याउनु भएन।

तर दुवै छिमेकीले नेपालसँग अत्यन्तै असुरक्षित महसुस गरेका छन्। तिब्बतको इस्यु लिएर चीन। भारतको इस्यु लिएर आतंकवाद लगायतका। जुन रिपोर्ट अमेरिकाको स्टेट डिमार्टमेन्टले पनि दिएको छ। नेपालमा फेक करेन्सी, आतंककारीको अड्डा र त्रिभुवन विमानस्थल असुरक्षित भनेर रिपोर्ट नै दिएको छ। यो त भारतलाई अमेरिकाले असुरक्षित छ भनेर भन्न खोजेको छ।

कमल थापा अमेरिका जाँदा जोन केरीले भनेका छन्- 'नेपाल सामरिक देश हो। नेपालमा हाम्रो चासो हुन्छ।' धर्मनिरपेक्षताको भेल आएको छ युरोपियनहरुको। नेपाल अन्तर्राष्ट्रिय क्रीडास्थल बन्दैछ भनेर चाइना डराइराखेको छ।

ओलीजीले एउटालाई राम्रो गर्नुभयो, अर्को मुलुकलाई भित्तामा पुर्‍याउन खोज्दै हुनुहुन्छ। नेपाल जस्तो मुलुकले भित्तामा पुर्‍याउन सक्दैन।
 

मधेस मुद्दा र प्रदेशको खाकाबारे कसरी समाधान निकाल्ने?

मधेसको मुद्दा सम्बोधन गरेर अहिले त हिरो हुने बेला छ ओलीजीको। मधेसको मुद्दा समाधान गर्दा मधेसी मोर्चाले भनेको कुरा जस्ताको तस्तै राख्नुपर्छ म भनिराखेको छैन।

कांग्रेस र एमालेले जुन सात प्रदेशको खाका दिएको थियो अब त्यसबाट छलफल सुरु गर्नुपर्छ। नागरिकताका विषयमा पनि गर्नुपर्छ काम। तर अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख, सरकार प्रमुख, आर्मी प्रमुख वा प्रधानन्यायाधीश बनाउन खोज्नुभएको हो भने त्यो सम्भव हुँदैन।

त्यसबाहेक आदिवासीका समस्या होलान्, तिनलाई समाधान गर्नुस्। संविधान कार्यान्वयनका लागि फटाफट गर्नुपर्‍यो। स्थानीय निकाय निर्वाचन र प्रदेशको निर्वाचनमा लाग्नुपर्‍यो।
 

मतलब यी सबैका लागि सरकार चेन्ज हुनुपर्छ भन्न खोज्नुभएको?

म सरकार चेन्ज हुनुपर्छ भन्दिनँ। ओलीजीले नै यो सबै गर्नुभए हुन्छ। गर्न सक्नुहुन्न भने उहाँले नै सक्दिनँ भने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell