PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​कोरिया जानका लागि इपिएस भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै गर्न सकिने



​कोरिया जानका लागि इपिएस भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै गर्न सकिने

काठमाडौँ : कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी अब मोबाइलबाटै गर्न सकिने भएको छ। नेपालमै पहिलो पटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप woori eps test तयार भएको छ। 

उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५/२५ वटा प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्। 

‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, ‘एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।‘

आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन्। 

इपिएस अन्तर्गत पिबिटी र सिबिटी दुवैको लागि एप उपयुक्त रहेको उनले बताए। यो एप डाउनलोड गर्नेले अहिले एउटा फ्री सेटको टेस्ट दिन सक्छन्। एपमा बाँकी प्रिमियम सेट तयार गरिएको छ। रु १०० भुक्तान गरी एउटा प्याकेज खरिद गरेमा ३ वटा प्रश्नका सेट पाउन सकिनेछ। यस्ता प्याकेजहरू ५ वटा अर्थात् १५ वटा प्रश्न सेट रहेका छन्। 

प्याकेज खरिदका लागि भुक्तानी अनलाइन पेमेन्ट गेटवे इसेवामार्फत् गर्न सकिनेछ। इसेवाको अकाउन्ट हुनेले इसेवामार्फत् सीधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशनमा रहेका इसेवा जोन, इसेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए।

उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन प्वाइन्ट रहेको छ।

छोटो समयमै लोकप्रिय यो एप हाललाई एण्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध रहेको र निकट भविष्यमा आइफोन प्रयोगकर्ताहरुलाई लक्षित गरी निर्माण गरिने श्रेष्ठले बताए। 

यो एप गुगल प्लेस्टोरमा woori eps test सर्च गरी डाउनलोड गर्न सकिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell