PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​२४ घण्टा बित्यो तर अपहरित उद्योगी केडियाको अवस्था अज्ञात



पहिलोपोस्ट

  • राधेश्याम पटेल
वीरगन्ज : बाराबाट अपहरित वीरगन्जका खाद्यान्न उद्योगी सुरेश केडिया अपहरण भएको २४ घण्टा नाघिसक्दा पनि उनको अवस्था अज्ञातै छ। उनको अपहरणबारे सुरक्षा अधिकारीहरुले विभिन्न अनुमान गरिरहेका छन् तर ठोस जानकारी हात लागेको छैन।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका सुरेश केडियाका भाइ प्रदीप केडियाले भने, 'प्रहरीले खोजतलास र उद्धारको प्रयास जारी राखे पनि दाजुको अवस्थाबारे केही जानकारी पाउन सकेका छैनौं। फिरौतीका लागि पनि कतैबाट कुनै जानकारी आएको छैन।'

अपहरितको उद्धारका लागि बारा र पर्साको प्रहरीले नारायणी अञ्चल प्रहरी कार्यालयको संयोजनमा संयुक्तरुपमा प्रयास जारी राखेको जनाइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले भारतको बिहारमा पुर्‌याइएको हुनसक्ने आशंकामा अपहरितको खोजीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए। 

उद्योगीको अपहरणपछि चर्को दबाबमा रहेका उच्च सुरक्षा अधिकारीले संयुक्तरुपमा बैठक गरेर तत्काल उद्धारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्।

परिवारका सदस्यको अपहरणपछि केडिया परिवार चिन्तामा डुबेको छ। परिवारका सदस्यहरु त्रासका कारण घरमै सीमित छन्। वर्षौअघि बिहारका अपराधीबाट केडिया परिवारकै अर्का सदस्य रमेश केडियामाथि सांघातिक आक्रमण भएको थियो।

बिहीबार साँझ साढे ६ बजे बरियारपुरस्थित गढीमाई मन्दिरबाट करिब तीन किलोमिटर दक्षिणपश्चिममा अवस्थित पसाहा पुल नजिकैबाट सुरेश केडियाको अपहरण भएको थियो। चालक श्याम उमेश साहको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको छ।

पसाहा पुलमा गढीमाई मन्दिर सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको सुरक्षा युनिटको टोली तैनाथ रहँदै आएको थियो तर पनि उनको अपहरण भयो। उनी परवानीपुरमा अवस्थित वीरगन्ज खाद्य उद्योगका लागी खाद्यान्न खरिद गर्ने शिलशिलामा बरियारपुर पुगेका थिए।

हतियारधारीले केडियाको कार चालकमाथि गोली प्रहार गर्दै मोटरसाइकलमा आफूसँगै अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीको भनाई छ। प्रहरीले नेपाल भारतीय सीमाबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्ने घटनास्थलबाट केडियालाई बाराकै कबही गोठ चोक हुँदै कटगेनवा नाकाबाट बिहारको घोडासहन हुँदै मुजफ्फरपुर पु¥याएको हुनसक्ने अनुमान गरेको छ।
 

त्रसित उद्योगी

मधेस आन्दोलन र भारतीय नाकाबन्दीको मारबाट सुस्तरी उठ्दै गरेको वीरगन्ज पथलैया औद्योगिक करिडरका उद्योगीहरु अपहरणको घटनाबाट त्रसित हुन पुगेका छन्। केडिया समूहका सदस्य ५६ वर्षीय सुरेश केडियाको बाराबाट बिहीबार साँझ हतियारधारीले अपहरण गरेर लगेपछि यहाँका उद्योगीहरुमा निजी सुरक्षाको विषयले चिन्ता छाएको छ।

'अपहरणको घटनाले हामी मात्र नभएर यहाँका आम उद्योगी व्यापारी नै त्रसित बनेका छन्,' संघका अध्यक्ष प्रदीप केडियाले भने, 'सुरक्षा अधिकारीहरु सामू सुरक्षाको पूर्ण अनुभूति दिलाउनुपर्ने चुनौती थपिएको छ।' 

अपहरणको घटनाले त्रासमा रहेका उद्योगीहरु वीरगन्ज पथलैया करिडरमा अवस्थित आफ्ना उद्योगहरुमा नियमितरुपमा जाने आउने आफ्नो दैनिक रुटिन समेत फेर्न बाध्य भएका छन्। 'ज्यानै जोखिममा पारेर कसैले पनि उद्योग चलाउन सक्दैन,' एकजना उद्योगीले भने, 'अब करिडरमा आउजाउ गर्दा दस पटक विचार गर्नुपर्ने अवस्था आएको छ।'

यहाँ करिडरमा अवस्थित उद्योग र वीरगन्जका उद्योगीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित सुरक्षा व्यवस्थाका अलावा सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल र नेपाल प्रहरीको स्पेसल टास्क फोर्स समेत तैनाथ छ।

निम्बस फिड उद्योगका निमित्त महाप्रबन्धक सोचन यादव सुरक्षा योजनालाई पुनरावलोकन गर्नुपर्ने बताउँछन्। उनले भने, 'अब उद्योगीहरु पनि सुरक्षा व्यवस्था सुनिश्चित गरेपछि मात्र ओहोरदोहोर गर्नु उपयुक्त हुनेछ।'

बिहारमा मदिरा प्रतिबन्धले समेत बिहारका अपराधीहरु यता आएर आश्रय लिएको हुनसक्ने अनुमान गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell