PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'प्रधानमन्त्री ओलीलाई कुर्सी होइन बेड चाहिएको छ'



पहिलोपोस्ट

'प्रधानमन्त्री ओलीलाई कुर्सी होइन बेड चाहिएको छ'

काठमाडौं : संघीय गठबन्धनले शुक्रबार भक्तपुरको मध्यपुर थिमीमा विरोध सभा आयोजना गर्‍यो। संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शंखधर साख्वा चोकमा र्‍यालीसहित सरकार विरुद्व नाराबाजी र प्रदर्शन भयो। थिमी पुगेर विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरे।

संविधान पुनर्लेखनका लागि १४ दिनेदेखि राजधानी केन्द्रित आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो बिहीबार कलंकीमा विरोध सभा गरेको थियो।
 
जारी आन्दोलनलाई सार्थक निष्कर्षमा पुर्‍याउन अन्तिम युद्धका लागि काठमाडौंका रैथाने नेवार समुदाय उठ्न थालेको गठबन्धनको दाबी छ।
थिमीको विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता राजेन्द्र श्रेष्ठले राज्यको विभेदकारी चरित्र विरुद्ध नेवार समुदाय उठ्न थालेको दाबी गरे। ‘इतिहास साक्षी छ, यहाँका रैथाने नेवारको सहभागिता बिना काठमाडौंको सत्ता र व्यवस्था कहिल्यै फेरिएन,’– श्रेष्ठले भने, ‘मधेस, लिम्बूवान, मगरात, खसान, खम्बूवान सबै उठिसके, अब अन्तिम युद्धका लागि नेवार समुदाय उठ्दैछ।’

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष समेत रहेका गठबन्धन नेता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारको कुर्सी भन्दा घरको बेडमा विश्राम चाहिएको सुझाव दिए । ‘एक घन्टा काम गर्दा चार घन्टा विश्राम गर्ने प्रधानमन्त्रीले कुर्सीको मोह त्यागेर घरमा विश्राम गर्न गए हुन्छ,’– श्रेष्ठले सुझाए।

थिमीको विरोध सभामा बोल्ने गठबन्धनका नेताहरुले २६ सुत्रीय माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने सडकबाटै चेतावनी दिए। राजधानी केन्द्रित दोस्रो चरणको आन्दोलन अन्तर्गत गठबन्धनले भोलि शनिबार काठमाडौंको बसन्तपुरमा कार्यक्रम गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell