PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कथादेशमा भयो ईश्वरको हत्या



स्वेच्छा राउत

कथादेशमा भयो ईश्वरको हत्या

काठमाडौं :  'कल्पनाको देशमा सबै पात्रहरु समान हुन्छन्। त्यसैले हामी सबैको लुगा उस्तै छ, हामी सबै उस्तै देखिन्छौं।'
 
यस्तै भन्दै मञ्चमा प्रवेश गर्छन्, 'कथा देश ३' का पात्रहरु। दर्शकले पालना गर्नुपर्ने नियम बताउँदै दुई वटा कथा सुनाउँछन् अनि अभिनयमार्फत देखाउन थाल्छन्।
 
शिल्पी थिएटरको गोठाले नाटकघरमा कथादेश ३ का पात्रहरुबाट सादत हसन मन्टोको 'हिउँभन्दा चिसो' र गुरुप्रसाद मैनालीको 'छिमेकी' कथा सुन्न र हेर्न पाउछौं।
 

कथा १ : हिउँभन्दा चिसो


एउटा पात्र छ ईश्वर। भारत-पाकिस्तान विभाजन हुँदाताकाको साम्प्रादायिक द्नद्वको मनोवैज्ञानिक असरले ऊ तनावग्रस्त देखिन्छ। आफू युद्ध लड्दाका घटना सम्झिएर ऊ विक्षिप्त बन्छ र पत्नीबाट टाढिँदै जान्छ। युद्धको असर कतिसम्म पर्छ भने ऊ पत्नीसँग सहवास गर्न सक्दैन। किनकि त्यस बेला उसले आफूले बलात्कार गर्न खोजेकी मृत युवती सम्झन पुग्छ। युद्धमा आफूले मारेको मान्छेहरुको लासको याद आउँछ। पटक-पटक आफ्नी पत्नीबाट हुत्तिएर टाढा पुग्छ।
 
पत्नीलाई उसको असाधारण व्यवहारले खिन्न बनाउँछ। कुनै महिलाकै कारण पतिमा परिवर्तन आएको त होइन? उनमा शंकाले जन्म पाउँछ। पतिले सो कुरा स्वीकार गर्दा सहन सक्दिन र तरबारले गर्दनमा प्रहार गरी हत्या गर्छे।
 
यो कथा भनिरहँदा कथा देशका सम्पूर्ण सदस्यहरु निकै सतर्क रहन्छन्। उनीहरु सबैले पालैपालो ईश्वर र उसकी पत्नीको कोठा अनि खाटमा देखिने दृश्य वर्णन गर्छन्।
 
कथामा जातीय र धार्मिक द्वन्द्वले मान्छेलाई कतिसम्म संवेदनाहीन बनाउँछ र त्यसको प्रभाव कतिसम्म रहन्छ भन्ने देखाइएको छ। यो नाटकले द्वन्द्वको असरले व्यक्तिलाई मात्र होइन परिवारसमेत छिन्नभिन्न बनाउँछ भन्ने देखाउँछ।
 
मान्छेको मनोविज्ञान नै कथादेश ३ का पात्रहरुले चित्रण गर्ने पहिलो कथाको केन्द्रबिन्दु हो।
 

कथा २ :  छिमेकी


पात्रहरुले मञ्चन गर्ने दोस्रो कथामा साधारण किसानहरुको जीवनशैली र छिमेकीको महत्वलाई प्रष्ट पार्छन्।

गुमाने र धनजिते कारेसा जोडिएका छिमेकी हुन्छन्। असारको समय छ, खेत रोप्ने बेला हुन्छ। चौतारामा गाउँलेहरु जम्मा भएर कुरा गरिरहेको बखत गुमानेको गोरु धनजितेको खेतमा पस्छ र बीउ खाइदिन्छ। धनजितेले गोरुलाई बेस्सरी पिट्छ। वर्षायाममा जोत्नुपर्ने गोरुलाई चुटेपछि गुमाने रिसाउँछ र दुवैबीच झगडा हुन्छ। गाउँको भँडुवा धर्मानन्द पाध्यले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्म पुग्छ। केही दिन दुईबीच बोलचाल नै बन्द हुन्छ।
 
केहि समयपछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ। चपेटामा धनजिते र उसको परिवार नै पर्छ। आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ। पहिलेको तितो बिर्सिएर धनजितेको सेवामा जुट्छ। सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ। विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ। दुवैमा मेल भएको दृश्यपछि कथा टुंगिन्छ।

समाजमा सानोतिनो झगडा भइरहन्छ तर गल्ती महसुस गरी एकापसमा मिल्नु नै उत्तम हो भन्ने सन्देश दिन्छ यो कथाले। यसमा पनि कथा देशका पात्रहरुले निकै उत्कृष्ट भूमिका निर्वाह गर्छन्।
 

कथादेशको प्रयोग

कथादेश 'एक्टर्स स्टुडियो'ले निर्माण गरेको एक काल्पनिक देश हो, जहाँ पात्रहरुले दर्शकलाई कथाको देशमा घुमाउँछन्।

कल्पनाशीलताले पनि मानसिक चेतनाको विकास गर्न सकिन्छ भन्ने सोच लिएर रंगमञ्चमा काम गर्दै आएको छ एक्टर्स स्टुडियोले। एक दशकदेखि सक्रिय स्टुडियोले नाटक लेखन, निर्देशन, मञ्चन लगायतका विविध विधामा अभिनय र रंगमञ्च कला सिकाउँदै आएको छ।
 
कथादेश ३ मा हिउँभन्दा चिसो र छिमेकी कथा सुनाउने पात्रहरु एक्टर्स स्टुडियोका १८ औं प्रशिक्षण सत्रका विद्यार्थीहरु हुन्।

'अभिनय साइकल सिकेजस्तो होइन, जो एकपल्ट सिक्यो भने जिन्दगीभरलाई हुन्छ,’ प्रशिक्षार्थी कलाकार सुशील शाह भन्छन्, ‘यो त बाचुन्जेल सिकिरहने चिज हो।'  अभिनयलाई उनी देखाउने होइन बाँच्ने कलाको रुपमा व्याख्या गर्छन्।
 
अर्की कलाकार इलिसा शिवाको अनुभवमा नाटक जटिल कला हो। ‘यसअघि लागेको थियो नाटक सजिलो हुन्छ तर होइन रहेछ। यसमा धेरै कुराहरुको समायोजन र कोसिस चाहिँदो रहेछ।तर नाटकले म आफैंलाई पनि चिनायो, यसमा खुसी छु।’
 
कथा देश ३ को निर्देशन आशान्त शर्माले गरेका हुन्। उनका लागि यो निर्देशन यात्रा सिक्ने सिकाउने दुवै अवसर बन्यो। भन्छन्, 'नयाँ विद्यार्थीहरुसँग काम गर्न मलाई त्यति सजिलो त भएन। बेफ्वाँकमै गुरु पल्टेर सिकाउन खोज्ने मलाई विद्यार्थीहरुले नै सिकाइदिए।'

जेठ १२ गतेबाट सुरु भएको नाटक शिल्पीको गोठाले नाटकघरमा जेठ २९ सम्म चल्नेछ।
(फोटो : निरज सापकोटा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell