PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मनिषाको शंकास्पद मृत्युबारे संसदमा बहस, कारण पत्ता लगाउन माग



पहिलोपोस्ट

काठमाडौं : आजको व्यवस्थापिक संसद बैठकमा बोल्ने अधिकांश सांसदले मनिषा घर्ती मगरको शंकास्पद मृत्युबारे आवाज उठाएका छन्।

नवलपरासीको बर्दघाट नगरपालिका-८ स्थित घरमै बुधबार मृत अवस्थामा फेला परेकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या गरिएको बताए पनि थप अनुसन्धान भइरहेकाले पुष्टि हुन सकेको छैन।

संसदमा बोल्दै विक्रम खनालले घटनामा मनिषाको प्रेमीमात्र नभई आपराधिक गिरोहकै संलग्नता हुन सक्ने भन्दै चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरे। आफू बर्दघाटकै स्थानीय भएको भन्दै उनले अनुसन्धानमा ढिलाइ गर्न नहुने बताए।

अर्की सांसद दिलशोभा पुनले पनि मनिषाको शवको प्रकृति हेर्दा झनै शंका गर्ने ठाउँ रहेको बताइन्। ‘उनको कान लत्रिएको र घाँटीको छाला पिल्सिएको हेर्दा यो घटना अझ रहस्यमय जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसखाले अपराधमा संलग्नहरु कुनै हालतमा फुत्किनु हुँदैन।’

दुलारी हरिजन र कृष्णप्रसाद पाण्डेले पनि मनिषा घटनाबारे कारण पत्ता लगाउन माग गरेका छन्।

हिजो साँझ अपहरणमा परेका वीरगन्जका उद्योगी सुरेश केडियाबारे पनि आजको संसदमा कुरा उठेको छ। केडियाको अपहरणबारे बोल्ने सांसदहरुले शान्ति सुरक्षामा सरकार असफल बन्दै गएको भन्दै असन्तुष्टि पोखेका थिए। सांसद राजेन्द्रबहादुर अमात्यले केडियाका भाइलाई पनि अपहरण प्रयास भइरहेको जानकारी गराए।

बाराको बरियारपुर बजारमा रहेको राइस मिलबाट वीरगन्ज फर्किने क्रममा चालकलाई गोली हान्दै गाडीबाट निकाली केडियालाई अपहरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell