PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

खडेरीले दुई अर्बको क्षति, सुदूरपश्चिममा निम्तियो खाद्य स‌ङ्कट



रासस

खडेरीले दुई अर्बको क्षति, सुदूरपश्चिममा निम्तियो खाद्य स‌ङ्कट

बैतडी : लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य संकटको संकेत देखापरेको छ।
 
धेरैजसो क्षेत्रमा किसानले हिउँदेबाली लगाउन पाएका छैनन् भने लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भएका छन्।
 
प्रभावित गाविसका १ लाख ३० हजार २०३ घरधुरी अत्यन्तै प्रभावित छन्। ती परिवारको ५० हजार ७४ हेक्टर जमिनमा हिउँदेबालीको उत्पादन न्युन तथा रु १ अर्ब ४६ करोड बराबरको क्षति भएको क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए।
 
हिउँदेबाली अन्तर्गत गहुँ, मसुरो, तोरी लगायतका बालीमा क्षति भएको हो। यो वर्ष गहुँको उत्पादन सुदूरपश्चिमका पहाडी जिल्लामा निकै कम भएको कार्यालयले जनाएको छ। गत वर्ष ३ लाख १५ हजार ९८६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष २ लाख ७१ हजार २१ मेट्रिक टनमात्रै गहुँ उत्पादन भएको अधिकृत विष्टले बताए।
 
उनका अनुसार पहाडी क्षेत्रमा २४ देखि ५७ प्रतिशतले गहुँको उत्पादनमा कमी आएको छ। हिउँदे बालीको उत्पादन कम भएसँगै पहाडी क्षेत्रमा यस वर्ष खाद्यान्न अभाव हुने उनी बताउँछन्। लामो खडेरीका कारण हिउँदे बालीमा नोक्सानी हुँदा सुदूरपश्चिमका १ लाख ३० हजारभन्दा बढी परिवार अर्थात् २८ प्रतिशत प्रभावित भएका क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। ३ लाख ७ हजार १६५ हेक्टरमा खेती गरिएकोमा ५० हजार ७४ हेक्टरमा लगाइएको बालीमा नोक्सानी पुगेको बताइएको छ।
 
निर्देशनालयका वरिष्ठ योजना अधिकृत पशुपति पोखरेलका अनुसार सुदूरपश्चिममा १ अर्ब ४६ करोड बराबरको खाद्यबालीमा क्षति पुगेको छ। सबैभन्दा बढी बैतडीमा १३ हजार २४१ हेक्टरमा लगाएको गहुँ तथा मुसुरोमा क्षति पुगेको छ। यस्तै डडेल्धुरमा ७ हजार ४६० हेक्टरमा लगाइएको हिउँदेबालीमा क्षति पुगेको छ। पर्याप्त पानी नपर्दा कृषि उत्पादनमा कमी आएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य संकट भएको हो।
 
सुदूरपश्चिमको पहाडी ७ जिल्लामा ५४ प्रतिशतसम्म बालीमा नोक्सानी भएको छ। कैलाली र कञ्चनपुरबाहेक ती जिल्ला कृषिमा आत्मनिर्भर छैनन्। यसपटकको लामो खडेरीले रु २ अर्ब बराबरको क्षति भएकाले पहाडी जिल्लामा चरम खाद्य संकट निम्तिएको बताइएको छ।
(फोटो : wfp.org)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell