PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सिं‌हदरबारको फोटो खिच्दा चार दिन थुनामा परेका पत्रकार सोध्छन्- मैले के गल्ती गरेँ?



उमेश श्रेष्ठ

सिं‌हदरबारको फोटो खिच्दा चार दिन थुनामा परेका पत्रकार सोध्छन्- मैले के गल्ती गरेँ?


खाँदै नखाएको विष लाग्छ?

पत्रकार शेषनारायण झालाई अहिले यही प्रश्नले पोलिरहेको छ। चार दिन प्रहरी हिरासतमा रहेर हिजो साँझ छुटेका उनी सोध्छन्- 'मैले के गल्ती गरेँ, देखाइदेऊ। गल्ती छ भने सजाय भोग्न तयार छु।'

प्रहरीले उनलाई 'राज्यको वास्तविक चरित्र देखाउन' सिंहदरबारको भित्तामा रक्तिम रंग छर्कने इशानको अभियानमा संलग्न रहेको आरोप लगायो। मिडियामा अनुसन्धानमा संलग्न प्रहरीलाई उद्धृत गर्दै समाचार आयो- 'झा लगातार दुई दिन सिंहदरबारमा इशानसित देखिए। उनले पहिला पत्रकार हुँ पनि भनेनन्।'

तर झा चुनौति दिन्छन्, 'उहाँ यदि इमान्दार, सच्चा राष्ट्रसेवक हो भने मिडियासित फेस गरी मलाई प्रमाण देखाउन सक्नुपर्छ। घटना भएको ठाउँ निषेधित क्षेत्र हो, त्यहाँ सिसिटिभी हुन्छ। त्यो दिन बाहेक अरु दिन म इशानसित त्यता वरपर भएको कुनै एउटा प्रमाण देखाउनुस्।'

'मेरो कल डिटेल निकाल्नुस्, एसएमएस हेर्नुस्, इमेल, फेसबुक मेसेज स्क्यान गर्नुस्, मेरो र इसानसँगको सम्बन्धको एउटा कुनै प्रमाण पेश गर्नुस्। तर उहाँ मेरो सामु पर्नु नै भएको छैन,' उनले भने। 

नभन्दै प्रहरीले उनको संलग्नताको कुनै प्रमाण पेश गर्न सकेन। इशान आफैले पनि झा संलग्न नभएको बयान दिएपछि प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले उनलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिए।

के भएको थियो त्यो दिन ?

सोमबार राति त्यस्तै ८ सवा ८ बजेको थियो। अक्सर यही समयमा उनी उत्तरढोकामा रहेको आफ्नो नानो हाना गार्डेन रेस्टुरेन्ट बन्द गरेर घर फर्कने गर्छन्। 

त्यो दिन पनि उनी प्रेस लेखिएको आफ्नो बाइक चढेर घर जाँदै गर्दा सिंहदरबारअगाडि बाटैबाट सेतो लुगा लगाएको मान्छेको पछाडि पुलिस दौडिरहेको देखे। 

अघिल्लो दिन इसानले सिंहदरबारमा रातो रङ्ग छ्यापेको फोटो फेसबुकमा भाइरल भइसकेको थियो। फेरि त्यही घटना दोहोरियो जस्तो लाग्यो उनलाई। 

अहो, कतै हातपात पो गर्छ कि, चासो लाग्यो उनलाई। छेवैमा बाइक रोके र मोबाइल निकालेर फेसबुकमा 'इसानद्वारा पुनरावृत्ति' लेखेर फोटो खिच्नमात्र के लागेका थिए, एक जना ट्राफिक दौडदै उनी सामु आएर सोधे- के गर्दैछस्?

'प्रेसको काम के हुन्छ? हेर्नुस् न म अपडेट गर्दैछु' भने। 

उसले सोध्यो- 'कुन पत्रिकाबाट?'

उनले भने, 'म समयबोधबाट, पूर्व रासस प्रतिनिधि हुँ।'

सोधियो,  'नाम के हो?'

'शेषनारायण झा'

'नाम सुन्ने बित्तिकै कुन्नि के भयो', उनी सम्झन्छन्, 'एक्कासी ऊ आक्रामक भयो। मोबाइल खोसे। तँ पनि संलग्न छस् भन्दै मलाई सिंहदरबार गेटभित्र लगिहाल्यो।' 

'मलाई त्यहाँ लगिँदा दुई जना अरुलाई चारैतिरबाट हतियारसहितका प्रहरीले घेरिरहेका थिए। एक जना रङ्ग छ्याप्ने इसान थिए र अर्का एक जना भाइ पनि थिए। मैले म इसानलाई चिन्दै चिन्दिनँ, घटनामा संलग्न छैन भनेँ। पत्रकार हुँ भनेर कार्ड देखाएँ।'

'एकछिनपछि भ्यान आयो र त्यसैमा राखेर चौकीमा लगे। त्यहाँ त्यो भाइलाई भित्र बोलाएर छाडिदियो तर मलाई भने तपाईँलाई छाड्न मिल्दैन, आज राति बस्नुपर्छ भनियो।' 

उनलाई एउटा थुनुवा विवरण भर्न लगाइयो। के लेखेको छ पनि पढ्न दिइएन। मोबाइल, प्रेस कार्ड सब नियन्त्रणमा लिए। 

भोलिपल्ट मंगलबार उनी र इसान दुवैलाई हत्कडी लगाएर अदालत लगियो र म्याद थपियो। सार्वजनिक अपराधको मुद्दामा चार दिन थुनामा राखी अनुसन्धान गर्न मिल्ने प्रावधान अनुसार बिहीबार सिडिओसामु उपस्थित गराइयो र साँझ बल्ल उनीहरु रिहा भए। 

मानसिक तनाव

यता उनी छुट्ने तर्खरमा थिए, उता सिंहदरबारको भित्तामा फेरि अरु चार युवकले रङ्ग छ्यापे। 

'यता हामी छुट्नलाई सामान मिलाउँदै थियौँ, उता फेरि कुन (**गालीको शब्द) ले फेरि रङ्ग्याएछन्। मलाई त कस्तो भयो भनेदेखिन्...हेर्नुस् कस्टडीमा बस्नु भनेको मानसिक तनाव हुन्छ। हामी काम गरेर खानु पर्ने मान्छे, डेली एक्टिभिटी ठप्प भयो। यति तनाव भयो चार दिन।'

त्यसबाहेक उनलाई मन दुखेको छ- आफूलाई बिना आधार, बिना गल्ती थुन्दा पनि कसैले आवाज नउठाएको देख्दा। पुलिसको भनाईलाई नै पत्रकारहरुले ब्रह्मसत्य मानेको देख्दा। 'पत्रकार साथीहरुलाई म के भन्न चाहन्छु भने कमसेकम मसँग पनि कुरा गरेर भेरिफाइ त गर्नुस्, कुरा के हो', उनी भन्छन्। 

'इसानको अभियान सही गलत जे भए पनि रङ्ग छ्याप्ने अभियानमा म संलग्न छैन। म पत्रकार हो भनेर कार्ड देखाउँदा देखाउँदै पनि गर्दै नगरेको काममा मुछियो।' थुनामा रहेको बेला नियन्त्रणमा लिइएको कार्ड प्रहरीले गायब बनाइदिएको  उनको आरोप छ। हिजो सिडिओलाई प्रमाण देखाउन नसकेका उनले आज फेसबुकबाट  आइडी सार्वजनिक गरेका छन्। 

मलाई नेता बन्नु छैन

'हेर्नुस् मलाई नेता बन्नु छैन, मैले कसैको झण्डा बोकेर पनि हिँडेको छैन। विखण्डनकारी सिके राउत भन्दा इसान जस्ता व्यक्ति जन्मिएको ठीक हो भन्ने मान्छु,' उनी भन्छन्, 'तर हुँदै नभएको कुरामा जबर्जस्ती मुछेर मेरो २५ वर्षको प्रतिष्ठामा मानमर्दन गर्न खोजियो।'

२०४८ सालमा सत्य सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गरेका झाको पुर्ख्यौली घर गौर हो। उनका पिता ऋषिकान्त झा पहिले राजदबारमा फोटोग्राफर थिए। पछि उनी गौर जिल्ला कार्यालयमा सरुवा भए र त्यहीँ रिटायर्ड भए। 

२०६१ सालमा निधन भएका पिताको नामबाट ऋषि र आफ्नो नाम शेषनारायणको शेष जोडेर उनी साहित्यमा 'ऋषि शेष' उपनामबाट चिनिन्छन्। 

झा पत्रकारितासँगै माध्यमिक विद्यालयमा पढाउँथे पनि। तर द्वन्द्वकालमा शिक्षकहरु धमाधम अपहरणमा पर्न थालेपछि उनले देश छाड्न उचित देखे। 

सन् २००२ देखि करिब १० वर्ष उनी युएईमा वैदेशिक रोजगारीका लागि गए। नेपाल पत्रकार महासंघको युएई शाखाका संस्थापक मध्येका एक थिए उनी। युएईमा हुँदा नै उनी सरकारी समाचार एजेन्सी राससका संवाददाता बने। दुबईमा हुँदा पनि उनी साहित्यिक गतिविधिमा संलग्न थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell