PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिलियर्स र कोहलीको जोडी : जिताउलान् त बैंगलोरलाई आइपिएल?



पहिलोपोस्ट

भिलियर्स र कोहलीको जोडी : जिताउलान् त बैंगलोरलाई आइपिएल?

इण्डियन प्रिमियर लिग आइपिएल सुरु भएको ९ वर्ष बितिसकेको छ। तर रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् २००९ र सन् २०११ मा फाइनलमा पुगे पनि दुवैपटक बैंगलोर पराजित हुन पुग्यो। गत वर्ष सन् २०१५ मा पनि बैंगलोर क्वालिफायर राउण्डसम्म पुगे पनि अगाडि बढ्न सकेन।

यसपटकको आइपिएलमा पनि बैंगलोर फाइनल प्रवेश गरिसकेको छ र उ उपाधी हात पार्न बाट मात्र एक कदम पछाडि छ। आउँदो आइतबार घरेलु मैदानमै उपाधी चुम्ने मौका बैंगलोर र यसको कप्तान बिराट कोहलीलाई छ।

आइपिएल २०१६ को पहिलो चरणको सात खेल मध्ये रोयल च्यालेन्जर्स बैंगलोरले ५ खेल गुमायो। तर दोश्रो चरणको सात खेल मध्ये बैंगलोरले ६ खेल जित्दै उत्कृष्ट पुनरागमन गर्‍यो। पहिलो चरणमा लिगको अन्त्यतिर रहेको बैंगलोर दोश्रो चरणपछि अंक तालिकाको दोश्रो स्थानमा उक्लियो। र यतिबेला बैंगलोर गुजरात लायन्सलाई पराजित गर्दै फाइनलमा पुगेको छ।

मंगलबार गुजरात लायन्स विरुद्धको खेलमा एक सयम यस्तो थियो २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो बैंगलोरले । तर एबिडी भिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दै बैंगलोरलाई एक्लै फाइनलसम्म डोर्‍याए। उनले ४७ बलमा ७९ रन प्रहार गरे। जबकि सोही खेलमा बैंगलोरका कप्तान समेत रहेका विराट कोहली सून्य रनमा आउट भइसकेका थिए।

बैंगलोरलाई फाइलनसम्मको यात्रा तय गराउन यसपटक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् विराट कोहली र एबिडी भिलियर्सले।
१५ खेल खेलेका विराटले अहिलेसम्ममा ९ सय १९ रन प्रहार गरिसकेका छन्। यो प्रतियोगिताकै सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् विराट। त्यस्तै एबिडी भिलियर्सले पनि ६ सय ८२ रन प्रहार गरिसकेका छन्।


बिराट कोहली र एबिडी भिलियर्सको जोडीले यसपटको आइपिएलमा रेकर्ड कायम गरिसकेको छ। गुजरात लायन्स विरुद्धको एउटै खेलमा दुवैले शतक प्रहार गरेका छन्। २ सय ४८ रनको उच्च स्कोर खडा गर्ने क्रममा कोहलीले १ सय ९ रन र भिलियर्सले १ सय २९ रन बनाएका थिए। त्यसो त यो सिजन खासै प्रदर्शन गर्न नसकेपनि क्रिस गेलले किङ्स इलाभेन पञ्जाब विरुद्ध ७३ रन प्रहार गरिसकेका छन्। त्यो पनि बर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा। अलराउण्डर सेन वाट्सन ब्याटिङबाट कमाल गर्न नसकेपनि बैंगलोरको बलिङ सम्हालिरहेका छन्। उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा दोश्रो स्थानमा छन्।
 

भिलियर्स र कोहलीको तुलना

विश्व क्रिकेटमा लामो समयसम्म भारतीय खेलाडी सचिन तेन्दुलकर र अष्ट्रेलियाका रिक्की पोन्टिङको तुलना भयो। तर अन्त्यमा सबैभन्दा धेरै वान डे रन टेस्ट रन बनाएका तेन्दुलकर उत्कष्ट सावित भए। केही समय दुवैले आइपिएलमा मुम्बइ इण्डियन्सका लागि समेत खेल। अहिले दुवै मेन्टरको भूमिकामा छन्।

त्यस्तै कोहली र भिलियर्स अहिले एउटै टिमबाट खेलिरहेका छन् तर उनीहरुबीच कडा प्रतिष्पर्धा पनि छ।

तर दुवै एक अर्काको तारिफ गर्नबाट चुक्दैनन्। आफू सून्य रनमा आउट हुँदा भिलियर्सले बैंगलोरलाई फाइनल पुर्‍याएपछि कोहलीले भने – 'अहिलेको अवस्थामा सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान भिलियर्स नै हुन्। ठूलो खेलमा ठूलो खेलाडी खडा हुन्छ। म उनको नमन गर्न चाहान्छु। अत्यन्न प्रेसरका बीच खेलिएको यो खेल मैले देखेको मध्येकै उत्कृष्ट हो।'

भिलियर्स भन्दा ४ वर्ष ८ महिना कान्छा कोहली टेस्ट, वान डे र ट्वान्टी ट्वान्टीमा अहिले उनैलाइ पछ्याइरहेका छन्।

भिलियर्सको नाममा अझै विश्व रेकर्ड रहेको छ उनले वेष्ट इण्डिज विरुद्ध मात्र ३१ बलमा सन् २०१५ मा शतक प्रहार गरे। तर यो रेकर्ड वान डे क्रिकेटको हो। त्यस्तै विराट कोहलीको नाममा सबैभन्दा छिटो ७ हजार रन बनाएको रेकर्ड छ। कोहलीले १ सय ६१ पारीमा ७ हजार रन बनाउँदा भिलियर्सका लागि ७ हजार रन पुर्‍याउन १ सय ६६ म्याच कुर्नु परेको थियो।

एबिडी भिलियर्स क्रिकेट सँग बेसबल, हक्की, गल्फका समेत खेलाडी हुन्। उनले विभिन्न उमेर समूहमा दक्षिण अफ्रिकाको अन्य खेलबाट समेत सहभागिता जनाएका छन्। ३ सय ६० डिग्रीमा रन हान्न सक्ने खलाडी हुन् भिलियर्स। तर उनको कमजोरी हो लगातार फर्ममा रहन नसक्नु। जबकि विराट कोहली लगातार फर्ममा रहेर प्रदर्शन गर्न सक्ने खेलाडी हुन्।

क्रिकेटका वेबसाइटमा कोहली र भिलियर्सको तुलना धेरै भएको पाइन्छ। विराट कोहली छिटो उत्तेजनामा आउने खेलाडीमा पर्छन् भने भिलियर्स कुल रहन्छन् र प्रेसर ह्याण्डल गर्न सक्छन्।
यस्ता वेबसाइटहरुले क्रिकेटमा दुवै खेलाडीले प्रहार गरेको छ्क्काको दुरी समेत मापन गरेका छन्। जसमा भिलियर्स गुड हिटरमा परेका छन्। दुवै खेलाडीको फिल्डिङ उत्कृष्ट रहेको छ।

यी दुवै खेलाडी यसपटक रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपिएलको उपाधि दिलाउन लागेका छन्। र उनीहरुको परीक्षा छ आउँदो आइतबार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell