PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनले बनायो ट्राफिक जाममा नफस्‍ने बसको डिजाइन, एउटैमा अटाउँछन् १४०० यात्रु



पहिलोपोस्ट

चीनले बनायो ट्राफिक जाममा नफस्‍ने बसको डिजाइन, एउटैमा अटाउँछन् १४०० यात्रु

यात्रा गर्दा सबैभन्दा धेरै तनाव हुने विषय हो ट्राफिक जाम। महत्वपूर्ण समयलाई यसैले किल गरिरहेको हुन्छ। चीनको राजधानी बेइजिङमा आयोजित १९ औं इन्टरनेसनल हाइ-टेक एक्पोमा यस्तो बसको डिजाइन सार्वजनिक भयो कि त्यसले ट्राफिक जाम नै बेहोर्न पर्दैन।

बिद्युतीय यो बसलाई ओभरल्याप बस पनि भनिएको छ। वाइड आकारको यो बसमा एकैपटक १४ सय प्यासेन्जर यात्रा गर्न सक्छन् भने सडकमा यो बस गुडिरहँदा बसको मुनिबाट ७ फिट अग्ला साना गाडीहरु पनि वारपार भइरहन सक्छन्। बस चलोस या रोकियोस् यो बसले कसैलाई अवरोध गर्दैन। बसको मुनिको भागबाटै साना गाडीहरु पास हुन सक्छन्।

असाध्यै धेरै ट्राफिक जाम बेहोर्ने विश्वकै धेरै जनसंख्या भएको मुलुक चीनले तयार पारेको यो मोडल व्यवहारमा आउने हो भने यसले मेट्रो वा ट्राम सेवालाई नै विस्थापित गर्नसक्ने देखिन्छ। यो गाडी ६४ किलोमिटर प्रतिघन्टाको रफ्तारमा चल्न सक्छ। हतारमा रहेका अरु गाडीहरु यो गाडीभित्रबाटै तिब्र गतिमा अघि बढ्न सक्छन्। अनि साना गाडीहरु रोकिएको व्यस्त ठाउँबाट यो गाडी विना कुनै अवरोध अगाडि बढ्न सक्छ।
  

यो बस वातावरणमैत्री पनि  छ। अहिले चलिरहेका ४० वटा ठूला बसलाई यो डिजाइनको एउटै बसले विस्थापित गर्छ। सँगै यो विद्युतबाट चल्ने भएकाले कार्बन उत्सर्जन शून्य हुन्छ। ‘यसले एक वर्षमा ८ सय टन इन्धन खपत घटाउँछ भने २ हजार ५ सय टन कार्बन उत्पादन कम गराउँछ,’ यसका चिफ इन्जिनियर सङ युझुले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई भने।
  
सङको डिजाइन नयाँ भने होइन न त यो नयाँ कन्सेप्ट नै हो। सन् २०१० मा सङमाथि मिडियाको ध्यानाकर्षण भयो जतिखेर उनले यस्तो बसबारे जानकारी दिए। ट्र्याकहरु नै नबनिरहँदा उनको कुरालाई धेरैले विश्वास गरेनन्।


ओभरल्यापिङ बसको पहिलो प्रस्ताव भने सन् १९६९ मा दुई अमेरिकी आर्किटेक्ट लेस्टर वाकर र क्रेग होडगेट्सले गरेका थिए। तर, यो कन्सेप्ट भने महत्वकांक्षी थियो। उनीहरुले न्युयोर्क सिटीलाई आधुनिकीकरण गर्ने योजनामा यस्तो प्रस्ताव गर्दा अहिलेजस्तो कम्प्युटर नियन्त्रित यातायात, समान गति र पाङ्ग्राबिहीन घर्षणरहित एअर कुसन बियरिङ थिएन।

चेङ्हाउमा यसको निर्माण थालिएको छ र अगस्ट महिनामा परीक्षण गर्ने तयारी छ। यदि यो महत्वकांक्षी योजना सफल भयो भने यसले कार्बन उत्सर्जन घटाउँछ भने यातायातको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याउँछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell