PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सफलताको कथा : आनन्दकुटी विद्यापीठदेखि चीनको भिजिटर प्रोफेसरसम्म



रमेश वाग्ले

सफलताको कथा : आनन्दकुटी विद्यापीठदेखि चीनको भिजिटर प्रोफेसरसम्म

काठमाडौं : आफ्ना छोराछोरीलाई डाक्टर पढाउनका लागि अभिभावकले कतिसम्म ‘पापड’ बेल्ने गरेका छन्, त्यो धेरैलाई थाहा छ। किनकि चिकित्सक पेसा नेपालको सम्मानित र प्रतिष्ठा कमाएको पेसाभित्रै पर्छ।
 
अझ यस्ता अभिभावक पनि हामीकहाँ छन्, जो घरखेत बेचेरै रित्तै हुनु किन नपरोस्- छोराछोरीलाई डाक्टर नै पढाउँछन्। कम धान्न सक्नेले देशकै चलेका शिक्षण अस्पतालमा पढाउलान्, अलि उच्च वर्गका अभिभावकको गन्तव्य त विदेश नै हो।
 
यसरी छोराछोरीलाई डाक्टर पठाउने मोहमा लागेका अविभावकमध्ये धेरैले परिणाम हेरेर त्यस बेला टाउको समाउँछन्- जति बेला ती सन्तानले एमबिबिएस सकेर फर्कंदा पनि बिरामीको प्रेसर चेक गर्न सक्दैनन्। बिरामी हेरेर औषधि प्रेस्क्राइब गर्न सक्दैनन् अनि इन्जेक्सन दिन र सामान्य सलाइन चढाउन पनि जान्दैनन्।
 
नेपाली मेडिकल काउन्सिलको परीक्षामा फेल भएर ‘डाक्टर हुँ’ भन्ने पहिचानसमेत प्राप्त गर्न नसक्दा त धेरै अभिभावक सन्तानकै कारण डिप्रेसनमा जाने गर्छन्। उनीहरु त्यस बेला दोष दिन्छन् कलेजलाई अनि सम्बन्धित देशलाई।
 
तर विदेशमै गएर अध्ययनपछि असीमित सफलता हासिल गर्ने केही नेपालीभित्र पर्छन्, डा. राजीवकुमार झा। जसले चीनमा पढे र ठूलो सफलता हासिल गरे।
 
मेडिकल साइन्स पढेर नै प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्नेदेखि आफ्नै नाममा रिसर्च सेन्टर स्थापनासम्मका अकल्पनीय सफलता प्राप्त गर्दै उनी यति बेला प्रतिष्ठित जीवन बिताइरहेका छन्।
 

अवार्ड र सफलता


चीनको युवा वैज्ञानिकलाई प्रदान गरिने प्रतिष्ठित पुरस्कार योङ साइन्टिस्ट इन्टरनेशनल अवार्ड दुई पटकसम्म जितिसकेका छन् राजीवले। चीनकै प्रतिष्ठित पुरस्कार १०० हाइ इन्ड एक्सपोर्ट अवार्ड २०१३ पनि उनको हातले उचालिसकेको छ। युवा तथा खेलकुद मन्त्रालयबाट विज्ञान अनुसन्धान विधाअन्तर्गत विभिन्न विधाका युवालाई दिइने युथ ट्यालेन्ट अवार्ड डा राजीवकै नाममा छ।
 
सन् १९९५ मा स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठबाट एसएलसी गरेका राजीवले काठमाडौं विश्वविद्यालयबाट सन् १९९७ मा आइएस्सी सके। १९९८ मा चीनको सिआन ज्याउथोङ युनिभर्सिटीमा एमबिबिएस भर्ना भएका उनले २००६ मा एमडी गरिसकेका थिए। त्यतिमा मात्र उनी रोकिएनन् । २०१३ मा त उनले डक्टोरेट डिग्री इन सर्जरी 'पिएचडी' (विद्यावारिधि) नै हासिल गरे।
 
डा. राजीव अहिले सिआन मेडिकल युनिभर्सिटीका प्रोफेसर हुन्। त्यसबाहेक उनले चीनको नर्थ वेस्ट युनिभर्सिटीमा पनि भिजिटर प्रोफेसरको जिम्मेवारी पाएका छन्।
 
मननयोग्य कुरा त के छ भने सिआन ज्याउथोङमा उनकै नाममा रिसर्च सेन्टर समेत स्थापना भएको छ- 'चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव झा'। नेपालबाट रिसर्चका लागि छात्रवृत्तिमा त्यहाँ जाने नेपालीहरुका लागि मापदण्ड बनाउने, अन्तर्वार्ता लिने र छनोट गर्ने काम उनले नै गर्ने गर्छन्।
 

पहिलो सर्त भाषा

अहिले पनि उच्च शिक्षाका लागि चीन जाने विद्यार्थीहरु धेरै छन्। कतिले सफलता पाउँछन् त कोही रित्तो हात लिएर फर्कन्छन्। कुनै पनि देशमा अध्ययनका लागि जाँदा त्यो देशको भाषाबारे सामान्य ज्ञान त हुनैपर्छ। डा. राजीव पनि चीन पढ्न जाने विद्यार्थीलाई चाइनिज भाषा सिकेर मात्र जानका लागि सुझाव दिन्छन्। त्यहाँ पढेर प्राक्टिकल गर्न र त्यहीँ पाइने जागिरको अवसरका लागि पनि भाषा नै मूल माध्यम हुने उनी बताउँछन्।
 
चीनको प्रगतिबाट नेपालले धेरै फाइदा लिन सक्ने 'चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव झा'का प्रमुख समेत भइसकेका उनको भनाइ छ। ‘यसका लागि सांस्कृतिक आदान-प्रदान निकै जरुरी छ,’ उनी भन्छन्, ‘तर यसका लागि नेपालीहरुले चिनियाँ भाषालाई महत्वका साथ अध्ययन गर्दा नै फाइदा पुग्नेछ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell