PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​इन्टरनेटमा तोडियो भारतको एकाधिकार, केरुङ हुँदै चीनसँग जोडियो अप्टिकल फाइबर



​इन्टरनेटमा तोडियो भारतको एकाधिकार, केरुङ हुँदै चीनसँग जोडियो अप्टिकल फाइबर

  • उमेश पौडेल/पहिलोपोस्ट -
काठमाडौं : नेपालको दुरसञ्चार सेवालाई भारतको एकल निर्भरताबाट मुक्त गर्ने गरी नेपाल र चीनबीच अप्टिकल फाइबर जडान सम्पन्न भएको छ। नेपाल टेलिकमले विद्युत प्राधिकरणको सहयोगमा धादिङको गल्छि भएर रसुवाको धुन्चे हुँदै नेपाल चीन बोर्डर केरुङसम्म अप्टिकल फाइबर जडान गर्ने काम गत हप्ता सकेको हो।

यो सँगै अब नेपाल टेलिकम र चीनको चाइना टेलिकमसँग अन्तरदेशीय प्रसारण लाइन विस्तार गर्नका लागि बाटो खुलेको छ भने चीनबाट नेपाल हुँदै दक्षिण एसियासँग छोटो दुरीमा अप्टिकल फाइबरमार्फत् तीब्र गतिको इन्टरनेटसंग जोडिनका लागि सजिलो भएको छ।

के छ फरक ?

फाइबर जडान भएसँगै नेपालले इन्टरनेट कनेक्टिभिटीमा भारतसँगमात्र भइरहेको परनिर्भरता हट्नेछ। हाल नेपाल भारतीय सहर चेन्नाई हुँदै समुद्रीमार्गबाट हङकङमा भएको एसियाको सबैभन्दा ठूलो डेटा सर्भरसँग जोडिएर विश्वसँगको इन्टरनेट सम्पर्कमा रहेको छ।

चीन हुँदै जाँदा पनि जोडिने चाहिँ हंङकङको सर्भरमा नै हो तर दुरीका हिसाबले चीनको बाटो छोटो पर्छ भने राउन्ड ट्रिप डिले (आरटिडी) कम हुन्छ र नेपालमा इन्टरनेट चाँडो चल्छ। यसले इन्टरनेट तीब्र गतिमा चल्न पनि सहयोग पुग्छ। 

अहिले सामान्यतया नेपालमा कुनै पनि कुरा सर्च गर्दा लाग्ने समयको अवधि कम हुन्छ। जस्तो कि तपाइँले गुगल वा कुनै पनि साइट खोल्नुभयो भने सामान्यतया आधा सेकेन्डको हाराहारीमा खुल्दछ भने अब त्योभन्दा पनि चाँडो हुनेछ। 

नेपालले चीनसँग अप्टिकल जोडिसकेपछि हङकङ पुग्नका लागि चीनको बाटो छोटो पर्नेछ भने हाल चलिरहेको इन्टरनेट स्पीड पनि धेरै मात्रामा बढ्नेछ। डेटा ट्रान्सफर्मका लागि क्वालिटी लिटेन्सी घट्ने र क्वालिटीको प्यारामिटर पनि बढ्ने टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले बताए।

हाल परीक्षणकालमा रहेको र एक महिनासम्म यसलाई उच्च प्रविधिमा राखेर परीक्षण गरिने उनले बताए। केबलको क्यापासिटी  टेस्ट, फाइबर टेस्ट, कन्टिन्युटी टेस्ट, इक्युप्मेन्ट टेस्ट र सर्भिस लेभल टेस्ट गरेपछि असारबाट व्यवसायिक रुममा लैजाने तयारी रहेको अधिकारीले बताए।
'चीनसँगको अन्तरदेशीय फाइबर जडान सकिएको र सेवा परीक्षण सुरू भइसकेको छ' अधिकारीले भने 'मे महिना भित्रमा चीन-नेपाल, चीन-नेपाल-भारत र चीन-भारतबीच सीधा इन्टरनेट ट्राफिक आदान प्रदान परीक्षण सम्पन्न गरेर जुन महिनाभित्र औपचारिक रुपमा सञ्चालन गर्ने योजना छ।'

के फाइदा हुन्छ नेपाललाई?

वर्षौदेखि एउटै देशसँगमात्र भएको कनेक्टिभिटी अन्त्य हुन्छ। नेपालको इन्टरनेट अहिलेको भन्दा चाँडो चल्छ।

नेपालमा चल्ने इन्टरनेट मिडियामा नोइज कम हुन्छ र फ्लो स्पीड बढ्ने हुनाले इन्टरनेटमा डेटा स्पीड बढ्छ जसका कारणले इन्टरनेटको मूल्यमा पनि कमि आउँछ। 

नेपाल टेलिकमले भारत र समुन्द्र प्रयोग गरेबापत तिरिरहेको धेरै रकम बचत हुनेछ।

नेपाल इमर्जिङ इन्टरनेट हब बन्दै

चीनसँगको अप्टिकल फाइबरमा जोडिएपछि नेपाल दक्षिण एसियाको इमर्जिङ हब बन्नेछ। यसबाट समग्र दक्षिण एसियाले नै फाइदा लिन सक्नेछन्। भारत, माल्दिभ्स्, भुटान र श्रीलङ्कालाई ती देशहरुको कुनै कारणबस् समुन्द्रमा विछ्याइएको अप्टिकल फाइबर  टुट्यो भने नेपालतर्फको जडानले सहयोग पुग्नेछ।

त्यस्तो अवस्थामा नेपालकफ बाटो प्रयोग गरेवापत भारत र अरु देशका टेलिकम कम्पनीहरुले नेपाल टेलिकमलाई पैसा तिर्नुपर्नेछ। हाल नेपालले भारतीय बाटो प्रयोग गरेवापत भारतको एयरटेल कम्पनीलाई पैसा तिरिरहेको छ।

फोटो : ​apdnews.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell