PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लोडसेडिङ घटाउन महिलालाई हेयर ड्रायर नचलाउ भन्ने राष्ट्रपतिले गरे संकटकाल घोषणा



पहिलोपोस्ट

लोडसेडिङ घटाउन महिलालाई हेयर ड्रायर नचलाउ भन्ने राष्ट्रपतिले गरे संकटकाल घोषणा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मुलुकमा संकटकाल घोषणा गरेका छन्। अमेरिकी जासुसी संस्थाले कुनै पनि समय दक्षिण अमेरिकी मुलुक विघटन हुनसक्ने सार्वजनिक गरेको केही घन्टामै संकटकाल घोषणा भएको हो।

'मुलुकको स्थिरता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय आक्रमणबाट बचाउनका लागि' भन्दै राष्ट्रपति मुदुरोले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका हुन्।

भेनेजुएला चर्को महँगी, खुम्चिँदै गएको अर्थव्यवस्था, कहालीलाग्दो खाद्य असुरक्षा तथा लोडसेडिङबाट गुज्रिरहेको छ। स्थिति यतिसम्म कि राष्ट्रपतिले बिजुली खपत कम होस् भनेर महिलालाई कपालमा हेयर ड्रायरसमेत नचलाउन निर्देशन दिएका छन्।

गत डिसेम्बरमा भएको निर्वाचनमा विपक्षी दलले संसदमा सत्तारुढ दललाई ठूलो अन्तरले पराजित गरेको थियो। त्यसयता विपक्षीले पुनर्संरचनाको मुद्दा चर्काउँदै आएको छ।

राष्ट्रपतिको कार्यकाल सन् २०१९ को अन्त्यमा सकिने भए पनि मुदुरोले शक्ति हत्याउँदैछन् भन्ने जानकारी दुई अमेरिकी खुफिया अधिकारीले वासिङ्टनमा पत्रकारहरुलाई दिएका थिए।
  
पूर्व राष्ट्रपति ह्युगो चाभेजसँग कुनै समय नजिक रहेका ५३ वर्षीय मुदुरो लेफ्ट राजनीतिबाट उदाएका हुन्। 'बोलिभेरियन रेभुलेसन'का संस्थापक चाभेजको क्यान्सरले मृत्यु भएपछि उनी शक्तिमा छन्।
 
चाभेजका अनुयायीका रुपमा आए पनि पूर्ब बस चालक मदुरोमा मुलुकको रिफर्मका लागि त्यति लोकप्रिय हुन सकेका छैनन्।

मुदुरोले ६० दिनका लागि संकटकाल घोषणा गरेका हुन्। सरकारविरुद्ध आन्दोलन भएको साता नवित्दै उनले यस्तो निर्णय लिए।

उनीसामु सबैभन्दा ठूलो चुनौती हो अर्थतन्त्र। यस वर्ष त्यहाँको अर्थतन्त्र थप ८ प्रतिशत खुम्चिएको छ। महँगी तीन डिजिटमा उक्लिएको छ। यस वर्षमात्रै महँगी ७ सय प्रतिशत हुने प्रक्षेपण गरिएको छ। पैसा यति सस्तो हुँदैछ कि नयाँ नोट छापेर पनि भ्याउन सकिने स्थिति छैन।
  
आधारभूत आवश्यकताका वस्तुको पूरै अभाव छ। यस्ता समान किन्न घन्टौं लाइनमा बस्नु भेनेजुएलिनका लागि सामान्य दैनिकी बनेको छ। हुल्याहरुको विगविगी उत्तिकै छ। कुखुरा र पानीसमेत हुल्याहरुले लुट्दै लैजान थालेका छन्। जलविद्युतमा निर्भर मुलुकमा लोडसेडिङको चर्को मार छ। व्यवस्थापन खराब हुँदा समस्याहरु चुलिएको विश्लेषकहरु बताउँछन्।

स्थिति नियन्त्रणमा लिन सरकारले शुक्रबारसमेत स्कुल बन्द गराउन थालेको छ। सरकारी कर्मचारीलाई तीन दिन घरमै बस्न भनिएको छ।

यतिसम्म कि ऊर्जा संकट कम गर्न दैनिकी सुधार्न भनिएको छ - कपाल सुकाउन हेयर ड्रायर नचलाउन भनिएको छ। राष्ट्रपतिले टेलिभिजनबाटै सार्वजनिक रुपमा महिलाहरुलाई 'हेयर ड्रायरविनै कपाल सुकाउन सकिन्न त?' भनेर प्रश्न गरेका छन्।

यहाँको कारकास सहर विश्वकै सबैभन्दा हिंसात्मक सहरका रुपमा स्थापित भएको छ।

'हिउँ फुट्दै गरेको सुन्न सक्नुहुन्छ, छिटै त्यहाँ समस्या सुरु हुन्छ,' एक अमेरिकी अधिकारीले भने, 'हाम्रो दवावलेमात्र त्यहाँ समस्या समाधान हुने देखिन्न।'

सन् १९८९ मा झै दंगा फैलिएला भन्ने त्रास सबैमा छ।  त्यतिखेर तेलको मूल्यलाई लिएर भएको दंगामा ३ सयभन्दा धेरै मानिस एकै पटक मारिएका थिए।

अमेरिकी हस्तक्षेपले यहाँ थप संकट पैदा गर्न सक्ने देखिन्छ। इतिहासदेखि नै वासिङ्टनले खुला र कोभर्ट (गुप्त)रुपमा ल्याटिन अमेरिकी मुलुकहरु चिलीदेखि निकारागुवासम्मै हस्तक्षेप गरिरहेको छ।

तेलको भाउमा भएको बढोत्तरी र हालैको चीनको लोनले मादुरोको सरकारलाई केही आशाका किरणहरु देखाएको छ तर पनि संशयहरु उत्तिकै छन्।

सोसलिस्ट सोलिडारिटीको संकेत स्वरुप पहिलोपटक चीनबाट आउने बुलेट ट्रेनको काम रोकिएको छ। चार वर्ष भइसक्यो चिनियाँ कामदारहरु निकालिएको जसबापत चीनलाई तिर्नुपर्ने हर्जाना रकम तिर्न बाँकी नै छ। चिनियाँले नै काम गर्ने प्रमुख साइटहरुमा लुटपाट भएको छ। यसैबारे बेइजिङसँग कुरा गर्न गएको टोलीले रित्तो हात घर फर्किएको छ। तेल उत्पादनको लागत तिर्न नसकेर दुई ठूला पेट्रोलियम पदार्थ उत्पादन गर्ने कम्पनीहरुले २० वर्ष यताकै कम परिमाणमा उत्पादन गरिरहेका छन्।

फोटो : महिलाहरुलाई हेयर ड्रायर नचलाउन भन्दाको दृश्य। गार्जियनले सोसल मिडियाबाट भनेर लिएको तस्बिर। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell