PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेजा अध्यक्षमा भोला आचार्यको उम्मेदवारी



पहिलोपोस्ट

न्युयोर्क : नेपाल अमेरिका पत्रकार संघ नेजाको आसन्न अधिवेशनमा भोला आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेजाको अधिवेशन यही मेको ७ र ८ मा लस एन्जलसमा हुँदै छ। आचार्य हाल महासचिव छन्। आइतबार विज्ञप्ति मार्फत् आचार्यले उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने आचार्य पहिलो हुन्।

पाका पत्रकार तारा बरालले पनि अध्यक्षका लागि इच्छा राख्दै आएका छन्। नेजाको विद्यमान विधान अनुसार उनी अध्यक्षमा उमेदवारी दिन पाउँदैनन्। नेजाको विधानमा अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि कम्तिमा एक पदावधी कार्य समितिमा रहेको हुनु पर्ने उल्लेख छ। बराल हाल नेजाको सल्लाहाकार छन्। पूर्व कोषाध्यक्ष गुणराज लुइटेलले पनि अध्यक्षका लागि आन्तरिक लबी गरे पनि औपचारिक रुपमा उमेदवारी घोषणा गरेका छैनन्।

रत्नराज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातक गरेका आचार्यले २०५७ साल देखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका हुन्। गोरखापत्रमा समेत काम गरेका आचार्यले नेपाल टेलिभिजनमा खोज पत्रकारितामा आधारित खोज नामक कार्यक्रम तीन वर्ष सम्म चलाएका थिए। माओवादी द्वन्द्वको विषयमा आचार्यले निर्देशन गरेको वृत्तचित्र “टियर्स अफ वार” अर्थात् नओभाएका आँखाले सन् २०१० मा न्युयोर्कमा एन्टरनेसनल फिल्म फेस्टिबलमा अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो। 

नेजामा अमेरिका र क्यानडामा कार्यरत एक सय ४८ जना सदस्य रहेका छन्। लस एन्जलस अधिवेशनले अध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति चयन गर्ने छ। कार्य समितिको कार्यकाल दुइ वर्षको हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell