PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

न्युयोर्कमा नेपाल मेला ! मानव तस्करी कि व्यापार? आयोजक यसो भन्छन्



पहिलोपोस्ट

न्युयोर्कमा नेपाल मेला ! मानव तस्करी कि व्यापार? आयोजक यसो भन्छन्

  • बिष्णु हरि घिमिरे -
न्युयोर्क : वर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) को आयोजनामा आगामी सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा हुन लागेको नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई अनावश्यक शंका नगर्न आयोजकले अनुरोध गरेका छन्। ज्याक्सन हाइटमा आइतबार पत्रकार सम्मेलन मार्फत उनीहरुले यस्तो आग्रह गरेका हुन्।

'व्यापार मेलाको नाममा मानव तस्करी गर्न लाग्यो' भनेर बाहिर  हल्लाहरु  आएको भन्दै उनीहरुले आफूहरु प्रक्रिया भन्दा बाहिर नजाने र सबै काम पारदर्शी रुपमा गर्ने दावी गरे। पत्रकार सम्मेलनमा बोल्दै मेलाका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले आफूहरुको नियतमा कुनै खोट नभएको बताए।

'प्रक्रियाका लागि हामी नेपाल स्थित अमेरिकन दुतावास सँग कुरा गर्दैछौं, त्यस अगाडि मे १२ तारिकका दिन वासिङटन डीसीमा सिनेटर डायना फिनेस्टाइन सँग र न्युयोर्कमा कंग्रेसमेन सहित हामी चार वटा बैठक गर्दै छौं,यही प्रोजेक्टलाई तपाईँहरुले कसरी सहयोग गर्नु हुन्छ र यसलाई कसरी पारदर्शी गर्ने।'

मेलाको लागि नेपालबाट आउन चाहानेको संख्या अत्याधिक भए पनि प्रक्रिया भन्दा बाहिरबाट कोही पनि आउन नसक्ने अध्यक्ष रेग्मीको भनाइ छ।

उनका अनुसार नेपालस्थित अमेरिकन दुतावासले 'तपाईँहरु सबैको लिस्ट लिएर आउनुहोस्। पहिला हामी आन्तरिक रुपमा छानविन गर्छौ, त्यस पछि भिसाको लागि पठाउहोस्' भनेको छ। दूतावासको यो भनाईले कार्यक्रम 'अमेरिका घुसपैठ गराउन' त भइरहेको होइन भन्ने आशंका पैदा गरेको हो।

'हाम्रो उद्देश्य भनेको निश्चित व्यापारी मात्र आउन  भन्ने हो र यसले एक पटक मात्र होइन पटकपटक यस्तो प्रर्दशनी गर्न सकौं भन्ने हो,' उनले भने, 'अमेरिकामात्र होइन विश्व भरी मेला गर्न सकौं। अन्य मुलुकमा पनि नेपाली उत्पादनलाई लैजाने हाम्रो लक्ष्य छ।'

डब्लुबिएमसीले सेप्टेम्बर ३० देखि अक्टोबर दुई तारिकसम्म न्युयोर्कको म्यानहाटन स्थित पियर ९२ मा आयोजना हुने मेलाका लागि  तीन सय ५० भन्दा बढी व्यवसायीले भाग लिने अपेक्षा गरेको छ। सहभागी हरेकले स्टल राख्न पाउने छन्। मेलामा कृषि उत्पादन, जडिबुटी, थाङ्का पेन्टिङ, मुर्तिकला लगायत नेपाल चिनाउने उत्पादहरु राखिने छ। अध्यक्ष रेग्मीका अनुसार नेपाल भन्दा बाहिर रहेका व्यावसायीले पनि मेलामा भाग लिने छन्।

'यो व्यापारिक मेलामा विश्वभरिबाट तीन सय ५० भदा बढी उद्योगी तथा व्यवसायीको संलग्नता हुने छ, नेपालको उत्पादनलाई अमेरिका हुँदै विश्व बजारमा पुर्‍याउने लक्ष्य भएकाले ७० प्रतिशत नेपालबाट र बाँकी विश्वभरिबाट सहभागी हुने छन्,' रेग्मीले भने।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली तयारी पोशाक लगायतका सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउने कानुनमा हस्ताक्षर गरिसकेकाले त्यो सुविधा लिन पनि मेला सहयोगी हुने आयोजकको भनाइ छ। अमेरिकाले नेपाललाई हालै ६६ प्रकारका सामग्रीमा  भन्सार सहुलियत दिने कानुनमा उल्लेख गरेको छ। 

पत्रकार सम्मेलनमा जनाइए अनुसार मेलामा भाग लिन चाहानेले आयोजकले तोकेको शर्त पूरा गर्दै अनलाइनमा आवेदन दिनुपर्नेछ। आयोजकले तोकेमा मुख्य शर्तमा यसअघि विदेशमा भएको मेलामा भाग लिएको, कम्तिमा पनि दुई वर्ष उद्योग व्यवसाय गरेको, आर्थिक पक्ष बलियो भएको, कम्तिमा पाँच जनालाई रोजगारी दिएको लगायतका छन्।

अध्यक्ष रेग्मीका अनुसार मेलाका लागि झण्डै ६ लाख अमेरिकी डलर खर्च हुने छ। स्टल राख्ने स्थानको भाडा भात्र ९० हजार डलर तिरिएको छ।
पत्रकार सम्मेलनमा न्युयोर्क स्थित महावाणिज्यदूत नारायण मैनालीले नेपाली उत्पादनका लागि नेपालबाट व्यावसायीको सहभागिता सँगसँगै स्थानीय उपभोक्ताको बाल्लो उपस्थिति गराउन आयोजकलाई सुझाव दिए। “स्टलमा किन्ने मान्छे पनि धेरै आए भने व्यापारीलाई घाटा हुँदैन, नेपालबाट कति जना आए भन्दा पनि मेला भ्रमण कतिले गरे भन्ने ठूलो कुरा हुन्छ। न्युयोर्कमा रहेका गैर नेपाली समुदायलाई पनि त्यहाँ आउनेगरी प्रचारप्रसार गर्नु पर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell