PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

भवन भट्टले ४० करोडमा किने धुलिखेल माउण्ट रिसोर्ट



भवन भट्टले ४० करोडमा किने धुलिखेल माउण्ट रिसोर्ट

  • सविन मिश्र /पहिलोपोस्ट
धुलिखेल: गैर आवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष भवन भट्टले काभ्रेको पाँचखालमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट किनेका छन्। भट्टले ४० करोड रुपैयाँमा ३३ वर्ष पुरानो रिसोर्ट किनेका हुन्।

भट्टको व्यवसायिक समूह टिबिआईको स्वामित्वमा यो रिसोर्ट सञ्चालन हुनेछ। टिबिआईले नेपालमा युनाइटेड ब्रुअरी, कारोबार दैनिक, बिबी एयरवेज, बिबी ट्रस्ट, बिबी होलिडेजलगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ।

काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्टको स्वामित्व भट्टले सेप्टेम्बर २० बाट लिएका हुन। अब टिबिआई ग्रुपको नाममा यो रिसोर्ट सञ्चालन हुनेछ।

भट्टको स्वामित्वमा आएसँगै डिसेम्बर १३ तारेखमा रेष्टुरेन्टको औपचारिक उद्घाटन हुँदैछ। रेष्टुरेन्टको उद्घाटन टिबिआई ग्रुपका अध्यक्ष भट्टले गर्ने छन्।

भट्टले पूर्णरुपमा आफ्नो स्वामित्वमा रहने गरी रिसोर्ट खरीद गरेको रिसोर्टका अपरेसन म्यानेजर भरत पुडासैनीले जानकारी दिए। 'यसमा पूर्णरुपमा टिबिआई ग्रुपको लगानी छ,' पुडासैनीले भने, 'रिसोर्टमा यो समूहबाहेक अरु कुनै समूहको सेयर स्वामित्व वा लगानी छैन।'

दुईसय २० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट विष्णुबहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका थिए। सन् १९९८ मा श्रेष्ठको निधन भएपछि उनका छोरा अरुण श्रेष्ठ र छोरीहरु सरिता श्रेष्ठ तथा रीता वैद्यले सञ्चालन गर्दै आएका थिए। स्रोतका अनुसार भट्टले रिसोर्ट खरिद गर्न केही नगद आफैले हालेका छन् भने बाँकी रकम सानिमा बैंकले फाइनान्स गरेको छ। टिबिआई ग्रुपले एक वर्षमा कम्तिमा पनि आठ हजार पर्यटक रिसोर्टमा भित्र्याउने लक्ष्य राखेको छ।

रिसोर्टको सुरुवात
काठमाडौंका विष्णुबहादुर श्रेष्ठले सन् १९८१ मा यो रिसोर्ट खोलेका थिए। श्रेष्ठले सुरुमा थोरै लगानी गरी रिसोर्ट सुरु गरेका थिए। १९९८ मा श्रेष्ठको निधनपछि उनका पारिवारिक सदस्यले रिसोर्ट चलाउँदै आएका थिए ।

टुरिस्ट गाइडबाट सुरु भएको उनको पर्यटन क्षेत्रको करियर एक सफल व्यवसायीको रुपमा स्थापित हुन पुग्यो। श्रेष्ठ आफ्नो जीवनभर नै एक सफल उद्यमीकै रुपमा परिचित रहे।
 
रिसोर्ट सुरु गर्दा उनले थोरै/थोरै गरेर जमिन जोड्दै अहिलेको अवस्थामा पुर्‍याएका हुन। 'अहिले रिसोर्टको सम्पत्तिको रुपमा रहेको दुई सय २० रोपनीभन्दा धेरै जमिन उनकै सपना र कडा परिश्रमको उपलब्धि हो,' उनी निकटका एक व्यवसायीले बताए।

श्रेष्ठले आफ्नो रिसोर्टलाई 'टिपिकल नेपाली' बनाउनकै लागि यसका छाना छ्वालीले छाएका थिए। रिसोर्टका भित्तामा गोबर र माटोले लिपपोत गरिएको छ। 

मनमोहक रिसोर्ट 
काठमाडौंबाट ३४ किलोमिटरको दूरीमा रहेको यो रिसोर्टबाट लामटाङलगायतका हिमाल देख्न सकिन्छ। सनराइज र सनसेटका मनमोहक दृश्यहरु हेर्न सकिने भएकाले रिसोर्ट पर्यटकको पहिलो गन्तब्य बन्ने गरेको छ।

पछिल्लो समय गैरआवासीय नेपाली होटल व्यवसायमा आकर्षित भइरहेका बेला भट्टले पनि यो क्षेत्रमा हात हालेका हुन्। भट्टले जापानमा थुप्रै रेष्टुरेन्ट चलाए पनि नेपालको होटल व्यवसायमा भने उनको यो पहिलो ठूलो लगानी हो। यद्यपि टिबिआई ग्रुपले काठमाडौंको थापाथलीमा न्यूयोर्क क्याफे स्थापना गरेको थियो ।

लामो समयदेखि जापान बस्दै आएका भट्टले त्यहाँ रेष्टुरेन्टहरु तथा एउटा ठूलो रिसोर्टमा लगानी गरेका छन्।
'मैले थाहा पाएसम्म भवन सरको बेस होटल व्यवसाय हो,' पुडासैनीले भने, 'नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने उहाँको तीव्र इच्छा भएकाले नै यो रिसोर्टमा लगानी गर्नुभएको हो।' धुलिखेल माउन्ट रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर १ रिसोर्ट बनाउने उद्देश्यले लगानी गरेको पुडासैनीले बताए।

सुविधा थप्ने तयारी
टिबिआई समूहले खरीद गरेपछि रिसोर्टमा सुविधा थप्ने तयारी भइरहेको पुडासैनीले जानकारी दिए। 'हामी ग्राहकका लागि 'एक्स्ट्रा फन एक्टिभिटी' बढाउने सोचमा छौं,' पुडासैनीले भने, '१० देखि १५ लाख रुपैयाँ लगानी गरेर स्पा पनि ल्याउँदै छौं।' उनले काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए।

ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको उनले बताए। 'हाम्रा ग्राहकलाई समय अनुसारको सुविधा दिन्छौं,' पुडासैनीले भने, 'ग्राहकलाई अन्यत्रभन्दा नितान्त फरक सुविधा दिनेछौं।'

जापानी पर्यटक 'टार्गेट'
भट्टले रिसोर्टमा लगानी गरेसँगै जापानी पर्यटकलाई लक्षित गरेर काम अघि बढाउने भएका छन्। जापानमा लामो समय बसेका भट्टको त्यहाँ व्यवसायिक सञ्जाल पनि छ।

'अहिलेसम्म अमेरिकन, क्यानेडिएन र युरोपेली पर्यटक धेरै आउने गरेका छन्,' पुडासैनीले भने, 'अब हामी एसियाली पर्यटक पनि भित्र्याउँछौं, त्यसमा पनि जापानी पर्यटक भित्र्याउने लक्ष्य छ।' जापानमा टिबिआई समूहले चलाएका होटल र रेष्टुरेन्टको छवि राम्रो रहेकाले पनि यो समूहले चलाएको नेपाली रिसोर्टमा जापानी पर्यटक भित्रिने विश्वास उनको छ।
 
छुटको प्याकेज
४२ कोठा भएको यो रिसोर्टले सिंगल र डबल रुम गरी एकसय जना मान्छे अटाउने क्षमता राख्छ। रिसोर्ट र काठमाडौंको सिटी अफिसमा समेत ७२ जना कर्मचारी कार्यरत छन्। रिसोर्टमा नयाँ व्यवस्थापनको प्रवेशसँगै ग्राहकलाई छुट अफरको घोषणा पनि गरेको छ।

रिसोर्टमा नेपालीका लागि अहिले विशेष प्याकेजको व्यवस्था रहेको पनि पुडासैनीले जानकारी दिए। अहिले रिसोर्ट पुग्ने एक जोडी (दुई जना) नेपालीका लागि एक रात बसाई र विहानको ब्रेकफास्ट चारहजार पाँचसय रुपैयाँमा उपलब्ध गराउने उनले बताए। डिनरसहितको प्याकेज भने छुट्टै बनाइएको छ।

यस्तै सोमबारसम्म सार्क स्पेसल छुट अफर अन्तर्गत २० प्रतिशत छुट र रिसोर्टको उद्घाटन भएपछि मंसिरभर नै हरेक दिन पहिलो २० जनालाई १० प्रतिशत छुट दिने तयारी पनि रिसोर्टको छ।

रिसोर्टमा विभिन्न सभा तथा सेमिनारका लागि अलग अलग क्षमताका तीनवटा हल छन्। ती हलको क्षमता ४०, ६० र सय सिट छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell