PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुशील कोइराला : जसले आफु हारेर देशलाई जिताए



सुशील कोइराला : जसले आफु हारेर देशलाई जिताए

  • नारायण अधिकारी-
झन्डै ६ दशक नेपाली राजनीतिमा बिताएका सुशील कोइराला युवा अवस्थाको चाहना अनुसार हलिउड नायक बन्न नसकेपनि नेपाली जनता सामु निष्ठावान राजनैतिक नायक बनेर विदा भए। जन्मपछि मृत्यु मानव जगतको शाश्वत पक्ष हो, यसलाई कसैले टार्न सक्दैन। तर पार्टी र राजनीति भन्दा माथि उठेर राष्ट्रिय मुद्दा बोकेर हिड्ने ब्यक्तिको निधनले मुलुकमा एक नेतृत्वकर्ताको अभाव खट्किएको छ।  

सुशील कोइराला तिनै हुन् जसको प्रधानमन्त्रीकालमा नेपाल संविधान जारी गरी नयाँ युगमा प्रवेश गरेको थियो। असोज ३, २०७२ साल साँझ ५ बजेर ५० मिनेट जाँदा राष्ट्रपति डा रामवरण यादवले ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान प्रारम्भ भएको घोषणा गरेका थिए। संविधान घोषणा गर्न तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले जुन भूमिका खेले त्यसबाट समग्र मुलुक एउटा जर्जर समस्याबाट मुक्त भई नयाँ युगमा प्रवेश गरेको थियो। 

सुशील कोइराला प्रधानमन्त्री बन्दा उनको सामु राजनीतिक मुद्दाको चाङ बाक्लै थियो। जनताले लामो समयदेखि प्रतिक्षारत संविधान घोषणा गर्नु, विनाशकारी भूकम्पले क्षतविक्षत मुलुकको पुनर्निर्माण अघि बढाउनु, मधेश अशान्त हुँदै जानुले संविधान जारी हुन्छ कि हुँदैन भन्ने अन्योल, आफ्नै पार्टीभित्र गुट उपगुटले समस्या बढ्नु जस्ता चुनौती थिए।

असोज ३, २०७२ संविधान जारीसंगै राष्ट्रिय राजनीतिमा कोइरालाको उचाई चुलियो। मुलुकले संविधान पायो तर शान्ति पाएन। आफ्नो विशेषदूतको कुरा नसुनेपछि भारत, नेपालसंग चिढियो। मधेश आन्दोलन विस्तारै बढ्दै थियो। यता काठमाडौंमा संविधान जारीसंगै नयाँ प्रधानमन्त्री चुन्न दलहरुको दौडधुप बढ्यो। दलहरु पुन सत्ताको खेलमा बाझिन थाले उता भारत मधेस आन्दोलनलाई नजिक बाट नियाल्दै थियो। अघोषित रुपमा नाकावन्दी गर्दै थियो भारत। मुलुकमा थप संकट उत्त्पन्न हुनसक्ने अशुभ लक्षण शुरु भइसकेको थियो।  

दलहरु १६ बुँदे सहमतिको आधारमा अगाडि बढ्दै थिए। मधेस जल्दै थियो। असोज २३ गते २०७२ साल सुशील कोरालाले एका- एक पुन प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गरे। प्रधानमन्त्रीको उम्मेद्वारीसंगै राष्ट्रिय रुपमा सुशील कोइरालाको चर्को आलोचना भयो र भारतको दवाबमा उम्मेद्वार बनेको आरोप लाग्यो। कांग्रेसभित्रै कोइरालाको पक्ष र विपक्षमा चर्चा परिचर्चा भयो। संविधान जारी गर्दा चुलिएको कोइरालाको उचाई एकाएक घट्न थाल्यो। गणतीय रुपमा नै आफु हार्छु भन्ने थाहा हुँदाहुँदै कोइरालाले पुन उम्मेद्वारी दर्ता गरेका थिए, जुन बारेमा आम नागरिकको बुझाइ यथार्थबाट टाढा थियो।  

प्रधानमन्त्रीमा उठ्नु साँच्चै भूल थियो?

२०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए र कोइरालाले हारे। प्रजातान्त्रिक मूल्य र मान्यतालाई सहर्ष स्वीकार गर्ने कोइरालाको उम्मेद्वारी जित्नको लागि पक्कै थिएन। प्रष्ट रुपमा गणितीय गणना गर्दा पनि आफु हार्छु भन्ने थाहा हुँदा हुँदै कोइरालाले आफु हारेर देशलाई जिताउन उम्मेद्वारी दिएका थिए। विचार र विश्लेषण फरक फरक तरिकाबाट गर्न सकिएला तर सुशील कोइराला पद लुप्त व्यक्ति पक्कै थिएनन्। ६ दशक राजनैतिक यात्रामा पद लिन खोजेको भए सुशील कोइराला धेरै चोटी मन्त्री हुन सक्थे।

सुशील कोइराला यदि पद लुप्त थिए भने उनले स्वत रुपमा प्रधानमन्त्रीको चुनावमा केपी शर्मा ओली लाई छोडेर राष्ट्रपतिको पद सुरक्षित पार्न सक्थे तर त्यसो गरेनन्।  किनकी मधेशको समस्या गहिरिदै थियो। भारतले अघोषित नाकाबन्दीमा मधेशी दलको आन्दोलनलाई प्रयोग गरिसकेको थियो, जुन मधेशी दल आफैले राम्रोसंग बुझ्न सकेनन्। सुशील कोइरालाले राष्ट्रपतिको पद त्यागेर राष्ट्रिय मधेशको मुद्दालाई जसरी पनि समाधान गर्न खोजिरहेका थिए।

सुशील कोइराला भारतपरस्त थिएनन्। बरु भारतसंग जीवित हुँदा उनको सम्बन्ध आम नागरिकले सोचेको जस्तो कहिल्यै भएन। राष्ट्रिय मुद्दाहरुमा भारतसंग धेरैचोटी सवाल जवाफमा उत्रिएका कोइरालालाई भारतले प्रधानमन्त्री हुँदा रातो कार्पेटमा स्वागत गर्न बोलाएको थिएन। नेपालमा पुरानै चलन हो कसैलाई गाली गर्नु पर्‍यो भने भारत परस्त आरोप लगाउने। कोइराला पनि पछिल्लो समय पुन प्रधानमन्त्रीको उम्मेद्वारीसंगै भारत परस्त आरोप खेप्न बाध्य थिए।  

भारतको नेपालमाथि नाकावन्दी झन्डै ४ महिना चल्यो। अघोषित रुपमा लगाको नाकाबन्दी अघोषित रुपमा नै खुल्ला भएको छ। तर हाम्रा नेताहरुले नाकावन्दीको घोषित रुपमा फुकुवा भएको वक्तव्य दिन पछाडि परेनन्। नाकाबन्दीबाट नेपाल भारतको सम्बन्ध धेरै चिसो भयो। आम नागरिकले अभावको बेलामा पनि सरकार विरुद्द नभई भारत विरुद्द औंला उठाए। मधेश आन्दोलन थाकेर लखतरान हुँदै दिल्लीबाट लालुको आँगनमा लम्पसार पर्न गयो तर समस्याको जड कहाँ निर रहेछ भन्ने आन्दोलनकारी मेसो पाउन सकेनन्।

नेपाली कांग्रेस को १३ औं महाधिवेसन को मिति नजिकिंदै गर्दा, कांग्रेस सभापति कोइरालाको निधन भयो। राष्ट्रिय राजनीतिमा त कोइरालाको अभाव हुनेनै छ त्यो भन्दा धेरै अब कांग्रेस महाधिवेसनमा हुनेछ।  कोइराला पुन सभापतिको उम्मेद्वार उठ्ने थिए कि थिएनन् भन्ने कुरा अड्कल बाजीमा नै सिमित भयो।

भारतले किन पठायो विदेशमन्त्री ?

नाकाबन्दी खुलेसंगै प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित बन्यो र मिति नजिकिंदै गर्दा कोइरालाको निधन भयो। कोइरालाको निधनमा भारतले गहिरो दुख व्यक्त गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइन्। नेपालको नाकावन्दी गर्ने मामलामा कठोर बनेकी सुष्मा स्वराज र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबाल लगायत भारतीय नेताहरु काठमाडौं आएर सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली ब्यक्त गरे।

यसबाट फेरि नेपाल भारत समन्धको नयाँ सहज रेखा विस्तारै देखा परेको छ। नाकाबन्दीबाट अन्तर्राष्ट्रिय जगतमामा आलोचित भारतले मधेस दललाई थाहै नपाउने गरी आफ्नो गोटी बनायो  र नाका विस्तारै सहज हुँदै गएको घोषणा गर्‍यो। यता पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिन विदेशमन्त्री पठाएर भारतले सम्बन्ध सुधार गर्न तयार रहेको सन्देश दिएको छ।  

सम्भवत नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराई पछि त्यागी नेता सुशील कोइराला नै होलान्। जसको निजी सम्पत्तिको नाउँमा केही पनि रहेन। जसले आफु हारेर पनि देशलाई जिताए। तिनै प्रजातन्त्रका सिपाहीप्रति हार्दिक श्रदा सुमन …। अलविदा सुशील कोइराला …।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell