PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चार महिनापछि रक्सौलबाट भित्रियो इन्धन



चार महिनापछि रक्सौलबाट भित्रियो इन्धन
रक्सौल डिपोबाट सोमबार इन्धन बोकी नेपाल भित्रींदै पेट्रोलियम ट्याङ्कर । भारतीय आयल निगम, रक्सौल डिपोले सोमबारदेखि नेपाली ट्याङ्करलाई इन्धन भर्न दिएको छ । तस्बिर : विजय कुमार महतो/रासस

  • सविन मिश्र/पहिलोपोस्ट-
काठमाडौं :  भारतको रक्सौल डिपोबाट सोमबार बेलुकी वीरगञ्जमा चार महिनापछि पहिलो पटक इन्धन भित्रिएको छ। नेपाल आयल निगमले भारतको रक्सौलमा रहेको इण्डियन आयल कर्पोरेसनको डिपोबाट सोमबार वीरगञ्ज हुँदै इन्धन भित्र्याएको हो। 

 यो नाकाबाट सोमबार १५ देखि २० ट्यांकर इन्धन नेपाल भित्रने नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख भानुभक्त खनालले जानकारी दिए। ‘सोमबार बेलुकीसम्ममा २० वटासम्म गाडी नेपाल भित्रनेछन्, हाम्रो अनुमानमा तीनसयदेखि चारसय केएलसम्म तेल आउँछ,’ खनालले भने, ‘मंगलबारबाट सामान्य हुने हाम्रो अनुमान छ।’

लामो समयसम्म यो रुटबाट गाडी नजाँदा कागजी प्रक्रिया पनि मिलाउनुपर्ने भएकाले सोमबार थोरै ट्यांकर मात्रै लोड हुने र मंगलबारबाट सबैले तेल पाउने उनले जानकारी दिए। 

रक्सौलबाट इन्धन ल्याउन नेपाल आयल निगमले आइतबार भारतीय आयल कर्पोरेसन (आइओसी)लाई पत्र पठाएको थियो। निगमले त्यहाँ जाने ट्यांकरको रुट परिवर्तन गरी पुरानै कायम गर्न आइओसीलाई पत्राचार गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। 

 ‘उनीहरुले हामीसँग केही कुराको जवाफ मागेका थिए, त्यसको जवाफ हामीले पठाइसकेका छौं,’ घिमिरेले भने, ‘आज बेलुकीसम्ममा केही ट्यांकर इन्धन भरेर नेपाल फर्कने छन्।’

मधेसी मोर्चाको आन्दोलनका कारण यो नाकाबाट इन्धन ल्याउन नसकिएपछि ट्यांकरको रुट परिवर्तन गरिएको थियो। निगमले फेरि पुरानै रुट कायम गरी इन्धन पठाउन भारतीय पक्षलाई भनेको हो। 

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने रक्सौल नाकाबाट आउने इन्धनको परिमाणबारे दुई तीनदिन पछि मात्रै यकिन भन्न सकिने बताए। ‘पहिले उताबाट आउन नथालेसम्म कति आउँछ भनेर हामीले भन्न सकिँदैन,’ खड्काले भने, ‘दुई तीनदिनमा यसको विस्तृत कुरा थाहा होला।’

मधेशी मोर्चाका कार्यकर्ताले गर्दै आएको नाकाधर्ना कार्यक्रम शुक्रबार स्थानीय व्यापारीले हटाएपछि पाँच महिनायता बन्द रहेको वीरगञ्ज नाका खुलेको थियो। वीरगञ्ज नाका खुलेपनि रक्सौलमा रहेको आइओसीको डिपोबाट सोमबार मात्रै तेल भर्न लागिएको हो। शनिबार र आइतबार आइओसीको डिपो बन्द हुन्छ।

रक्सौलमा तेल लिन निगमले ट्यांकर पठाइसकेको छ। शुक्रबार पुगेका ट्यांकरलाई माथिको आदेश नआएको भन्दै आइओसीले तेल दिएको थिएन। सोमबार भने उनीहरुको लोडिङ हुन लागेको हो। यो नाकाबाट नेपालमा सामान्य अवस्थामा दैनिक एकसय ५० देखि दुईसय ट्यांकरले इन्धन भित्र्याउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell