PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आन्दोलन गर्नुस्, परिणाम नकारात्मक निस्के जिम्मा महासंघले लिन्छः विष्ट



आन्दोलन गर्नुस्, परिणाम नकारात्मक निस्के जिम्मा महासंघले लिन्छः विष्ट
महासंघले आयोजना गरेको छलफलमा सहभागी पत्रकार।

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पेशागत हकहितका लागि पत्रकारले आन्दोलन गर्दा नकारात्मक परिणाम निस्किए त्यसको जिम्मा पत्रकार महासंघले लिने घोषणा गरेका छन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे महासंघ प्रतिष्ठान शाखाका अध्यक्ष तथा सचिवसँग भएको छलफलमा अध्यक्ष विष्टले पत्रकारको आन्दोलनबाट निस्कने जस्तोसुकै परिणामको जिम्मेवारी महासंघले लिने बताएका हुन्।

‘तपाईँहरु आफ्नो हकहित रक्षाका लागि योजनावद्ध आन्दोलन थाल्नुस्’, विष्टले भने, ‘अघि बढ्ने अवस्था हुन्छ वा हुँदैन हेर्नुहोस्। आन्दोलबाट नकारात्मक परिणाम निस्किए महासंघ तपाईँको साथमा छ।‘

श्रमजीवी पत्रकार ऐनअनुसार नियुक्तिपत्र र न्युनतम तलब दिन मिडिया सञ्चालकहरुले आनाकानी गरिरहेको भन्दै अध्यक्ष विष्टले पत्रकार महासंघ अब ठोस योजनासहित ‘एक्सन’ मा जाने बताए।

‘अब तपाईँ कार्यरत मिडियामा के कस्ता समस्या छन् पहिचान गर्नुस्। तत्काल पुरा हुने, छलफल चाहिने र आन्दोलनमै जानुपर्ने गरी मागहरु वर्गीकरण गर्नुस्’, विष्टले भने, ‘तपाईँको पछाडि हामी छौँ, कोहीपनि एक्लो छैन।‘ आन्दोलनका स्वरुप तय गर्दा महासंघसँग सहकार्य गर्न पनि उनले आग्रह गरे।  

‘असल काम गर्दा हच्किने कुरा आउँदैन। तपाईँहरु योजनावद्ध आन्दोलन थाल्नुस्। तलब तथा नियुक्तिपत्र दिन नसक्ने अवस्थामा हाम्रा मिडिया छैनन्’, उनले भने।

श्रमजीवी पत्रकार हकहित रक्षाको काम कहाँबाट थाल्ने भन्नेबारे सुझाव संकलन गर्न महासंघ  र यसअन्तर्गतको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन उपसमितिले छलफल गरेको थियो।

छलफलमा सहभागी शाखा प्रतिष्ठानका प्रतिनिधिले जहाँ जे समस्या छन् त्यसैलाई आधार बनाएर आन्दोलनका कार्यक्रम तय गर्न महासंघलाई सुझाव दिए। महासंघमा ४२ प्रतिष्ठान शाखा भएपनि छलफलमा भने २० वटा प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए।

अध्यक्ष विष्टले आफू कार्यरत संस्थाको अवस्था हरेर तलबसुविधा तथा अन्य सेवासर्तबारे सामूहिक सौदाबाजी गर्न पत्रकारहरुलाई आग्रह गरे।

‘शाखा प्रतिष्ठान एकतावद्ध भएर आन्दोलन गरेमात्र पत्रकार महासंघ बलियो हुन्छ’, उनले भने, ‘विभाजित नहुनुस्। सामूहिक रुपमा लड्नुस्।‘

‘आन्दोलन गर्दा जागिर गए कसले जोगाइदिन्छ?’

कार्यक्रममा काठमाडौंका अधिकांश टेलिभिजनका पत्रकारले नियुक्तिपत्र, समयमा तलब अन्य सुविधा जस्ता व्यवस्था लागू नभएको बताएका थिए।

न्युनतम तलबकै लागि पनि आन्दोलन गरिरहनुपर्दा महासंघले केही पनि गर्दैन भन्ने पत्रकारहरुमा भान परेको भन्दै आक्रामक रुपमा प्रस्तुत हुन उनीहरुले महासंघलाई आग्रह गरे।

‘आन्दोलन गर्दा मेरो जागिर धरापमा पर्छ। कसले रक्षा गर्ने?’, काठमाडौंको एक टेलिभिजनका पत्रकारले प्रश्न गरे, ‘महासंघले मेरो जागिर रक्षा गर्ने ग्यारेन्टी लिन्छ भने म जस्तोसुकै आन्दोलनका लागि तयार छु।‘

उनले मालिकहरुको मनोवैज्ञानिक दबाबका कारण पत्रकारहरु पिल्सिनुपरेकोले अधिकारका पक्षमा बोल्ने कुरा कठिन भएको बताए।

उज्यालोमा ३९ दिनदेखि आन्दोलन

ललितपुरस्थित कम्युनिकेसन कर्नरका पत्रकार तलबसुविधा वृद्धिको मागसहित गएको ३९ दिनदेखि आन्दोलनमा छन्। सरकारले तोकेको न्युनतम तलबलाई नै अधिकतमसहर व्यवहार गरी पत्रकारमाथि शोषण गरिएको भन्दै पत्रकार आन्दोलनमा उत्रेका हुन्। कम्युनिकेसन कर्नरले उज्यालो ९० नेटवर्क रेडियो सञ्चालन गर्छ।

कम्युनिकेसन कर्नर शाखाका अध्यक्ष श्रीधर पौडेलले ३९ दिनअघि व्यवस्थापनसमक्ष पत्रकार हकहितका माग राखिएपनि व्यवस्थापन गम्भीर नभएको बताए। ‘पत्रकारलाई पेलेर जान सकिन्छ भन्ने मानसिकता मिडिया सञ्चालकहरुमा हाबी छ’, पौडेलले भने, ’१० मिनेटमा पुरा गर्छौँ भनिएको थियो। माग राखेको पाँचसाता बितिसक्यो तर माग पुरा गर्ने गम्भीरता देखिएको छैन।‘

रेडियोको प्रसारणमा असर नपर्ने गरी उज्यालोका पत्रकार चरणवद्ध आन्दोलनमा छन्।  ‘परिआए आफ्नै आन्दोलनको समाचारलाई मुख्य समाचार बनाउँछौँ। रेडियोको प्रसारण जारी राख्छौँ’, अध्यक्ष पौडेलले भने, ‘आन्दोलन पनि सँगसँगै जानेछ।’

‘काम गर्ने अवस्था नै छैन’

इमेज टेलिभिजन शाखाका अध्यक्ष डिल्ली बस्नेतले विद्यमान न्युनतम तलबमा पत्रकारलाई काम लगाइराख्ने हो भने नेपालका निजी मिडिया बन्द गरे फरक नपर्ने बताए। ‘पत्रकारले काम गर्न सक्ने अवस्था नै छैन। न्युनतम तलब शतप्रतिशत नबढाए एउटा पत्रकारको जिविकोपार्जन हुनै नसक्ने अवस्था छ’, उनले भने।

पत्रकार महासंघले नीतिगत तहबाट नै हस्तक्षेपकारी भूमिका नेखेल्ने हो भने पत्रकारहरुको अवस्था झन् दयनीय बन्दै जाने उनले बताए। ‘मिडियाका सञ्चालकहरु शक्तिशाली छन्। उनीहरुको जहाँतही नेक्सस छ’, बस्नेतले भने, ‘हामी पत्रकारले आन्दोलन गरेरमात्र उनीहरु गल्नेवाला छैनन्। महासंघको सशक्त हस्तक्षेप चाहियो।‘

महासंघ प्रतिष्ठान क्षेत्रका सल्लाहकार मातृका पौडेलले कुनैपनि शाखाले सही ढंगले भूमिका खेल्ने हो भने पत्रकारका अधिकांश समस्या आफै समाधान हुने बताए। ‘हाम्रो भूमिका सही हुनुपर्छ। मिडिया मालिकलाई अप्ठ्यारो नपारी समस्याको समाधान निस्कन्न’, पौडेलले भने, ‘उनीहरु मिडिया बन्द गर्ने धम्की दिन्छन् तर ढुक्क हुनुस् उनीहरुले कुनैपनि हालतमा मिडिया बन्द गर्ने छैनन्। बन्द हुँदैमा पत्रकारिता रोकिन्न।‘

महासंघको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन समितिका सल्लाहकार वालकृष्ण बस्नेतले शाखा प्रतिष्ठानहरु सकृय नहुँदा महासंघलाई अप्ठ्यारो परेको पहिलेको अनुभव रहेकोले आफ्नो पेशागत हक रक्षाका लागि आफै सकृय हुन आग्रह गरे।

एभिन्युज टेलिभिजनका बीबी बस्नेतले मिडिया हाउसले पत्रकारलाई बँधुवा मजदूरसहर व्यवहार गरेको र समस्या पत्रकारमा पनि रहेको बताए। ‘पत्रकार आफूले काम गरेको पैसा माग्न हिच्किचाउँछन्’, उनले भने, ‘मिडिया मालिकको कुरै नगरौँ। उनीहरुले मिडियाका मापदण्ड पुरा गरेनगरेको कसले हेर्ने?’ 

यस्तो छ महासंघको रणनीति

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन लगायत पत्रकार हकहितका मुद्दासहित ४२ ओटै प्रतिष्ठान शाखामा आन्दोलन गर्ने महासंघको योजना छ। कुनै शाखामा आन्दोलन हुँदा बाँकी ४१ शाखाका पत्रकार पनि आन्दोलनमा सहभागी हुने निर्णय भएको महासचिव उजिर मगरले जानकारी दिए। 
'अब पत्रकारसँग आन्दोलनको विकल्प छैन', उनले भने, 'कहीँ आन्दोलन हुँदा बाँकी शाखा प्रतिष्ठानसहित महासंघको केन्द्र पनि सहभागी हुनेछ।' 

पत्रकारले जिविकोपार्जनको मुद्दा उठाउँदा सञ्चालकहरुले बारम्बार मिडिया बन्द गर्ने धम्की दिइरहेकोप्रति महासंघ गम्भीर भएको छ। 'कुनै मिडिया बन्द हुँदैमा प्रेस स्वतन्त्रता हनन हुँदैन' महासंघ केन्द्रीय सदस्य रोसन पुरीले भने, 'प्रेस स्वतन्त्रता आन्दोलन हो, चलि नै रहनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell