PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अध्यात्मको केन्द्र नेपाललाई जी २० मा समेट्नु पर्छ : टर्कीका प्रम



अध्यात्मको केन्द्र नेपाललाई जी २० मा समेट्नु पर्छ : टर्कीका प्रम

  • पहिलोपोस्ट- 
काठमाडौं : अस्ट्रेलियामा भइरहेको जी २० बैठकअघि टर्कीका प्रधानमन्त्री अहमद दावुतोग्लुले पत्रकार सम्मेलन गर्दै समूहलाई अझ समावेशी बनाउनु पर्ने भन्दै नेपालको सन्दर्भ उठाएका छन्। उनले नेपालजस्तो कम विकसित मुलुकलाई विश्व अर्थतन्त्रसँग जोड्नुपर्ने बताए।  

विश्वका २० उच्च अर्थव्यवस्था भएका मुलुकहरुको समूह जी २० को नेतृत्वको पालो टर्कीको आउन लागेको बेला  दावुतोग्लुले अध्यात्मको केन्द्रमा रहेकाले नेपाललाई छोड्न नमिल्ने बताएका हुन्। 'नेपाल अध्यात्मको केन्द्रमा छ,' उनले भने, 'उसलाई हामीले कसरी छोड्न सक्छौ ? यो प्रक्रियामा उनीहरु पनि हिस्सेदार हुनुपर्छ।'

जी २० मा कम विकसित मुलुकहरुको आवाजले प्रतिनिधित्व नगरेकोप्रति उनले टिप्पणी गरेका थिए।

संयोगले उनले यसो भनेकै दिन उनकै देशको टर्किस एयरलाइन्सले फुटबल स्टारहरु मेसी र ड्रोग्बा रहेको नेपाललाई समेत समेटेकोएउटा विज्ञापन सार्वजनिक भएको थियो।

विश्व अर्थतन्त्रमा अल्प विकसित मुलुकहरु पनि सहभागी हुनुपर्ने उनको भनाई थियो। उनले दक्षिण अफ्रिकाबाहेक कुनै पनि अफ्रिकी मुलुकको आवाज बैठकमा उठ्ने नगरेको बताए। 

विश्वको शक्तिकेन्द्र जी २० को बैठकका लागि अस्ट्रेलियामा केन्द्रिकृत छन्। जी २० मा विश्वका सबैभन्दा धेरै अर्थव्यवस्था भएका १९ देश र युरोपेली संघ आवद्ध छन्। यी मुलुकहरुका अर्थमन्त्री र केन्द्रीय बैंकका प्रमुख जी २० का सञ्चालक हुने गर्छन्। 

जी २० मा अफ्रिकाबाट एकमात्र मुलुक दक्षिण अफ्रिका, उत्तर अमेरिकाबाट क्यानडा, मेक्सिको र युएसएले प्रतिनिधित्व गर्छन् भने दक्षिण अमेरिकी मुलुकबाट अर्जेन्टिना र ब्राजिल सहभागी छन्। दक्षिण एसियाबाट भारतमात्र प्रतिनिधित्व गर्छ।

पूर्वी एसियाका चीन, जापान, इन्डोनेसिया र दक्षिण कोरिया यसका सदस्य हुन्। खाडीबाट साउदी अरबले प्रतिनिधित्व गर्छ। युरेसियाबाट रुस र टर्कीले प्रतिनिधित्व गर्छन्। युरोपबाट युरोपेली संघसँगै बेलायत, फ्रान्स, इटाली र जर्मनीको प्रतिनिधित्व हुने गर्छ। ओसियानबाट अस्ट्रेलियाले प्रतिनिधित्व गर्छ। 

जी २० मा समावेसीकरणको मुद्दा पहिलेदेखि नै उठ्दै आएको हो। यसपाला भने दावुतोग्लुले नेपालसहितका मुलुकलाई विश्वअर्थव्यवस्थासँग जोड्नुपर्ने धारणा राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell