PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​यस्ता छन् सरकारले ल्याएको भूकम्प प्रतिरोधी घरका डिजाइन



​यस्ता छन् सरकारले ल्याएको भूकम्प प्रतिरोधी घरका डिजाइन

  • विनोद ढकाल/पहिलोपोस्ट-
काठमाडौं : सरकारले ग्रामीण क्षेत्रमा ढुंगा र इँटाबाट बनाउन सकिने भूकम्प प्रतिरोधी ८ वटा घरको मोडल सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण बिभागले गएको असोजमा ढुंगा र इँटाले बनाउने घरको मोडल, बनाउने तरिका, त्यसमा लाग्ने जनशक्ति र सामग्री सहितको विस्तृत प्रतिवेदन तयार पारेको छ।

सरकारले सार्वजनिक गरेको मोडलमा २ वटा घरमा भुइँतल्ला मात्र रहेको छ भने ६ वटामा तला उठाइएको छ। यी सबै घरका डिजाइन परिमार्जित राष्ट्रिय भूकम्प संहिता अनुसार रहेको बिभागले जनाएको छ। यी घरको गारोमा ढुंगामात्र प्रयोग गरिन्छ र हरेक २ फिट गारोमा सिमेन्टको बेस राखिनेछ। सरकारले दिने २ लाख रुपैयाँ अनुदानबाट भूकम्प पीडितले यिनै मध्ये एक डिजाइनको घर बनाउनुपर्नेछ। यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्‍यहोर्नुपर्ने सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा उपयोगी भनिएको घरहरुको मोडल यस्तो छ।

मोडल १                                                        


यो भुइँतला मात्र भएको घर ३ देखि ५ जनाको परिवारका लागि उपयुक्त हुन्छ। यसमा करिब साढे दुई मिटर चौडाइ र साढे ४ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन्। त्यस्तै डेढ मिटर चौडाइ र साढे ६ मिटर लम्बाईको बरण्डा हुन्छ। यसमा ढुंगाको गारोमा हरेक २/२  फिटमा सिमेन्टको बेस राखिएको छ। यो घर निर्माणका लागि १ सय ४९ जना दक्ष र ३ सय ६१ जना अदक्ष कामदार लाग्ने जनाइएको छ। त्यस्तै २४ घनमिटर ढुंगा, १ सय ४१ बोरा सिमेन्ट र २४ घनमिटर बालुवा लाग्नेछ। त्यस्तै ९ घनमिटर गिटी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ।

मोडल २


यो भुइँतल्ला मात्र भएको घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ। यसभित्र साढे २ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइको एउटा कोठा र बाहिर २.८५ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइ भएको वरण्डा हुन्छ। यो घर निर्माणका लागि ९७ जना दक्ष र २ सय ५२ जना अदक्ष जनशक्ति आवश्यक पर्छ। त्यस्तै २५ घनमिटर ढुंगा, ९२ बोरा सिमेन्ट, १४ घनमिटर बालुवा, ९ घनमिटर रोडा, करिब २ घनमिटर काठ, साढे ३ वण्डल जस्ता  आवश्यक पर्छ।

मोडल ३


यो दुई तले घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ। यसमा भुइँतलामा २ कोठा र माथिल्लो तलामा ई कोठा रहेको छ। यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.३ मिटर लम्बाइका हुन्छन् भने भुइँतलाको वरण्डा १.५ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ। यो घर निर्माणका लागि २ सय ७९ जना दक्ष र ६ सय २६ जना अदक्ष कामदार आवश्यक पर्छन् भने ४८ घनमिटर ढुंगा, १ सय ८७ बोरा सिमेन्ट, २९ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ, ४.७१ बण्‍डल जस्तापाता आवश्यक पर्छ।

मोडल ४


यो दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि हो। यसको भुइँतलामा ३ वटा कोठा र वरण्डा हुन्छ भने माथिल्लो तलामा पनि तीनवटा कोठा र वरण्डा छ। दुइवटा कोठा ३ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्छन् भने अर्को एक कोठा र वरण्डा २.१ मिटर चौडाइ र ३ मिटर लम्बाइको हुन्छ। यो घर निर्माणका लागि ३ सय ४ जना दक्ष र ४ सय ५८ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै ७२ घनमिटर ढुंगा, २ सय बोरा सिमेन्ट, ४० घनमिटर बालुवा, १० घनमिटर रोडा, ११ सय ४१ किलोग्राम रड, साढे ४ वण्डल जस्ता, साढे ४ घनमिटर काठ आवश्यक पर्छ।

मोडल ५


यो दुईतले घरको ८ देखि १० जना सदस्य भएका परिवारका लागि हो। यसको दुबै तलामा दुई/ दुई वटा कोठा र वरण्डा रहेको छ। कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाईका छन् भने वरण्‍डा ७.८ मिटर लामो र १.२१ मिटर चौडाइको रहेका छन्। यो घर निर्माणका लागि २ सय ६३ जना दक्ष र ५ सय ९२ जना अदक्ष कामदार आवश्यक पर्छन्। त्यस्तै ८६ घनमिटर ढुंगा, ३ सय ११ बोरा सिमेन्ट, ४८ घनमिटर बालुवा, २६ घनमिटर रोडा, १७ सय ९२ किलोग्राम रड, करिब ३ घनमिटर काठ र साढे ४ बण्डल जस्ता आवश्यक पर्छ।

मोडल ६


यो दुई तले घर पनि ८ देखि १० जनाको परिवारका लागि हो। यसको दुई तलामा २/२ वटा कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका रहेका छन्। यसको दुबै तलामा वरण्डा निकालिएको छ जसको लम्बाई ७.३ मिटर र चौडाई १.२५ मिटरको छ। यसका लागि २ सय ८६ जना दक्ष र ५ सय ६५ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै ३८ घनमिटर ढुंगा, २ सय ५३ बोरा सिमेन्ट, ४९ घनमिटर बालुवा,  ८ घनमिटर रोडा,  साढे ५ घनमिटर काठ, साढे ४ वण्डल जस्ता र ७ सय ३ किलोग्राम रड आवश्यक पर्छ।

मोडल ७


यो साढे दुई तलाको घर हो। जसको तलका दुईवटा तलामा २.७ मिटर लम्बाई र त्यति नै चौडाइ भएका तीन/ तीनवटा कोठा रहेका छन्। भुइँतला र माथिल्लो तलाको बरण्डा ६.५५ मिटर लम्बाई र १.१ मिटर चौडाइको रहेको छ। त्यस्तै तेश्रो तलामा पनि खाली ठाउँ रहेको छ। यो घर निर्माणका लागि ४ सय १८ जना दक्ष र ७ सय ४५ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै १ सय ३८ घनमिटर ढुंगा, ३ सय ६ बोरा सिमेन्ट,  ५९ घनमिटर बालुवा, ११ घनमिटर रोडा, साढे ६ घनमिटर काठ, साढे ५ वण्डल जस्ता र ८७८ किलोग्राम रड आवश्यक पर्छ।
 

मोडल ८


यो साढे २ तलाको घरमा ढुंगाको गारोमा आरसिसी स्ल्याब राखिएको छ। यसको दुईवटा तलामा दुईवटा कोठा र वरण्डा तथा माथिल्लो तलामा छत रहेको छ। यो घरमा कोठाहरु ३.३ मिटर लम्बाई र २.७ मिटर चौडाइ रहेको छ भने वरण्डा ३.३ मिटर लम्बाई र २.१ मिटर चौडाइ छ। भूकम्प प्रतिरोधीहरुका लागि गाउँघरमा नै पाइने सामग्रीको प्रयोग गर्न मिल्ने गरी बनाइएको डिजाइनमध्ये यो सबैभन्दा महङ्गो डिजाइन हो। यसका लागि ४ सय १२ जना दक्ष र ९ सय ६२ जना अदक्ष कामदार आवश्यक पर्छ। त्यस्तै १ सय ३२ घनमिटर ढुंगा ५ सय ४ बोरा सिमेन्ट, ८१ घनमिटर बालुवा, ३१ घनमिटर रोडा, २ घनमिटर काठ र २८१४ किलोग्राम रड आवश्यक पर्छ।  

माटो र ढुंगा जडानको अर्को मोडल


बिभागले माटो र ढुंगाको जडानबाट बनाउन सकिने घरको मोडल पनि सार्वजनिक गरेको छ। एकतले यो घरमा तीनवटा कोठा र वरण्डा रहेको छ। दुईवटा कोठा ३ मिटर लम्बाई र ३ मिटर चौडाईका छन् भने अर्को एक कोठा र वरण्डा ३ मिटर लम्बाई र २.१ मिटर चौडाइको रहेको छ। यसमा माथिल्लो तलामा पनि थोरै खाली ठाउँ छ। यो घर निर्माणका लागि २ सय ३८ जना दक्ष र १ सय ९७ जना अदक्ष कामदार आवश्यक पर्छन्। त्यस्तै ५६ घनमिटर ढुंगा, ४१ घनमिटर माटो, साढे ७ घनमिटर काठ र १ सय ६१ वर्गमिटर स्लेट आवश्यक पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell