PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बैँकको शाखा जति पनि वैज्ञानिक र चुस्त छैन मन्त्रालय : उद्योग मन्त्री बस्नेत



बैँकको शाखा जति पनि वैज्ञानिक र चुस्त छैन मन्त्रालय : उद्योग मन्त्री बस्नेत

काठमाडौँ : उद्योग मन्त्री महेश बस्नेतले आजको दिनमा बैंकको शाखा जति वैज्ञानिक र चुस्त पनि मन्त्रालय नभएको बताएका छन्।

बिजमान्डुलाई दिएको अन्तर्वार्तामा मन्त्री बस्नेतले भनेका छन्,  'जब म मन्त्री भएर गएँ, उजुरी शाखामा बारुलाले गुँड लगाइरहेको थियो। एउटा हटलाइन हामीसँग छैन। उद्योग मन्त्रालयमा एउटा भिजाकार्ड कोर्ने मेसिन छैन। कुन बैंकसँग कारोबार गर्नु भएको छ त्यो बैंकलाई भिजा कार्ड कोर्ने मेसिन राखिदिनू भन्न लगाएँ।'

उनले अगाडि भनेका छन्, 'कतिसम्म समस्या छ भने उद्योगी व्यवसायीलाई सिंहदरबार प्रवेश कार्ड दिने कुरा मैले गरें। त्यो कार्ड लेउ न मलाई भन्दा त्यहाँबाट फाइल उठाउनु पर्ने, त्यहाँबाट स्टोरमा जानुपर्ने हुँदा एक महिनामा पनि नआउने भयो। त्यसकारण मैले निजी सचिवालयलाई आफैं छाप्नुस भनेर भनें।'

उनले उद्योग मन्त्रालयलाई परजीवी बनाइएको आरोप पनि लगाएका छन्। 'संसारमा अरु कुनै देश छैनन् होला जसले हाम्रो अर्थमन्त्रालयले जति पावर एक्सरसाइज गरिरहेको छ', मन्त्री बस्नेत भन्छन्, 'उद्योग मन्त्रालयको बजेटको सिलिङ कति हो त? तीन अर्ब चानचुन रकम हामीलाई छुट्याइएको छ, त्यो पैसा खर्च गर्ने स्वायत्तता हामीसँग हुनुपर्छ। हामी गाविस नगरपालिकाको स्वायत्तताको कुरा गरिरहेका छौं, अनि एउटा मन्त्रालय चाँही परजीवि भएर बस्न सक्छ? सक्दैन नि।'

'उद्योगहरु संचालन गर्ने नगर्ने र त्यसको निजीकरणको मोडालिटी त उद्योग मन्त्रालयले तय गर्ने हो नि अर्थ मन्त्रालयले होइन। तर निजीकरण इकाइ भनेर अर्थमन्त्रालयले खोल्ने? हाम्रो उद्योगहरु के गर्ने भनेर हामी अर्थमन्त्रालयमा जानुपर्ने? यो नीतिगत समस्या हो।'

मन्त्री बस्नेतसितको अन्तर्वार्ता बिजमान्डुमा पढ्न सकिन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell