PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आत्महत्या कायरता होइन, मनोरोग हो, उपचार संभव छ



आत्महत्या कायरता होइन, मनोरोग हो, उपचार संभव छ

  • डा. विजय ज्ञवाली
एक सफल निर्देशकको  आत्महत्या भनिएको घटनाले अहिले देश तरंगित भएको छ। युवापुस्ता माझ ख्याति कमाएका युवा निर्देशकको अन्त्यले चर्चा पाउनु स्वाभाविक हो। तर पनि यससँग  जोडिएको संवेदनशिलतालाई मध्यनज़र नगरी उनको कर्म भन्दा मृत्युवरणको गलत शैलीलाई प्राथमिकता दिंदा  यसले समाजलाइ गलत बाटोमा लैजान सक्छ।

उनका हजारौ प्रशंसक  छन् जसले उनको कार्यलाइ आदर्श मानेका  छन्। ती  प्रशंसकहरुको  बीचमा उनको आत्महत्याको समाचारले गलत मार्गतिर  डोर्‍याउने सम्भावना हुन्छ।

नेपालमा यस्ता घटना निकै कम भएतापनि विश्वमा  यसका धेरै उदाहरण छन्। आत्महत्या विज्ञानका अनुसन्धानकर्ता  डा. सिमोन स्ट्याकले गरेको एक अनुसन्धान  अनुसार चर्चित व्यक्तिको आत्महत्यापछि १४ प्रतिशत सम्म आत्महत्या बढेको पाइएको छ।

तसर्थ यस्ता घटनाहरुको समाचार सम्प्रेषणमा मिडियाको विशेष  भूमिका रहन्छ। यस्ता विषयवस्तु सम्बन्धी  समाचारमा आचार संहिता लागू गर्नुपर्ने देखिन्छ।
 

के हुन सक्छ कारण ?

आत्महत्याको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने २०१२ मा भएका आत्महत्याको ७५ प्रतिशत भाग हाम्रो जस्तो विकासोन्मुख देशमा भएको छ। तसर्थ हामी आत्महत्याको उच्च जोखिम क्षेत्रमा छौं । प्रत्येक  दिन सरदर  १५ जनाले आत्महत्या गर्ने  हाम्रो मुलुकमा  यो समस्या  हामी सबैको साझा समस्या हो।
 
आत्महत्याको कारण जति सरल देखिन्छ त्यति सरल हुँदैन। यो अत्यन्त जटिल प्रक्रियाको उपज हो। यसमा एउटा मात्र कारणले भूमिका  खेलको हुन्छ भन्न सकिँदैन।

हालसम्म यो क्षेत्रमा जति अध्ययन र अनुसन्धान भएका छन्, ती सबैको निचोड  अनुसार यो एउटा  मानव मनोविज्ञानभित्रको जटिल अन्तर्द्वन्दको उपज हो।

यस अर्थमा मानसिक समस्या  नै आत्महत्याको प्रमुख कारण हो  जसमा  अन्य सामाजिक , आर्थिक, पारिवारिक समस्याले   उत्प्रेरक भूमिका निर्वाह गरिरहेका हुन्छन्। 

नेपालमा आत्महत्याको कारणबारे धेरै अध्ययन हुन नसकेतापनि जति अध्ययन भएका छन्, त्यसको आधारमा भन्ने हो भने समयमा उपचार हुन नसकेको मानसिक समस्यालाई आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ। 

यसबाहेक  जीर्ण रोग, आफन्तको मृत्यु, बढ्दो एकल जीवन , वैदेशिक रोजगारका सामाजिक असर, असफल प्रेम, लागूऔषध, परीक्षामा असफलता, धार्मिक भावना, क्षणिक आवेग, दाइजो प्रथा जस्ता पक्षलाई नेपालमा हुने आत्महत्याका  कारणको रुप लिन सकिन्छ। 

पछिल्ला वर्षमा  सामाजिक र राजनीतिक अन्योलताले बढेको डिप्रेसनको  कारण अबका  केही वर्ष नेपालमा आत्महत्या अझ बढ्न सक्ने अनुमान लगाउन सकिन्छ।
 

आत्महत्याका पूर्व संकेत

प्रत्येक  आत्महत्याका घटना क्षणिक  आवेगमा आएर गरेको जस्तो देखिएता पनि यो आत्महत्याको बारेमा व्याप्त भ्रम मात्र हो। अधिकांस आत्महत्याहरु योजनावद्ध रुपमा भएका हुन्छन्। 

एक अध्ययन अनुसार आत्महत्याका घटनामा  ७० प्रतिशतभन्दा बढीले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन्। उनीहरुले आफ्नो समाज परिवार साथीभाइसँग  ती   संकेत कुनै न कुनै मध्यमबाट  प्रस्तुत गरेका हुन्छन्।

आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छासँगै  उसको  खुसी हुने   इच्छासमेत गाँसिएको हुन्छ।  आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन्। सहानुभूतिको आशा  गरिरहेका हुन्छन्। उनीहरुको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ।

मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ। आत्महत्या गर्नेको उदेश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पीडाको  अन्त्य गर्नु हो। पीडा  अन्त्यको लागि उसले त्यो बाटो रोजेको हुन्छ।

यदि उसले आफ्नो पीडा कसैलाई  सुनाउने वातावरणको सिर्जना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। तसर्थ आत्महत्या गर्न चाहने व्यक्तिले गरेको संकेत  बुझ्न सकियो र त्यसलाई गम्भीरतापूर्वक  लिन सकियो भने आत्महत्या नियन्त्रण गर्न सकिन्छ। 
 

आत्महत्या नियन्त्रणको क्षेत्रमा हाम्रो समस्या

नेपालमा आत्महत्या नियन्त्रणमा सबैभन्दा ठूलो समस्या तथ्यांकको अभाव हो। नेपालमा  भएको तथ्यांक  अहिले पूर्ण रुपमा नेपाल प्रहरीको तथ्यांकमा निर्भर छ।
 
नेपालमा मृत्यु  दर्ता आवधिक  गर्ने नियम भएतापनि यो पूर्ण रुपमा लागू हुन सकेको छैन। तसर्थ प्रहरीमा  आइपुग्ने आत्महत्याका घटना बाहेकका  घटना तथ्यांकमा समावेश  हुन सकेको छैन।

आत्महत्याको प्रयासका घटनाको बारेमा हामीसँग  कुनै तथ्यांक  नै छैन। साधारणतया पूर्ण आत्महत्या गर्नेको संख्या  भन्दा आत्महत्याको प्रयास गर्नेको संख्या  २० गुना बढी हुने अनुमान लगाउने गरिन्छ।

ठोस आधारको  अभावमा यसको गम्भीरताको मापन  भनेको पत्रपत्रिकामा छापिने समाचार मात्र हुन्।

अर्को समस्या भनेको सरकारी कार्ययोजनाको अभाव हो। कूल  बजेटको मुस्किलले ७ प्रतिसत प्राप्त हुने  स्वास्थ्य बजेटमा मानसिक  स्वास्थ्यमा प्राप्त हुने बजेट भनेको सम्बन्धित  कर्मचारीको  तलब र प्रशासनिक  खर्च मात्र हो।

यस विषयमा कुनै पनि अनुसन्धान सरकारी तर्फबाट हुन सकेको छैन । भएका केहि सिमित  नीति नियम भनेका कागजी उपलब्धिमा सीमित छन्।

मानसिक  रोगको बारेमा जनमानसमा रहेको मिथ्यालाई अर्को समस्याको रुपमा  लिन सकिन्छ। पढेलेखेका व्यक्ति समेतले आत्महत्यालाई व्यक्तिगत कायरताको रुपमा लिने गरेको देखिएको छ। आत्महत्या भनेको एउटा मनोरोग हो, यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा  जनमत छैन।

सामान्य ठेस लाग्दा हतारिएर अस्पताल पुग्ने व्यक्ति वर्षौं  तनाव र दु:ख हुँदा मनोविज्ञसित पुग्दैन। न त उसलाई उसका साथी र परिवारले मनोविज्ञकहाँ जान  सल्लाह दिन्छन्।

मानसिक  रोग गरिबीको कारणले लाग्छ भन्ने परिपाटी रहेको छ। सामाजिक र आर्थिक रुपमा सम्पन्न हुनेलाई मानसिक  रुपमा खुसी र स्वस्थ  मान्नेको संख्या  ठूलो छ।

मेरो अनुभवमा  नेपालमा बढेको आत्महत्या गरिबीसँग  सम्बन्धित छैन। यो नितान्त हाम्रो सामाजिक मनोविज्ञानसँग  सम्बन्धित छ। समाज रुपान्तरणको उत्सर्गमा भएको हाम्रो समाजले  यो क्षेत्रमा थप सचेतना नदेखाए अबका वर्षमा  आत्महत्याको दृष्टिकोणले अझ घातक साबित हुनेछन्।

अर्को मूल समस्या भनेको ग्रामिण क्षेत्रमा मानसिक  स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव हो। जुन वास्तवमा हाम्रो स्वास्थ्य क्षेत्र कै समस्या हो। यो समस्यालाई तत्काल सम्बोधन गर्ने हो भने अहिले ग्रामिण क्षेत्रको स्वास्थ्य धानेका ग्रामिण  स्वास्थ्य कार्यकर्तालाई परामर्सदाताको रुपमा परिचालित  गर्नुपर्ने देखिन्छ।
 
जसरी सुरक्षित मातृत्वको क्षेत्रमा  उनीहरुको  योगदान छ, त्यसरी नै  उचित तालिम प्रदान गर्ने  हो भने आत्महत्या नियन्त्रणमा ठूलो सफलता हासिल गर्न सकिने देखिन्छ।
 
आत्महत्या नियन्त्रण गर्न सकिने समस्या हो। यसबाट पीडित हुन सक्ने व्यक्तिको पहिचान गर्नु हाम्रो प्रमुख चुनौति हो। त्यस्ता व्यक्ति हाम्रो समाजमा छन् भने उनीहरुको पहिचान गरी उनीहरुलाई मनोविज्ञसम्म पुर्‍याउने प्रयास गरौँ। समाज, परिवार र आवश्यकता  अनुसारको परामर्श उपचारले हामी आत्महत्यालाई रोकथाम गर्न सक्छौ।
 
(लेखक क्लिनिकल मनोविज्ञ हुन्। उनले जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथाम अभियान अन्तर्गत निशुल्क टेलिफोन परामर्स सेवा सञ्चालन गरिरहेका छन्। )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell