PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

क्यान पदाधिकारीले सरकारको निर्णय नमान्ने, निर्णय फिर्ता नलिए अदालत जाने



क्यान पदाधिकारीले सरकारको निर्णय नमान्ने, निर्णय फिर्ता नलिए अदालत जाने

  • पहिलोपोस्ट-
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले क्यानको कार्यसमिति विघटन गर्न सरकारले गरेको निर्णय नमान्ने बताएका छन्। उनीहरुले सरकारको निर्णयविरुद्ध सर्वोच्च जाने बताएका छन्।

मन्त्रिपरिषद्को कात्तिक २० गते बसेको बैठकले क्यान विघटन गरी विनयराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरेको थियो। तदर्थ समितिका उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेश सिलवाल रहेका छन्।
 
शनिबार नक्सालको होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै विघटित क्यानका पदाधिकारीहरुले खेलकूद मन्त्रीको ठाडो आदेशमा 'गुण्डागर्दी शैली'मा क्यानको निर्वाचित बोर्डलाई विघटन गरेको आरोप लगाए।

'क्यान एउटा स्वायत्त संस्था हो। यसमाथि खेलकूद मन्त्रालयले नियम विपरित हस्तक्षेप गरेको छ,' क्यानका सदस्य दिपक साउदले भने, 'विघटनको निर्णय फिर्ता नभएमा हामी अदालत जान्छौं।'
 

'पत्र नआएकोले कानुनी उपचारमा जान सकिएन'

मन्त्रिपरिषदले निर्णय गरिसकेको भए पनि राष्ट्रिय खेलकूद परिषद तथा क्यानमा कुनै लिखित पत्र नआइसकेको उनीहरुले बताए। लिखित पत्र प्राप्त नभएकोले आफुहरु कानुनी उपचारको लागि जान नसकेको पनि पदाधिकारीले बताए।

उनीहरुले खेलकूद मन्त्रीले सरकारले नियुक्ति गर्ने राखेपका सदस्य सचिवलाई हटाउन नसकेको रिस क्यानमा पोखेको आरोप समेत लगाए। 'खेलकूद मन्त्रीले राखेप सदस्यसचिवलाई हटाउन सक्नुभएन,' उपाध्यक्ष दिपक कोइरालाले भने, 'उहाँलाई हटाउन नसकेको रिस क्यानमा पोख्नुभएको छ।'
 
नेपाल क्रिकेट संघको विधानअनुसार निर्वाचित कार्यसमितिलाई विघटन गर्नु खेलकुद विकास ऐन २०४८ र नियम २०४९ तथा कानुनी राज्य र कानुनी व्यवस्थाको मर्म र भावना विपरित रहेको उनीहरुको तर्क छ। सरकारको निर्णयलाई गैरकानुनी तथा गैरलोकतान्त्रिक भन्दै निर्णय बदर गराउन आइसीसी तथा एसीसी समक्ष जाहेर गर्ने उनीहरुले बताए।
 
पत्रकार सम्मेलनमा विघटित क्यान कार्यसमितिका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्षद्वय केशव घिमिरे र दिपक कोइराला, कोषाध्यक्ष दिवाकर घले, सदस्यहरु सञ्जिव पाण्डे, रञ्जित तामाङ, अमितवीर पाण्डे लगायत थिए।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएका क्यानका सदस्यहरु किरण राणा र ठाकुरप्रताप थापा समेत पत्रकार सम्मेलनमा उपस्थित थिए। अख्तियारले गत जेठ २५ गते अध्यक्ष टंक आङबुहाङसहित १० जना पदाधिकारीलाई भ्रष्टाचार मुद्दा चलाएको थियो।

'संसदमा त हात हालाहाल हुन्छ' 

पत्रकार सम्मेलनमा विघटित पदाधिकारीहरुले केही रमाइला तर्क पनि गरे। पत्रकारले विघटन नहुञ्जेल झगडा गर्ने पदाधिकारी विघटन हुने बित्तिकै मिल्नुभएछ नि भन्ने प्रश्नको जवाफ दिँदै सदस्य दिपक साउदले भने, 'संसदमा हेर्नुस् त, पुरै हात हालाहाल हुन्छ। एकै ठाउँमा बसेपछि कुरा बाझिनु सामान्य हो तर बोलचालै बन्द वा पानी बाराबार छैन।' 
 
उपाध्यक्ष दिपक कोइराला भने खेलकूद मन्त्री विरुद्ध आक्रामक रुपमा उत्रिए। उनले भने, 'खेलकूद मन्त्री पुरुषोत्तम पौडेललाई क्यानमा आउने चाख रहेको देखिएको छ। त्यसैले उहाँ यहाँ आफ्नो पकड जमाउन चाहनुहुन्छ। क्यानमा आउनै मन लागेको भए सिधै आए हुन्छ।'

उनले प्रधानमन्त्री सुशील कोइराला बिरामी भएको प्रसंग निकाल्दै अहिलेका कार्यबाहक अध्यक्ष श्रीनिवास राणा अस्वस्थ्य रहेको अवस्थामा क्यानको बोर्ड विघटन गरेर मन्त्रीले मानवीय संवेदनाको ख्याल नगरेको आरोप लगाए।
 
उपाध्यक्ष कोइरालाले क्यानको निर्वाचित बोर्ड हटाएर बनाइएको तदर्थ समितिमा ४० वर्षसम्म बिना निर्वाचन मनोमानी ढंगले क्यान सञ्चालन गरेका व्यक्ति ल्याइएको आरोप समेत लगाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell