PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नासु कार्कीले लुकाएको थप ५१ लाख घुस रकम अख्तियारद्वारा बरामद



नासु कार्कीले लुकाएको थप ५१ लाख घुस रकम अख्तियारद्वारा बरामद
शुक्रवार पक्राउ परेका तीनजना।

काठमाडौं : शुक्रवार २१ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरीवंश कार्कीले साथीको घरमा थप ५१ लाख लुकाएर राखेको खुलेको छ।

अनुसन्धानका क्रममा कार्कीले त्रिभुवन विमानस्थल जाँचपास परीक्षण कार्यालयका नासु सुरेश थपलियाको सुकेधारास्थित घरमा ५१ लाख दुई सय रुपैयाँ लुकाएर राखेको फेला परेको हो।

कार्कीसहित दुईजना भन्सार एजेन्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार २१ लाख ४० हजार घुस रकम सहित पक्राउ गरेको थियो।

शनिवार बिहान अख्तियारको टोलीले थप रकम सहित नासु कार्कीकी श्रीमती लक्ष्मी लम्साल कार्की र नासु थपलियालाई पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

शुक्रवार घुस लेनदेनको सूचना पाएपछि आयोगबाट खटिएको विशेष टोलीले लेनदेन भएको २१ हजार ४० हजार नगद रकम, विमानस्थल भन्सार कार्यालयको बा ६ च ७८७४ नम्बरको स्करपियो जिप र भन्सार एजेन्टले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको आइ-१० सवारी साधनहरु बरामद गरेको थियो।

गैरकानुनी रुपमा सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै उनीहरुले घुस मागेको अख्तियारको दाबी छ।

आज बरामद भएको रकमसहित यो प्रकरणमा जम्मा ७२ लाख ४० हजार दुई सय रकम बरामद भएको अख्तियारले जनाएको छ।

भन्सार एजेन्ट अधिकारी खोटाङ जिल्ला, याम्खा-६ का स्थायी बासिन्दा हुन् भने अर्का भन्सार एजेन्ट भट्टराई खोटाङ लामिडाँडा-७ का स्थायी बासिन्दा हुन्।

अख्तियारले विमानस्थल भन्सार कार्यालयका सवारी चालक पुरुषोत्तम थापालाई समेत अनुसन्धानको लागि हिरासतमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell