PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किन चल्यो कबड्डी कबड्डी?



किन चल्यो कबड्डी कबड्डी?

  • विष्णु शर्मा -
‘लुटेरा’लाई क्रिटिक्सले झुर भने। फिल्मले बक्सअफिसमा पैसा छाप्यो। ‘नाइँ नभन्नु ल’लाई क्रिटिक्सले झुर भने। फिल्मले पैसा छाप्यो। ‘वडा नम्बर ६’ लाई क्रिटिक्सले झुर भने। फिल्मले पैसा छाप्यो। ‘कबड्डी कबड्डी’लाई क्रिटिक्सले झुर भने, फिल्मले पैसा छाप्यो। नाइँ नभन्नु ल, लुटेरा, वडा नम्बर ६ चल्छ भने कबड्डी कबड्डी पनि चल्छ। तर, चल्नु र राम्रो बन्नु भिन्न यथार्थ हुन्।
 
तीन करोड ग्रसको दौडमा बुर्कुसी मारिरहेको ‘कबड्डी कबड्डी’ किन चल्यो भनेर व्याख्या गर्नु समीक्षाको उद्देश्य हुनेछ। फिल्म पैसा हो वा कला भन्ने विश्वव्यापी बहस अहिले नेपाली बक्सफिसमा समेत देखिएको छ। अहिले दर्शक र क्रिटिक्स विभाजित छन्। त्यो विभाजनको कारण खोतल्दा कथ्य संरचनाको विश्वव्यापी मूल्य पद्धति र साहित्यलाई ग्रहण गर्ने समाजको दृष्टिकोण जिम्मेवार देखिन्छ। अस्कर अवार्ड र दर्शकबीचको दूरी पछिल्ला वर्ष बढ्न थालेको संकेत ज्वलन्त छ।
 
‘कबड्डी कबड्डी’को कथा भन्ने शैली दृश्यभन्दा श्रव्य भाषा लक्षित छ। रेडियो ड्रामाजस्तो न्यारेसनमा दर्शकले मजा लिन्छन्, सुसेल्छन्, हाँस्छन्, खित्का छाड्छन् र संवेदनाको अन्तक्रिया गर्छन्। लिखित नाट्य संरचनाको पृष्ठभूमिबाट दृश्यभाषामा आएका उपेन्द्र सुब्बाको लेखनी वाचाल लाग्छ। दृश्य साहित्यलाई पूर्णरुपमा नकारेको यो सिनेमाको व्याकरण जति कमजोर छ, उति नै दर्शकका लागि प्रिय। तर, किन यस्तो भयो?
 
यसो हुनुमा अरस्तुको पोएटिकमा आधारित थ्री एक्ट स्ट्रक्चर र भरतको नाट्यशाष्त्रले विधान गरेको कथ्य संरचना अँगालेको बलिउडको शैली सापटी लिनुमा फिल्म जिम्मेवार छ। निर्देशक रामबाबु गुरुङ यसमा उति जिम्मेवार छैनन् जति भरत नाट्यम शैलीलाई आत्मसात गर्ने नेपाली दर्शकको ड्रामाटिक भ्यालु जिम्मेवार छ। यो समस्याको केन्द्र ती दुबै कथ्य संरचनामा जेलिएको नेपाली संस्कृति हो। यो स्टाइलको प्रवृत्ति हेजेमोनीक हुन्छ। जसबाट उम्कन हम्मे पर्ने देखिन्छ। किनभने नेपाली समाज साहित्यलाई स्वीकार्दैन। अनामनगर, बागबजार र अश्लेषा इन्टरटेनमेन्टतिर पोखिने प्रवृत्ति हुन् यी। समस्या संस्कृतिमा छ।
 
‘कबड्डी कबड्डी’ले नेपाली समाजको चरित्रजस्तो छ, उस्तै उत्पादन पस्किएको हो। यसमा भ्रम पाल्नु जरुरी छैन। यसलाई अर्थशाष्त्रको भाषामा माग र आपूर्तिको नियम भन्न मिल्छ। डिमान्ड एन्ड सप्लाइको आधारमा बनाइने फिल्म यथास्थिति हुन्छ। यिनले समाजलाई गाइड गर्दैनन्। समाजभित्रै बसेर ‘फिल्म समाजको ऐना हो’ भनेर म्याद सकिएका परिभाषा बुन्छन्। अघिल्लो समीक्षामा भनिएजस्तै नेपाली सिनेमा चाँडोभन्दा चाँडो निश्चल बस्नेत र ‘लुट’को ह्याङओभरबाट मुक्त हुनु नितान्त जरुरी छ।
 
‘निश्चल प्रवृत्ति’ भनेको समाज जस्तो छ, उस्तै रेप्लिका उतार्नु हो। यो दर्शनले समाजलाई निर्देशित गर्दैन। जीवविज्ञानको तथ्यजस्तै कुखुरा पहिले कि अण्डा भन्ने अन्त्यहीन बहसलाई निरन्तरता दिनु यो कथ्य संरचनाको दर्शन हो। किनभने ‘कबड्डी कबड्डी’मा जसरी संवादका ‘पन्चलाइन’ बुनिएको थियो। दर्शकले पात्रको अभिनयमा भन्दा पनि उसले बोल्ने संवादमा अन्तक्रिया गर्दै थिए। अब मेकर र फिल्ममाथि होइन, दर्शकीय समीक्षा गर्नु जरुरी भैसकेको छ। किनभने फिल्मले होइन, दर्शकले फिल्मको स्वाद निर्माण गर्दैछन्। यो ‘एन्टिथेसिस’ नेपाली फिल्मको सबैभन्दा ठूलो थ्रेट हो।
 
‘कबड्डी कबड्डी’को सबैभन्दा ठूलो बौद्धिक असफलता भनेको सूत्र अस्वीकार गर्ने बहानामा व्याकरणलाई रिजेक्ट गर्नु हो। ‘इन्टिलेक्चुअल फेइलर’ यही हो। जसले गर्दा फिल्म होइन, संवाद नायक बन्छ। दयाहाङलाई अभिनेता होइन, नायकको रुपमा पूजा गरिन्छ। जसले गर्दा सिनेम्याटिक संचार स्थापित हुँदैन बरु रेडियो संचार स्थापना हुन्छ। किनभने निर्माता बजारको माग र आपूर्तिको दबाबमा फिल्म निर्माण गर्छन्, फिल्म ब्लकबस्टर हुन्छ र व्याकरणसँग दूरी बढ्छ।
 
‘कबड्डी कबड्डी’ रिलिजपूर्व दर्शकले सोचेका थिए – हलिउड र बलिउड मनोविज्ञान विच्छेद गर्ने यो अभूतपूर्व अवसर हो। जसै, फिल्मको निर्धारित प्रदर्शन समय सकियो, माथिंगलमा उनै अरस्तु र भरत नाट्यम संरचनाको स्टोरी टेलिङ घुम्न थाल्यो। फिल्मको अघिल्लो सिक्वेलमा अब नेपाली सिनेमा न्यारेसन युरोपेली मोडेलतर्फ अघि बढ्ने अनुमान गरिएको थियो, तर विपरित भैदियो। युरोपेली मोडलतर्फको संक्रमणको अर्थ पर्दामा स्टारभन्दा पात्र सशक्त हुनु हो।
 
नेपाली फिल्मको सौन्दर्य शाष्त्र अहिले मिडल क्लासले घेरेको बजारबाटै निर्देशित छ। किनभने यो आर्थिक वर्ग बहुल बजारमा माक्र्सले भनेजस्तै संख्याले गुण दिने अवस्था आउन निकै मुस्किल पर्छ। यस्तो भन्दैमा कबड्डी कबड्डीले पछ्याएको सिन्थेसिसलाई मान्नुपर्छ भन्ने छैन। हामीसँग दोख, छायाँ, कालोपोथी, त्यान्द्रोजस्ता केही अपेक्षित फिल्म छन्, जसमाथि अबको न्यारेसन केही हदसम्म टिकेको छ।
 
अन्त्यमा यस समीक्षाको निष्कर्ष भनेको कबड्डी कबड्डी नेपाली समाजको रेप्लिका नै हो। समाजजस्तो छ, उस्तै पानीचित्र कोरिएको हो। तर, समाज बदल्न अब सिनेम्याटिक संचार निर्माण गर्ने सिनेमा बनाउनु नितान्त जरुरी भैसकेको छ। यसका लागि दर्शकले साहित्यलाई स्वीकार्नैपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell