PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​यो जाडोमा लाखौँ बालबालिका मर्न सक्छन् : युनिसेफले दियो नेपालमा संकटको चेतावनी



​यो जाडोमा लाखौँ बालबालिका मर्न सक्छन् : युनिसेफले दियो नेपालमा संकटको चेतावनी
फाइल फोटो : युनिसेफ

काठमाडौं : संयुक्त राष्ट्र संघीय संस्था युनिसेफले  इन्धन, खाना, औषधी र खोपको बढ्दो अभावले यो वर्षको जाडो महिनामा नेपालका पाँच वर्षमुनिका तीस लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्यु समेत हुनसक्ने जोखिममा रहेको चेतावनी दिएको छ।
 

कारण

युनिसेफले भारतको नाम नलिई नाकाबन्दी नभनी यसको कारण यस्तो जनाएको छ- 'नेपालले नयाँ संविधान जारी गरेपछि भएको अशान्त र प्रदर्शनले दश साताभन्दा लामो समयदेखि देशको दक्षिणी नाकामा अत्यावश्यक सामग्रीको आयातमा निकै अवरोध भइरहेको छ।'

प्रभाव

युनिसेफले भनेको छ- 'विभिन्न विकासक्षेत्रमा रहेका सरकारका औषधी गोदाममा क्षयरोगविरुद्ध लगाइने बीसीजी खोप समाप्त भइसकेको छ। अन्य खोप र एन्टिबायोटिकको मौज्दात पनि निकै कम भएको छ।'
 

भूकम्पप्रभावितलाई झन् कठोर

युनिसेफका अनुसार गत वैशाखमा गएका दुई वटा ठूला भूकम्पको असर भोगेका बालबालिका अहिलेको अवस्थामा सबैभन्दा नराम्रोसँग प्रभावित हुन सक्छन्। ती धक्काहरुबाट प्रभावित दुई लाखभन्दा धेरै परिवारहरु अझै पनि समुद्री सतहबाट १,५०० मिटरभन्दा माथिको उचाईंमा रहेका अस्थायी आश्रयमा बसिरहेका छन्। त्यहाँको मौसमी अवस्था अहिलेको जाडोमा झन् कठोर हुँदैछ ।
 
“अत्याधिक जाडो, कुपोषणको जोखिम, जीवन जोगाउने औषधी र खोपको अभाव एकैचोटी थपिँदा यो जाडो थप घातक हुन सक्छ”, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले भने, “हालै गरेको नेपाल भ्रमणमा मैले धेरै भूकम्प प्रभावितहरुले विताइरहेको जोखिमपूर्ण दैनिकी देखेको छु। उनीहरुले पर्याप्त खानेकुरा, चीसोबाट जोगिन आवश्यक सामग्री र उचित स्वास्थ्य हेरचाहको अभावमा अहिले नयाँ विपद् भोगिरहेका छन् ।”

दाउराको धुँवाले निमोनियाको जोखिम

अहिलेको इन्धन अभावले आगो बाल्न दाउरामा भर पर्नुपर्ने अवस्था बढ्दै जाँदा घरभित्र धुँवाले हुने प्रदूषण बढाइरहेको छ। यसले निमोनियाका घटनाहरु बढाउन सक्छ । गत वर्ष मात्रै पाँच वर्षमुनिका आठ लाखभन्दा धेरै बालबालिका निमोनियाबाट प्रभावित भएका थिए, जसमध्ये करीव पाँच हजार जनाको मृत्यु भएको थियो ।
 

जन्मिन लागेका १ लाख २५ हजार शिशु विशेष जोखिममा

युनिसेफका अनुसार आगामी दुई महिनामा नेपालमा जन्मिने अनुमान गरिएका एक लाख २५ हजार नवजात शिशुहरु पनि विशेष जोखिममा छन्। इन्धन अभावले देशभरका एम्बुलेन्स सेवाहरु प्रभावित भएका छन । यसले अस्पताल र स्वास्थ्य संस्थाहरुमा हुने सुत्केरीको संख्या घटाएको छ।

न्यानो बनाउनका लागि आवश्यक इन्धनको अभावले आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न पूर्ण रुपमा सक्षम नभएका नवजात शिशुहरु जाडोले अत्याधिक प्रभावित हुने र मृत्यु समेत हुन सक्ने जोखिममा छन् ।
 
“देशका बालबालिका र उनीहरुका परिवारले भोगिरहेको अवस्था दिन दिनै विग्रदैं गइरहेको छ र आगामी जाडो महिनाहरुमा अझ विग्रनेछ”, युनिसेफको दक्षिण एसिया क्षेत्रीय निर्देशक क्यारिन हुल्शफले भने, “बालबालिका रोग, जाडो र भोकबाट जोगिनुपर्छ।
 

 तत्काल सम्बोधन गर

युनिसेफले सबै पक्षलाई नेपालमा अत्यावश्यक सामग्रीको आयातमा भएको अवरोधलाई कुनै विलम्ब बिना तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell