PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कस्तो छ कबड्डी कबड्डी ? समीक्षा :हिरोविरुद्ध हिरो



कस्तो छ कबड्डी कबड्डी ? समीक्षा :हिरोविरुद्ध हिरो

  • विष्णु शर्मा -
जब राजनीतिमा प्रेम घुस्छ तब सिद्धान्त नक्कली हुन्छ। फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुनसक्छन्।
 
जब आफन्तमा राजनीति घुस्छ तब हार्दिकता गौण बन्छ र सुरु हुन्छ अंकगणित। फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुन सक्छन्।
 
जब खेलको नियम तोड्ने बेला आउँछ तब खेलको नियम राम्रोसँग बुझ्नुपर्छ। फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुनसक्छन्।
 
सहरमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’ हेर्दा मलाई लाग्यो –‘नेपाली सिनेमा अब ‘लुट’ र निश्चल बस्नेतको ह्याङओभरबाट मुक्त हुनैपर्छ। जब सोचको रिसाइकल हुन छाड्छ, हामी सिर्जनात्मक प्रयोगका सिपाही बन्छौं।’
 
२ घन्टा १० मिनेट लामो फिल्मले हिमाल पारिको जिल्ला मुस्ताङको थकाली समुदायमा व्याप्त फुपुचेला बिहे गर्ने चलन र संसदीय चुनावको रस्साकस्सीको कथा पेश गर्छ। हिमाली सौन्दर्यको मानवीय निर्ममता फिल्मको आख्यान हो।
 
तर, के आख्यानसँग संरचना, मनोविज्ञान, आञ्चलिकता र दर्शन हुँदैन? अवश्य पनि हुन्छ। तर, ‘कबड्डी कबड्डी’ले साहित्य सिद्धान्तलाई अस्वीकार गरिदिएको छ। उपेन्द्र सुब्बा र रामबाबु गुरुङजस्ता साहित्यका ‘हु इज हु’बाट भएको यस्तो उत्पादनलाई कसरी लिने?
 
एकछिन पात्र चर्चा गरौं। मैंयाको लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने काजी (दयाहाङ राई), प्लेब्वाइ शैलीको तर हृदयदेखि माया गर्ने बमकाजी (सौगात मल्ल), सहरीया युवकलाई मनपार्ने मैंया (रिस्मा गुरुङ) र छोरीलाई राजनीतिको दाउमा राख्ने मामा फिल्मका मुख्य पात्र हुन्। कथालाई यी पात्रले लिड गर्छन्। तर, यी सबै पात्रको रङ खैरो छ। श्यामश्वेत होइन।
 
पात्रबीच द्वन्द्वको विकास नहुनु समस्या हो। यो ‘जोखिम तत्व’ पात्रबीच छैन। काजी र बमकाजीलाई ग्रे क्यारेक्टरको रुपमा स्थापित गर्न खोजिएको छ तर, खैरो पात्रको स्थापना साहित्यको जटिल आयाम हो। केन्द्रीय पात्रको रुपमा दयाहाङसामु द्वन्द्व र सम्बन्धको विकास उति छैन। सौगात थकाली युवकको रुपमा मिस्ड कास्ट लाग्छन्। विजय बराल र रिस्मा बस्नेतको अभिनय सुन्दर छ। 
 
सिक्वेलको लाभ भनेकै पात्र स्थापनामा झन्झट गर्नु पर्दैन। उपेन्द्र र रामबाबुले ‘पन्च लाइन’मार्फत जसरी दर्शकलाई इन्गेजेमन्ट तुल्याएका छन्, ‘कबड्डी कबड्डी’को बलियो पक्ष हो यो। प्रेममा राजनीति त घुसेको छ तर, फिल्मको केन्द्रीय द्वन्द्‍व नै हो। राजनीतिलाई सहायक द्वन्द्वका रुपमा अघि सारिएको छ। प्रेमको स्थानमा राजनीतिलाई केन्द्रीय द्वन्द्व बनाएको भए संघर्षको तह खारिने थियो ।
 
‘काउन्टर आइडिया’ फिल्ममा बलियो छैन। प्रोटागोनिस्टको गोल केटी पाउनु हो तर, अवरोध तेर्‍स्याइएको छैन। द्वन्द्वको पूर्ण विकास नहुँदै क्राइसिस सिर्जना गरिएको छ।
 
फिल्मलाई कथ्य संरचनामा बनाएको भए सुन्दर लाग्थ्यो। नाट्य संरचनाले सिर्जना गरेका संवादजन्य कमेडी (पन्च लाइन)ले दर्शकलाई काउकुती त लगाउँछ तर फिल्मको व्याकरण यसको रुप होइन। थकाली आञ्चलिकता टपक्क टिप्न जुन प्रयत्न गरिएको छ, स्क्रिप्टमार्फत् आख्यान संरचनामा उति नै मिहेनत गर्नु जरुरी थियो।
 
फिल्मको आबद्ध तत्व (एसोसिएसन फ्याक्टर) भनेको साना र हल्का हाँसोका गेडा नै हुन्। दर्शकले साना तर, गहकिला संवादमा रमाउन मजा मान्छन् । हिमाली गाउँको हरियाली, पर्यावरण र जनजातीय माहौलले दर्शकलाई स्वाद दिन्छ। समुदायको कथा तपाईंलाई मनपर्छ भने साना कुराले पनि तपाईंलाई हँसाउन सक्छन्।
 
त्यसमाथि हिरो भर्सेस हिरो पनि हो यो सिनेमा। यस अर्थमा ‘कबड्डी कबड्डी’ले हिरोविरुद्ध हिरो उभ्याएको छ। किनभने कहिलेकाहीँ खलनायकहरु हिरोभन्दा ज्यादा असल र बुद्धिमान पनि हुन्छन्। हलिउडले पात्र र कथा भन्ने शैलीमा यस्तो परिवर्तन ल्याइसकेको छ।
 
तपाईं फिल्मलाई सोच्नुहुन्न, मात्र हेर्नुहुन्छ भने ‘कबड्डी कबड्डी’ तपाईंका लागि योग्य हुनसक्छ। साहित्यका खुखांर उपेन्द्र सुब्बा र रामबाबु गुरुङले सोच्ने क्राफ्ट दर्शकलाई अपेक्षितरुपमा नदिनु अस्वभाविक हुन जान्छ। फिल्मलाई हेर्नु र सोच्नु अलग कुरा हुन्। फिल्मको विकासका लागि पछिल्लो तत्व जरुरी हुन्छ। तर, यसका लागि ‘लुट’ र निश्चल बस्नेतको ह्याङओभरबाट नेपाली फिल्म चाँडोभन्दा चाँडो मुक्त हुनैपर्छ।
 
  • फिल्म : कबड्डी कबड्डी
  • निर्देशक : रामबाबु गुरुङ
  • कलाकार : दयाहाङ राई, सौगात मल्ल, रिस्मा गुरुङ
  • जानरा : सोसल ड्रामा
  • अवधि : २ घन्टा १० मिनेट 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell