PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

नर्वे, नेपाल र रेल सपना


उषाकिरण रेग्मी-/पहिलोपोस्ट

नर्वे, नेपाल र रेल सपना
नर्वे विश्वकै धनी राष्ट्रहरु मध्ये अग्रस्थानमा छ। ठीक यसको उल्टो, नेपाल एसियाको दोस्रो गरीब। सन् २०१६ मा नर्वेको गार्डमन विमानस्थलमा ओर्लने बित्तिकै रेल चढेर राजधानी ओस्लो पुगेँ। नेपालमा नभएकाले पहिलो पटक रेल चढ्दै थिएँ। रेल कतिबेला आउँछ भनेर ‘डिजिटल स्क्रिनमा’ लेखिएको थियो। रेल १ मिनेटको पनि फरक नपारी आयो र समयमै ओस्लो पुग्यो। पछि थाहा पाउँदै गएँ समयको पालना हरेक ठाउँमा सबैले गर्ने रहेछन् यहाँ। तर, उता मेरो देशमा यस्तो छैन। यता ‘अग्रेजी टाइम’ भनेको जस्तो हाम्रोमा ‘नेपाली टाइम’ भन्छन् र यसको अर्थ हुन्छ पूर्व निर्धारित समयमा काम नहुने भए पनि ढिलागरी।
 
यो पहिलो विदेश यात्रा पनि थियो। निकै उत्साहित थिएँ। मान्छेका गतिविधि, भवन, बाटोघाटो, सबै नियालिरहेकी थिएँ। ओस्लो राजधानी भएर पनि मानिसहरुको भिडभाड ज्यादै कम थियो। मुल सडक र सडक पेटीहरु खाली। पछि बुझ्दै गएँ नर्वेको जनसङ्ख्या ५० लाखमात्र रहेछ। म यस्तो देशबाट आएको थिएँ, जहाँ राजधानीमा मात्र ४५ लाख मानिस अटाएका छन्। नेपालमा सडक, चोकहरु, बस बिसौनी, किनमेल गर्ने बजारमा सधैजसो भिडभाड हुन्छ। सार्वजनिक यातायतमा आरामसँग चढेर समयमा गन्तब्यमा पुगेको दिन म आफूलाई भाग्यमानी मान्थेँ, नेपालमा। सार्वजनिक यातायतमा सिट पाउँदा एउटा सानो युद्ध जिते झै हुने। यता राजधानी ओस्लोमा ८०.५ प्रतिशत मानिसले सर्वसुलभरुपमा सार्वजानिक यातायात प्रयोग गर्ने रहेछन्। यो २०१४ को तथ्याङ्क हो। विश्वमा दोस्रो तेल उत्पादन गर्ने देश भएर पनि यहाँका जनता घरमा कार राखेर सार्वजानिक यतायात चढ्नमै खुशी छन्। सरकारले तेलमा धेरै कर लगाएर अप्रत्यक्ष रुपमा सार्वजनिक यातायात प्रयोग गरुन् भन्ने चाहन्छ। यो लागू भएको पनि छ। सबैले ट्राफिक नियमको पालना गर्छन भन्दा फरक पर्दैन। मतलब, यहाँको यात्रा सुरक्षित छ। धेरै मानिसहरु साइकल चढेर यात्रा गर्छन्। तर, हामीकहाँ सडक ज्यादै साँघुरा छन् अनि जनघनत्व अत्याधिक। यसको अर्थ हुन्छ, सडक, जनसङख्या र सवारीसाधनको असन्तुलित अनुपात। त्यसमाथि सडक अनुशासनको कमी त छँदैछ। र, त यात्रा असुरक्षित छ, दुर्घटना घटिरहन्छ निरन्तर।

यहाँ मानिसहरु शान्त, सफासुग्घर र चिटिक्क परेर हिँडेका देखिन्छ। आफ्नो कारणले अरुलाई असजिलो होला कि भन्नेमा सधैँ सचेत। नजानेको कुरा कोही अपरिचितले सोध्यो भने मनैदेखि सिकाइदिएको घटना धेरैपटक भोगेको छु। भेट हुँदा नचिनेकै भए पनि हाइ-हेलो भन्छन्, त्यो पनि मुसुक्क हाँसेर। मलाई यो स्वभावले खुबै प्रभाव पार्यो। यहाँका मानिसहरुसँग घुलमिल हुँदै जाँदा अनुशासित र इमान्दार भएको पाँए। यहाँका मानिसहरु आफूलाई थाहा नभएको कुरा गर्वका साथ “थाहा छैन” भन्ने रहेछन्। हामीकहाँ नजानेको कुरा पनि जानेको झै गर्छन्। यो कुरा साधारण मानिस देखि विश्वविध्यालयका प्रोफेसरमा समेत लागू हुन्छ। अरुको अगाडि नजान्ने पो भइएला कि, अर्काले यति पनि जानेको रहेनछ, कति सोझो रहेछ भन्ला भन्ने मनोविज्ञानले हामीलाई गाँजेको छ।

मलाई दुई भाषामात्र बोल्न आउँछ। अग्रेजी र मेरो मातृभाषा नेपाली। नर्वेजियन भाषा आफूले नजानेकाले कुराकानी गर्न गाह्रो होला भन्ने ठानेको थिएँ। तर, सबैले अग्रेजी बोलिदिने भएकाले धेरै सजिलो छ। युरोपमा अंग्रेजी जानेर पनि भरसक बोल्दैनन् भन्ने सुनेको थिएँ। तर, नर्वेमा भने त्यस्तो पाइन। बेलाबखत समस्या नभएको होइन। कारण मेरो अग्रेजी उच्चारण उनीहरुले कहिलेकाहीँ नबुझेर। जति पटक भने पनि मेरो उच्चारण नबुझेपछि म कागजमा लेखेर वा मोबाइलमा टाइप गरेर दिन्थेँ। अनि ‘ए यो पो’ भनेर मैले बोलेकै जस्तै तर सही उच्चारण गर्थे। र, कुराकानी अगाडि बढ्थ्यो।
 
मलाई एउटा कुराले भने चकित बनायो। म आएको बेला यहाँ समर चलेको थियो। रातको १० बजे सम्म टन्टलापुर घाम लागेको हुन्थ्यो। मानिसहरु भित्रीवस्त्रमात्र लगाएर पार्कमा एकतमासले घाम तापेका भेटिन्थे। कतै कतै उत्तानो परेर त कतै घोप्टो परेर निर्वस्त्र घाम तापेको देख्दा मलाई ‘लाज’ पनि नलागेको होइन। धेरै दिनसम्म मेरो ‘स्मार्ट’ फोनमा सुर्यअस्त रातको ११:३० र सुर्योदय बिहानको २:४५ देखेपछि म चकित झनै परेको थिएँ। जाडोमा भने घाम छिटो अस्ताउँने र ढिलो उदाउँने रहेछ। कति दिन मैले बिहान कलेज वा काममा गएर साँझ घर फर्कँदा उज्यालो नै देख्न पाइन, घामको त कुरै छोडौं। यस्तो बेला मानिसले भिटामिन ‘डी’ खाँदा रहेछन्। भिटामिन ‘डी’ घामको किरणमा पाइन्छ र मानिसलाई नभइ नहुने तत्त्व हो। भिटामिन ‘डी’को अभावमा दिमागमा सेरोटोनिङ भन्ने रसायन ननिस्कने हुँदा मानिस उदास हुने, कार्यक्षमता कमजोर हुने, ज्यादै अल्छी लाग्ने, निद्रा बढी लाग्ने हुँदो रहेछ। यसो हुँदा मानिस डिप्रेसनमा पनि जाने रहेछन्। त्यसैले जाडो याममा भिटामिन ‘डी’ खानु अनिवार्य रहेछ। नेपाल भने विश्वमै प्रतिदिन धेरै घाम लाग्ने देश भएकाले यस्तो समस्या प्राकृतिक रुपमा बेहोर्नु पर्दैन।

नर्वे र नेपालका धेरै कुरा मिल्छन्। दुवै देश उत्तरी गोलार्द्धमा पर्ने भएकाले एकै समयमा जाडो र गर्मी मौसम सुरु हुन्छ। तर, जाडोमा नर्वेमा अत्याधिक चिसो। नेपालमा हिमाली भेगमा जस्तै यहाँ लगभग ४ महिना हिउँ पर्छ। अग्ला र न्याना जुत्ता, बाक्ला ज्याकेट, गलबन्दी, पन्जा, टोपी अनिवार्य लागाउनु पर्छ। तापक्रम शून्यबाट तल झरेर माइनस १५/ २० डिग्री भइ नै रहेको हुन्छ। पूरा नर्वेभरि हिउँ नै हिउँ। सुरुसुरुमा मलाई हिउँ खुब मन पर्थ्यो। बाक्लो हिउँ कपासका भुवाजस्तै फुरफुर फुरफुर झरिरहेको बेलाको दृश्य ज्यादै रमणीय देखिन्छ। जताजतै हिउँले सेताम्मे ढाकेको देख्दा मनै फुरुङ। हिमालै हिमालको देश भनेर नेपाल विश्वभरि चिनिए पनि यस्तो रमणीय दृश्य मैले कहिल्यै देख्न पाएको थिइन। किनकि पहाडी भेगमा हिउँ पर्दैनथ्यो। जलस्रोतमा नेपाल र नर्वे दुवै धनी देश हुन्। यी दुई देशमा जलस्रोतको उपयोगमा कसले कति उपयोग गरेको छ भनेर तुलना गर्न मलाई साँच्चै लाज लगिरहेको छ। किनभने नर्वेले जलस्रोतबाट मात्रै ३२ हजार मेगावाट बिजुली निकालेको छ। तर, नेपालमा पुगिनपुगी १ हजार मेगावाट हुँदैछ। यही उर्जाको उत्पादन र प्रयोगले देखाउँछ कि सम्पन्नता र विपन्नताको भेद।

ओस्लोमा ठूला अग्ला गगनचुम्बी भवन खासै देख्न पाइँदैन। प्राय विकसित देशका शहरहरुमा ५० औँ तल्लासम्म भएका भवन,  आकासे पुलहरु ठूला ठूला ‘सपिङ सेन्टरहरु’हुन्छन्। यसलाई आलोचकहरु ‘कङक्रिटको शहर’ पनि भन्छन्। तर, नर्वेजियनहरु ओस्लोलाई कङक्रिटको शहर नभई हरित शहर बनाउन चाहन्छन्। नर्वे र नेपाल दुवै देशमा हरियाली प्रशस्तै छ। नेपालमा ४२.५ प्रतिशत जमिन जङगलले ढाकेको छ भने नर्वेमा ३३.५ प्रतिशत। सडकका ठाउँठाउँमा हरिया पार्क तथा खुल्ला चौर र केटाकेटी खेल्ने ठाँउ छन् यहाँ। 

नेपाल र नर्वेमा सामाजिक भिन्नताहरु भने धेरै छन्। जस्तै १८ वर्षको उमेर पार गरेका छोराछोरी नर्वेमा बाबुआमासँग बस्दैनन्। पारिवारिक सम्पत्तिको पुस्ता हस्तान्तरण नहुने हुनाले १८ वर्ष नाघेका सबै मेहनत र परिश्रमका साथ कामको सुरुवात गर्नुपर्ने रहेछ। त्यसैले यहाँ सबै मिहिनेतका साथ काम गरिरहेको देखिन्छ। तर, यहाँका मानिसको बचत गर्ने बानी एकदमै कम हुँदोरहेछ। देशविदेश घुम्ने, छुट्टी मनाउन जाने, किनमेल गर्ने, खानपिनका लागि रेस्टुरेन्ट जानु यिनीहरुको सौख। नर्वेजियनहरु साँझ परेपछि वाइन र बियर पिउँछन्। वाइन र बियर पिउनु उनीहरुका लागि दैनिकीको एउटा हिस्सा नै हो। उसो त पश्चिमाहरुको संस्कार नै हो यो। पिउनेक्रम शुक्रबारददेखि आइतबार साँझसम्म पुग्छ। ‘विकेन्डमा’ यहाँका युवा युवती पब,  बार तथा भट्टीहरुमा मस्त पिएर गफ्फिएका, नाच्दै झुमिरहेको देखिन्छन्। अझ अचम्म के भने यी पब, बारमा छिर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ। मलाई ती लाइन देख्दा हाम्रोमा पासपोर्ट बनाउनेको, कोरिया भाषा परीक्षा दिने मान्छेको याद आउँछ। बारभित्र पिउन जान परिचयपत्र पनि देखाउनपर्ने रहेछ। साथै धेरै पिएर मात्तिन थालेमा सुरक्षाकर्मीले सचेत गराउँने पनि रहेछन्। 

नर्वे असाध्यै धनी छ। यस मानेमा कि नर्वेको राज्यको ढुकुटीमा अर्बौं डलर सम्पत्ति छ। यहाँका मानिसहरु भन्ने गर्छन्- “नर्वेसँग अबका २०० वर्ष सम्मका लागि पुग्ने सम्पत्ति छ।”यो तेल बेचेर प्राप्त भएको सम्पत्ति हो। ‘साल्मन’ प्रजातिको माछाको उत्पादन र बिक्रीका हिसाबले नर्वे विश्वभरि परिचित छ। तेलपछि यस साल्मन माछाको ब्यापार देश धनी हुनुको दोस्रो मुख्य कारण हो।

खानामा हामी नेपाली र नर्वेजियन बीच केही भिन्नता छ। हामी नेपालीहरुको मुख्य खाना भनेको दाल भात हो। तर, नर्वेजियनहरुको मुख्य खाना पाउरोटी हो। पश्चिमाहरु गहुँ पाउरोटी, एसियामा धानभात र अफ्रिकामा मकै मुख्य खाना भएको पाएँ। यो विश्वको मोटामोटी तस्बिर हो। पश्चिमाहरु मासुमा धेरैजसो गाईको मासु ‘बिफ’ खान्छन्। यिनीहरु ज्यादै कम मात्रामा नुन, पिरो, चिल्लो र मसला भएको खाने गर्छन्। उता हामीकहाँ सागपात पकाएर खाइन्छ। तर, यहाँ सागपात सलादको रुपमा काँचै खाइन्छ। हामी बिहान बेलुका घरको भान्छामा धेरै समय दिएर आफै पकाएर खानेगर्छौं। सामान्य रुपमा सोच्दा हामी पेट तथा जिब्रोको लागि खाने रहेछौँ तर यिनीहरु पेटका लागि खान्छन् न कि जिब्रोको लागि। तर, यिनीहरु रेस्टुरेन्टमा खान रुचाउँछन्। घरमै खाना बनाएर खाँदा दोहोरो काम (घर र अफिस) भएको मान्ने रहेछन्। 

नर्वेले केही महत्वाकांक्षी योजना अगाडि सारेको छ। सन् २०२२ सम्म यहाँ विद्युतीय कारमात्र चल्नेछन्। उसो त अहिले पनि सबै रेल र “ट्राम” विद्युतीय छन्। नर्वेमा ९ सयवटा भन्दा बढी सुरुङमार्ग छन्। सडक ज्यादै व्यवस्थित र सुविधायुक्त छ। नर्वेको प्राय शहरहरुमा विद्युतीय रेल पुग्छ। यहाँ रेल सुरु भएको सन् १८९८ मा रहेछ। झण्डै १२० वर्ष अगाडि। बल्ल हामी सन् २०१७ मा रेल र मेट्रो चलाउने भनेर गफ गर्दैछौं। देशमा रेल पक्कै बन्ने छ। वर्तमान प्रम केपी ओलीले हामीलाई निराश पक्कै बनाउने छैनन्। यसमा सबै नेपालीले आशा गरेका छन्। म पनि धेरै आशावादी छु।

उत्तरी युरोपका तीन देश नर्वे, डेनमार्क र स्विडेनलाई स्क्यान्डेभियन मुलुक भनेर चिनिन्छ। यी देशमा प्रजातान्त्रिक समाजवादको मिश्रित प्रयोग भएको मानिन्छ। स्क्यान्डेभियन मुलुकहरुमा नर्वे झनै सम्पन्न छ। कामदारले जति धेरै कमाउँछ उति नै बढी कर तिर्छ। यसका साथसाथै राज्य पनि उत्ति नै कल्याणकारी भएको देखिन्छ। नर्वेमा पढ्ने विद्यार्थीले पढे बापत शुल्क बुझाउनु पर्दैन। शिक्षा स्वास्थ नि:शुल्क प्रायः छन्। सामाजिक सुरक्षा अन्तर्गतका बेरोजगार भत्ता, विरामी वा सुत्केरी हुँदाका सहयोग, बालबालिकाका लागि, बृद्धबद्धा र अशक्तका लागि राज्यले विशेष सुविधा दिएको छ। आधारभूत भौतिक सुखसुविधाका लागि सरकारले जिम्मा लिएको छ। किनमेल गर्ने पसल, खानपिन गर्ने रेष्टुरेन्ट, सार्वजानिक यतायात, स्कुल, अस्पताल, सडक, बिजुली, खानेपानी सबै नागरिकहरुलाई समान किसिमले उपलब्ध गराइएको छ।

बाटोघाटो सरसफाइ पार्कहरुको ब्यवस्थापन, केटाकेटीका लागि खेल्ने ठाँउ लगायतका सबै सार्वजानिक क्षेत्रमा राज्यको प्रत्यक्ष रेखदेख रहन्छ। त्यसैले त धेरै मानव सुचाकाङ्क र सामाजिक सुरक्षा सुचकाङ्कहरुमा पनि नर्बे अगाडि छ। विकासको दृष्टिले मानव विकासको उच्चतम चरणमा पुग्दै गरेको नर्वेबाट विकासको सुरुवाती चरणमा रहेको मुलुक नेपालले जान्नु र सिक्नु पर्ने धेरै कुराहरु छन्।

(लेखक एनएलए युनिभर्सिटी कलेज, नर्वेमा स्नातोकोत्तर तहमा अध्ययनरत छिन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट