PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हिट कि फ्लप 'छक्का पन्जा ३'को गीत? 


दुर्गा पंगेनी /पहिलोपोस्ट

हिट कि फ्लप 'छक्का पन्जा ३'को गीत? 
‘छक्का पन्जा’ या ‘दीपक दीपा’ ब्राण्ड हो, नेपाली मनोरञ्जन क्षेत्रको। छक्का पन्जाको पहिलो संस्करण होस् या दोस्रो दुवै चर्चाको हिसाबले लोकप्रिय बन्यो। फिल्म क्षेत्रमा ‘तहल्का मच्चायो’। भलै समीक्षात्मक रुपमा उस्तो राम्रो कहलिएको थिएन। तर, व्यवसायिक तबरमा सफल भयो। 

१७ करोडको ग्रस कलेक्सन गर्दै सर्वाधिक कमाउने नेपाली फिल्म बन्नेदेखि दोस्रो संस्करणले आफ्नो पहिलो संस्करणको रेकर्ड तोड्ने समेत गरेकै हो। 

छक्का पन्जा एकको सफलतापछि दुई र दुईको सफलतासँगै तीन बन्ने भयो। तेस्रो संस्करणको प्रचार सामाग्रीको रुपमा पहिलो गीत सार्वजनिक भइसकेको छ। गीतकार राजेन्द्र थापाको शब्द रहेको “पहिलो नम्बरमा” बोलको युट्युब रिलिज भएको छ। हालसम्म उक्त गीतले पन्ध्र लाख प्लस हिट्स कमाइ सकेको छ। 

तर, यहाँनेर गीतको भिडियोको भ्यूज समीक्षा आवश्यक छ। कति भ्युज चाहिँ अर्ग्यानिक? 

गीत अपलोडको पहिलो दिन दश लाख\पटक हेरिएको गीति भिडियोको भ्युज रेसियो दोस्रो दिनदेखि ह्वात्तै घट्यो। पहिलो दिन देखिएको त्यो उत्साह किन दर्शकमाझ कायम राख्न सकेन त? 

दोश्रो तीस घण्टामा पहिलो दिनको भन्दा साठ्ठी प्रतिशतको गिरावट आउँदै भ्युज जम्मा चार लाख बाइस हजारमा सीमित हुन पुगेको थियो। 

तेश्रो दिनको बिहान पाँचबजे रातभरमा गीतको भ्युज चौध लाख बाइस हजारबाट बढेर चौध लाख सतहत्तर हजार पुगेको थियो। त्यस्तै बेलुका आठ बजेदेखि बिहान पाँच बजेसम्ममा जम्मा पचास हजार भ्युज बढ्यो। बिहान पाँच बजेदेखि सात बजेको बीचमा प्रत्येक घण्टा दश बाह्र हजारको अनुपातमा बढेर हाल पन्ध्र लाख हिट्सको आंकडा पार गरेको छ। 

यो अनुपातमा गीतको भ्युज अनुपात घट्नु भनेको गीतको लोकप्रियता खस्कनु हो वा भ्यूजमा आशंका गर्ने ठाउँ दिइएको? 

गीतकारले भ्यूअर्समा शंका नगर्न भने। उनले एक भ्यू पनि बुष्टको भएमा 'आगामी पाँच गीत सित्तै दिन्छु' भन्ने चुनौती दिए। तर, पहिलो दिनको तुलनामा दोश्रो र तेश्रो दिन लगातार भ्यूजमा गिरावट आयो। अब यहाँ दुईवटा कुरा हुन सक्छन्- या त पहिलो दिनको भ्यूज मध्ये ६० प्रतिशत बुष्टको हो। त्यसैले त्यसपछिका हिट्समा गिरावट आयो। नत्र गीतको भिडियो नै राम्रो बनेन त्यसैले गीतले अपेक्षाकृत भ्यूज पाएन।

समीक्षात्मक रुपमा लेख्दा गीत 'पहिलो नम्बरमा'ले छाक्कापन्जा एक र दुईले स्थापित गरेको ब्रान्डको साख जोगाउन नसकेको नै हो। हुन त गीत रिलिज पछिको पहिलो सप्ताहन्त (शुक्रबार) आउन बाँकी नै छ। 

खाडी मुलुकहरुको क्लिक प्रभावको कारण खाडीमा बिदा हुने दिन शुक्रबार नेपाली भिडियोहरुको भ्युज तुलनात्मक रुपमा बढी जाने भए पनि समग्रमा गीत रिलिज भएको चौथो दिन बिहान सम्मको घट्दो अनुपातलाइ नियाल्दा युट्युब प्लेटफर्ममा गीतले राम्रो प्रभाव छोड्न नसकेको कुरा प्रष्ट हुन्छ।  

युट्युबमा आउने गीत हेर्नको लागि दर्शकको ठूलै लगानी लागेको हुन्छ। युट्युब चल्ने मोबाइल फोन वा ल्यापटपदेखि लिएर इन्टर्नेटका लागि चाहिने खर्च। लगानी गरेर युट्युब हेरिसकेपछि दर्शकले राम्रै कन्टेन्टको अपेक्षा गर्ला त्यो पनि स्थापित ब्रान्डबाट। निकै नै उत्सहका र चर्चा परिचर्चाका साथ रिलिज भएको र त्यत्तिकै उत्साहका साथ खर्च गरेर हेरेको भिडियो कस्तो होस् भन्ने चाहन्छन् त दर्शकहरु एउटा सायद चलेको निर्देशक निर्माताले सोच्न पर्ने बेला भएकै हो। के आफूले दिएको कन्टेन्ट दर्शकले चाहेको जस्तो वा हेर्न आवश्यक छ त? 

गीतमा शब्द, संगीत केन्द्रमा रहनु पर्थ्यो वा पाहुना कलाकारदेखि चरित्र अभिनेताहरुको झुण्ड? 

युट्युबका भ्यूज गनेरै आफ्नो गीत ‘हिट’ भएको दावी गरेर रमाउने भए विषय बेग्लै बन्छ। यस्तोमा नि निर्माता र्देशकले बुझ्नै पर्ने महत्वपुर्ण कुरा उक्त भिडियो कहाँबाट हेरिन्छ र कुन उमेर समूहकाले हेर्छन् भन्ने हो। आफूले लक्षित गरेको वर्ग कुन हो त्यो मुल्याङ्कन पनि आवश्यक छ। १५ देखि ४० वर्ष उमेर समुहका युवा युट्युब प्रयोगकर्ता हुन्। त्यस बाहेको उमेर समुहका दर्शकका लागि आफ्नो सामाग्री पहुँच सहज छ त? 

त्यस्तै गीत कहाँबाट हेरियो त्यो आवश्यक छ। अर्थात् ‘लोकेसन’। एनालाइजरले सबैभन्दा बढी भ्यूज नेपालबाटै भएको देखाउला अथवा एनालाइजरको ग्राफमा कुनै देश देखाउँदै नदेखाउला तर पनि तिनै देशमा गीत ट्रेन्डिङमा गइरहेको हुन्छ। नेपाली गीतका सबैभन्दा धेरै दर्शक बैदेशिक रोजगारीमा गएका युवाहरुनै हुन जुन १८-४० उमेर समुहमा पर्दछन्।

लक्षित वर्गको उमेर र उनीहरु रहेकको स्थान थाह पाइसकेपछि दर्शकको माग थाह पाउन नसक्नु निर्देशकको कमजोरी हो। त्यही हुन गएको छ दीपक दीपाको ‘पहिलो नम्बरमा’ भन्ने गीतमा पनि। चर्चित कलाकारहरुको भिड जम्मा गरिएको छ तर पर्दामा दीपाश्री निरौलालाई प्राथमिकतापूर्वक देखाइएको छ। अहिलेको पुस्ताले दीपाले कम्मर घुमाएको भन्दा प्रियंका कार्कीले ठुम्का लगाएको हेर्न चाहन्छ भन्ने कुरा निर्देशकले पटक्कै बुझ्न सकेनन्। 

अहिलेका दर्शकले साडी लगाएकै अवस्थामा पनि दीपालाई भन्दा प्रियंकालाई हेरेर रमाउन चाहन्छन् भन्ने कुरा भिडियोको घट्दो क्लिकले प्रमाणित गरेको छ। अझ फिल्मका पछिल्ला दुई संस्करणमा जस्तै यस पटक पनि दीपाको भूमिकाको महत्व देखिएन भने भिडियोका दर्शक निराश हुने ठाँउ रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट