PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मत दिनुअघि प्रश्नै प्रश्न


स्वेच्छा राउत/पहिलोपोस्ट

मत दिनुअघि प्रश्नै प्रश्न
'आइरन लेडी'को उपमा पाएकी इरोम शर्मिलाले १६ वर्ष लामो अनशन गत अगस्तमा तोडिन्। सशस्त्र बलले विशेष अधिकारको  रुपमा पाएको असीमित अधिकार र स्वतन्त्रताको विरोधमा उनले भारत सरकारलाई दवाव दिँदै आएकी थिइन्। 

अनशन तोडेको दिन उनले अदालतमा भनेकी थिइन्,'मुख्यमन्त्री बनेर आफ्नो माग आफै पूरा गर्छु।' 

शर्मिलाको दमन विरोधी कार्यप्रति सम्मान गर्ने आम जनता उनको पक्षमा देखिन्थे। उनको समर्थनमा लागेको भिड देख्दा उनको राजनीतिक भविष्य राम्रो हुने अनुमान पनि थियो। त्यसैले पनि उनमा मुख्यमन्त्री बन्ने आशा पलाएको थियो। 

प्रदेश सभा निर्वाचनमा सहभागिता जनाउनका लागि उनले राजनीतिक तयारी थालिन्। भारतीय जनता पार्टीमा संलग्न हुने हल्लाबीच उनले आफ्नै पार्टी खोलिन्। नाम राखिन् - पिपल्स रिसर्जेन्ट एन्ड जस्टिस अलाइन्स। उनले मुख्यमन्त्रीको उम्मेद्वा्री घोषणा गरिन् र प्रतिष्पर्धामा भाग लिइन्। 

शर्मिलाले प्रचारका लागि आम जनताको घरघरमा पुगेको देखि साइकल चडेर भोटको आह्वान गरेकोसम्म खबरहरुले मिडियामा राम्रै ठाउँ पायो। तर चुनावमा उनको पछि लागेको भिड उल्टियो। उनी हारिन्। 

उनको हार 'लज्जास्पद' नै थियो किनकि उनले जम्मा ९० मत पाइन्। चुनाव जितेका ओकराम इबोबीले १८,६४९ भोट ल्याएर मणिपुरका मुख्यमन्त्री बने। नतिजाले के प्रष्ट पार्छ भने मणिपुरका जनताले संघर्षरत नेताभन्दा जो छ त्यही र जस्तो छ त्यस्तै अवस्था रोजे। 

चुनाव अघि शर्मिलाले पाएको सम्मान, समर्थन उनको भोको पेट र गलेको शरीरका लागि थियो भन्ने प्रष्ट भयो। उनको अठोट र राजनीतिक संघर्षमा कसैको चासो थिएन। वा आम मानिसले उनीमाथि भरोसा गरेनन्। 

अन्तत शर्मिलाले फेसबुक स्टाटसमार्फत 'थ्याङ्स फर ९० भोट्स' भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरिन्। 
हारपछिका विश्लेषणहरु अनेक कोणहरुबाट भए। तर, हारको कारण कुनै उम्मेद्‍रको पक्षबाट मात्र नियाल्ने वा मतदाताको कोणबाट पनि? 

उत्तर प्रदेशमा भारतीय जनता पार्टीको उदय भयो र योगी आदित्यनाथ थप स्थापित भए। उनी राजनीतिमा सन् १९९८ देखि लागे तर उनीसँग सधैं राजनीतिक विवादहरु झुन्डिरहे। उनीमाथि आक्षेप लगाउनेहरु धेरै नै थिए। किनकि उनले गोरखपुरका उर्दु भाषामा नाम राखिएका ऐतिहासिक स्थलहरुको नाम परिवर्तन गराए। जस्तै: उर्दु बजारलाई हिन्दी बजार, अली नगरलाई आर्य नगर। 

विवादित बयानका कारण चर्चामा रहेर पनि उनी मुख्यमन्त्री बने। पाँचपटक सांसद बनेका उनी मुख्यमन्त्री बन्ने चर्चा गतवर्ष देखि नै थियो। 

सशस्त्रको दमन विरुद्ध लडेकी आइरन लेडिको हार र धर्मसँग जोडिएका विवादित योगीको जित। यसले भारतीय मतदातामा गडेर रहेको राजनीतिक संस्कार संकेत गर्छ। 

नेपालको हकमा पनि राजनीतिक वातावरण उस्तै छ। कसैलाई सत्तामा लैजाने वा नलैजाने भन्ने अधिकार जनताले पाएका छन्। सो अधिकारको प्रयोग कतै हुन्छ र कतै गराइन्छ। थोरै हामी मतदाताको चेतनाले र धेरै चाहिँ राजनीतिमा लागेकाको शक्तिले ड्राइभ गर्छ। 

त्यसैले आजसम्म प्राय व्यक्तिले जित्ने, एजेन्डाले हार्ने क्रम टुङ्गिएको छैन। राजनीतिक आदर्श संघर्ष नै मात्र गर्न बाध्य हुन्छ र शक्तिमा रहेका रिन्यु भइरहन्छन्।

सरसर्ती हेर्दा हाम्रा मतदाताको प्रवृत्ति तीन प्रकारमा विभाजित छ। 

१. चेतन: जहाँ राजनीतिक विषयमा जानकारी राखिन्छ। अध्ययन गरिन्छ। मान्छे वा पार्टी होइन घोषणापत्र वा गरिएको काम केन्द्रमा राखेर भोट दिने नदिने मुल्याङ्कन हुन्छ।  यस प्रकारका मतदाता सङ्ख्या कति छन् अड्कल गर्न गाह्रो छ। तर, निकै कम छन् भन्नेमा प्रश्न नरहला। 

२. अवचेतन: यहाँ मतदाताले अवसर हेर्लान्। आफ्नो पक्षमा के भयो र के हुन्छ भन्ने शर्तको आधार। तर, न्युन राजनीतिक ज्ञान।

३. अचेतन: 'मेरो बाले त यही पार्टीलाई भोट हाल्नु हुन्छ।', 'फलानो काकाले उसैलाई हाल भन्नु भा'छ।' आफ्नो लागि नाइके चुन्ने अधिकार पाएर पनि शुन्य राजनीतिक चेतना स्तर भएका हामी धेरै छौं। जहाँ पुरै बस्ती वा पुरै परिवार एउटा हाँगो समात्छौं र त्यसैमा वर्षौं झुण्डिन्छौं। 

लाग्छ यिनै प्रवृत्ती र संस्कार बीच हाम्रो राजनीतिक चेतनास्तरले आकार पाउँछ र त्यसको असर प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेतृत्व चयनको क्रममा पर्छ। 

समाज राजनीतिलाई घृणाको रुपमा स्थापित गर्न तम्तयार छ। परिवर्तन गर्न सक्ने पुस्तामा राजनीतिक ज्ञान अभाव छ तर राजनीतिविरुद्ध घृणा ज्यादा छ। राजनीतिक वातावरण र चेतनाको विकासमा यहीनेर बिर्को लाग्छ। 

के ठिक के बेठिक? को सहि को गलत? भोट दिनका आधार के? जनताले यस्ता प्रश्न र आधार हेरेर धारणा बनाउनु पर्नेमा उल्टो नकारात्मक दृष्टिकोण बनाउँछ यस्तो पुस्ता। यो पुस्ताले राजनीतिलाई नै समस्या मान्न थालेको छ।

आखिर समस्या केमा छ त? 

राजनीति बारे हाम्रो अर्ध चेत। हामीमा राजनीति चासो कम र बुझ्ने प्रयासको कमीले समुदायकै राजनीतिक अवचेतना गम्भीर तुल्यायो।

यस्तो राजनीतिक वातावरणमा हुर्किएको हामीले राजनीति प्रतिको अर्धचेतका बीच  भोलि कस्तो नेता चुन्न पुग्छौं त? सवाल खडा भएको छ। भारतीयले छानेका वा लत्याएका झै?

नेपाली राजनीतिमा दुई पात्र छन्- नायिका रेखा थापा र गायिका कोमल वली। कोमलले खुल्ला तर्फ तेस्रो र रेखाले महिलातर्फ दोस्रो धेरै मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पद जिते। यी दुई कलाकर्मीले महाधिवेशन सुरु हुनु दुई महिना अघिसम्म पनि आफूलाई गैरराजनीतिक र कलाकारमात्र रहेको दाबी गर्दै आएका थिए। उनीहरुको वक्तव्यले प्रस्ट पार्छ उनीहरुको राप्रपा प्रतिको झुकाव र लगाव। अनि सँगै प्रश्न खडा गर्छ किन ती पात्र अत्याधिक मतका साथ केन्द्रमा? 

के राप्रमा साँच्चै उनीहरु भन्दा बढी राजनीतिक संघर्ष गर्ने, पार्टीकै हितको लागि काम गर्ने कोही कार्यकर्ता छँदै थिएनन् त? 

यहाँ पुन: इरोम शर्मिलाको प्रसङ्ग उल्लेख गरौं – शर्मीलाले सैन्यबलको असीमित अधिकार विरुद्ध लड्ने एजेन्डामात्र अघि सारिन्। त्यसैले 'आफ्नो माग आफैं पूरा गर्छु' भनेर सुरु भएको राजनीति 'थ्याङ्कस् फर ९० भोट्स'मा गएर टुङ्गियो। सामाजिक अभियन्ता शर्मिलाको प्रतिशोधको आधारमा सुरु भएको राजनीतिक यात्रा धेरै लामो नहुने अड्कल जनताले काटेका पनि हुन सक्छन्। 

उनी हारिन् अपेक्षित भन्दा धेरै कम मत ल्याएर। उनको प्रतिशोधलाई राजनीतिको आधार मान्न नसकेकै हो भने के ले योगी आदित्यनाथको अतिवादलाई वर्षौँ राजनीतिमा टिकाएको छ? 

कोमल ओली र रेखा थापाको ग्ल्यामरले किन ठाउँ पाउँछ? उनीहरुको योगदान के का आधारमा मूल्याङ्कन गरिन्छ?

प्रश्नहरु धेरै छन्। 

देशमा स्थानीय तहको निर्वाचन हुँदैछ। कम्तिमा आफ्नो क्षेत्रबाट उठेका उम्मेद्वाारबारे चेतना, उनीहरुको व्यक्तिगत एजेन्डा र पार्टीगत घोषणापत्रले के बोल्छ? भोट के को आधारमा दिने भन्ने जस्ता विषयमा ध्यान दिन सके राजनीतिक चेतनाको स्तरमा विकास हुन्थ्यो कि। 

सामाजिक संजालमा राजनीति प्रतिको कुण्ठा र आक्रोश पोख्ने बाहेक केही जिम्मेवार भएर प्रस्तुत भए जरैबाट राजनीति परिवर्तन हुने थियो। यसपालाक भोट हाल्दा थोरैमात्र भए पनि विचार गर्ने कि। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट