PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कमल थापालाई कहाँ राख्ने प्रधानमन्त्री ज्यू?


गणेश भण्डारी/पहिलोपोस्ट

कमल थापालाई कहाँ राख्ने प्रधानमन्त्री ज्यू?

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार! 

म तपाईँको नेतृत्वमा नेपाली जनताले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिक। सार्वजनिक सञ्चारको माध्यबाट तपाईँलाई खुलापत्र लेख्दैछु।

सुन्दैछु तपाईँ हिजोआज निकै तनावमा हुनुहुन्छ, तपाईँको मन्त्रिपरिषद्‍को बैठकसमेत नबसेको ३ साता पूरा भइसकेको छ। स्थानीय निर्वाचनको मुखमा कति काम गर्नु थियो होला तर मन्त्रिपरिषद्‍ नै नबसेपछि तपाईँले पाएको दुःख म अनुमान लगाउन सक्छु। तपाईँको नेतृत्वको सरकारमा रहेका उपप्रधानमन्त्री द्वय विमलेन्द्र निधि र कमल थापामध्ये को वरिष्ठ भनेर छुट्याउन नसक्दा मन्त्रिपरिषद् नबसेका खबर बाहिर आइरहेका छन्। तपाईँको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको त होइन तर देशको कार्यकारी प्रधानमन्त्रीले उपप्रधामन्त्रीहरु मध्ये को वरिष्ठ भनेर छुट्याउन नसक्नु दुःखद कुरा हो। यदि तपाईँलाई विमलेन्द्र निधि र कमल थापामा को वरिष्ठ भनेर छुट्याउनै गह्रो भएको हो भने यो खुला पत्रमार्फत केही सहयोग गर्न प्रयास गर्दैछु।

थाहा छैन यो देशको कार्यकारी प्रधानमन्त्रीलाई मैले सुझाव दिन हुने हो वा होइन। अथवा मेरो सुझावको केही अर्थ छ या छैन, तर पनि लेख्दैछु। सम्माननीय प्रधानमन्त्री ज्यू, प्रधानमन्त्रीपछिको मर्यादाक्रममा को ठूलो? विमलेन्द्र निधि कि कमल थापा! एक पटक खुला दिमागले सोचौँ। २०७३ चैत्र अन्तिमतिर निधि र थापामा को वरिष्ठ भनेर बहस चलिरहँदा एक पटक २०४६ सालको चैत्रका अन्तिम दिनहरु र २०६२ सालका चैत्र महिनाका अन्तिम दिनहरु सम्झनु जरुरी छ। आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल २०४६ साल र २०६२\६३ जनआन्दोलनको परिणाम हो भनेर मान्ने हो भने को वरिष्ठ भनेर छुट्याउन असहज छैन। निरङ्कुश शासकविरुद्ध नेपाली जनताले लोकतन्त्र र स्वतन्त्रता प्राप्तिका लागि सडकमा संघर्ष गरिरहेका बेला यी दुई जना को कहाँ थिए, को जनताको साथमा सडकमा थियो, को जनताको विरोधमा थियो?

प्रधानमन्त्रीज्यू तपाईँ आफै ठूलो सशस्त्र संघर्ष गरेर आउनु भएको नेता हो, तपाईँको पार्टीको हैसियत जे भए पनि समकालीन राजनीतिको तपाईँ एक महत्वपूर्ण पात्र हो। अझ भनौँ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा तपाईँको नेतृत्वदायी भूमिका कसैले बिर्सेका छैनन्। निधि र थापाको भौतिक उचाइ नापेर वरिष्ठता तय गर्ने होइन। उनीहरुबीचको वरिष्ठता राजनीतिक लडाइँका आधारमा हुने हो। राजनीतिक व्यवस्थाका आधारमा हुन्छ सायद, त्यसो हो भने आज हामी जुन शासन व्यवस्थामा छौँ त्यहाँ कमल थापा कसरी वरिष्ठ हुन सक्छन्? स्वतन्त्रता र जनताको अधिकारका लागि सडकको संघर्षबाट उदाएका निधि र जनताको अधिकार बन्दुकको नालबाट दमन गर्ने थापाबीचको तुलना कसरी हुन सक्छ?

जनआन्दोलनको छानबिन गर्न बनेको मल्लिक आयोग र रायमाझी आयोगले कमल थापालाई कहाँ राख्न भनेको छ? कमल थापा वरिष्ठ कि निधि वरिष्ठ भन्ने विवादभन्दा पहिले प्रधानमन्त्रीले एक पटक जनआन्दोलनका सहिदहरु सम्झेर भन्नुस् कमल थापाको मर्यादाक्रम के हुनुपर्छ? सहिदका परिवारलाई सोध्नुस् कमल थापालाई कहाँ राखौँ भनेर? जवाफ पाउनुहुनेछ।

प्रधानमन्त्रीज्यू, यो व्यवस्था ल्याउनका लागि लड्ने मान्छे वरिष्ठ कि यो व्यवस्था ल्याउन नदने वरिष्ठ? १४ वर्षको उमेर लोकतन्त्रका लागि लडेर जेल जाने निधि वरिष्ठ कि लोकतन्त्रको शब्द उच्चारण गर्नेहरुलाई जेल हाल्ने, लाठी ठोक्ने र गोली हान्ने थापा वरिष्ठ? जनताको मतबाट जितेका निधि वरिष्ठ कि धर्मको खोल ओढेर यो व्यवस्था नै धरापमा पार्न लागेका थापा वरिष्ठ? जवाफ प्रधानमन्त्रीले दिनु पर्नेछ। कलम थापा व्यक्तिसँग मेरो कुनै पूर्वाग्रह र गुनासो छैन, वरिष्ठ वा कनिष्ठ हुनुमा पनि मेरो सरोकार छैन र हुँदैन पनि। तर, कमल थापा प्रवृत्तिले देशलाई कहाँ पुर्‍याउँछ याद गर्नुस्।

संविधान संशोधन गर्नै पर्ने हुँदा कमल थापाको माया लागेको होला प्रधानमन्त्रीलाई, तर सोचौँ कमल थापा आजको दिनमा सिंहदरबारमा हुनुपर्ने हो कि गोलघरमा? हो, लोकतन्त्रमा सबैको कुरा सुन्नुपर्छ, सबैलाई समान दृष्टिकोणले हेर्नु पर्छ। तर त्यो समानतामा न्याय मर्नु हुँदैन प्रधानमन्त्रीज्यू।

समानताका नाममा जनआन्दोलनका दोषीलाई पुरस्कृत गर्दै लैजाने हो भने के संघीय लोकतान्त्रिक गणतन्त्र दिगो र बलियो हुन सक्ला? म भन्दिन कि थापा वरिष्ठ होइनन् भनेर। थापा पनि वरिष्ठ हुन्, तर के मा? थापा यो व्यवस्था विरोधीहरुका लागि वरिष्ठ हुन्, लोकतन्त्र विरोधीहरुमा वरिष्ठ नै हुन्।

तर लोकतन्त्र मान्नेहरुका लागि थापा कहिल्यै पनि वरिष्ठ हुन सक्दैनन् र होइनन् पनि। हुन त प्रधानमन्त्रीले राप्रपाको अधिवेशनमा नै राप्रपा र कमल थापा आफ्नो नजिकको लाग्ने भनेर सार्वजनिक रुपमा नै बोल्नु भएको छ। आशा गर्छु त्यो नजिकपन प्रधानमन्त्रीको नितान्त पारिवारिक र व्यक्तिगत होओस्, होइन भने संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेका प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय लोकतान्त्रिक गणतन्त्रका सबैभन्दा ठट्ठला विरोधी थापाबीच नजिकको राजनीतिक सम्बन्ध अरु के हुन सक्छ?

धर्मका नाममा राजनीति गरेर कमल थापा देशलाई कहाँ पुर्‍याउन खोज्दैछन्? मानिसको भावना र श्रद्धासँग जोडिएको धर्मलाई राजनीतिक विषय बनाउने थापालाई सिंहदरबारमा ठाउँ दिन सकिन्छ प्रधानमन्त्रीज्यू?

मन्त्रिपरिषद्‍मा आफू पछि कस्लाई वरिष्ठ बनाउने त्यो प्रधानमन्त्री निजी कुरा हो। तर, निजी कुरा हो भन्दैमा लोकतन्त्र विरोधीहरुलाई टाउकोमा राखेर लोकतन्त्रका पक्षधरहरुलाई किनारा लगाउँदा त्यसले ल्याउने परिणाम के होला? प्रधानमन्त्रीलाई साच्चिँकै लोकतान्त्रिक गणतन्त्रको माया छ भने कमल थापालाई कहाँ राख्ने भनेर कसैलाई नसोध्नुस् र धेरै पनि नसोच्नुस्, केवल रायमाझी र मल्लिक आयोगको प्रतिवेदनले भनेको ठाउँमा राख्नुस्। कमल थापालाई पनि सबैभन्दा ठूलो न्याय त्यही हुनेछ। फोटो : रासस




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट