PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाली फिल्म इन्डस्ट्रीबारे अनभिज्ञ बलिउड


विश्वदीप पाण्डे/पहिलोपोस्ट

नेपाली फिल्म इन्डस्ट्रीबारे अनभिज्ञ बलिउड
भारतीय फिल्महरु नेपालमा लोकप्रिय छन्। अनि भारतीय कलाकार पनि। तर विश्वकै ठूलो चलचित्र उद्योग मध्येको बलिउडलाई नेपालले आकर्षित गर्न सकेको छैन। प्राकृतिक रुपमा सुन्दर भएर पनि भारतीय फिल्म उद्योगमार्फत नेपालले आफ्नो प्रचारको मौका गुमाउँदै आएको छ। 

भारतीय फिल्म उद्योगको पृष्ठभूमिमा नेपालीहरु बाद्यवादनदेखि अन्य भूमिकामा आइसकेका छन्। नायिका मनीषा कोइरालाले मात्र बलिउडमा आफ्नो उपस्थिति र भूमिका पुष्टि गर्न सकेकी छिन्। 

तर नेपाली फिल्म क्षेत्रले भने भारतीय फिल्म क्षेत्रबाट फाइदा लिन सकेको छैन। न त कुनै औपचारिक कार्यक्रमहरु नै हुने गरेका छन्। कलाकारबीचमा दोहोरो चिनजान पनि छैन। 


यसपटकको दिल्ली भ्रमणमा भारतीय सेन्सर बोर्डका पदाधिकारीसँगको व्यक्तिगत चिनजानको आधारमा शुक्रबार भारतीय कलाकारद्वय विद्या बालन र निर्माता/निर्देशक महेश भट्टसँग भेट्ने मौका जुर्‍यो। भारतीय फिल्म नगरी मुम्बईबाट दिल्ली आइपुगेका कलाकारसँगको भेटमा उनीहरु नेपाली कलाकारिताबारे खासै जानकार नदेखिँदा भने दु:ख लाग्यो। 

भौगोलिक निकटता, सांस्कृतिक समानता हुँदासमेत नेपाली फिल्मी क्षेत्र अझै देशबाहिर पुग्नै नसकेकोमा चिन्ता लाग्यो। भारतीय कलाकारको प्रश्न नेपाली कलाकारिता क्षेत्रको परिचय र आयातनमै केन्द्रित थियो। 

भारतीय फिल्म हेर्दै र हुर्कँदै आएको एउटा फ्यानको हिसाबले मैले भारतीय कलाकारलाई नेपाल भ्रमणको आग्रहबाहेक गर्न सक्ने अवस्था अरु केही थिएन। उनीहरुको नेपालप्रति चासो र सद्‍भाव छ। तर हामी भने त्यसलाई ‘क्यास’ गर्न चुकिरहेका छौँ। 


भारतीय कलाकारहरु नेपाल सुन्दर देश हो भन्छन्। तर हामी हाम्रो सुन्दरताको उपयोग गराउन र प्रचार गराउन चुकिरहेका छौँ। मैले यो दिल्लीको छोटो भेटघाटमा भारतीय कलाकारलाई केही आग्रह गर्ने मौका जरुर उम्कन भने दिइनँ। विद्या बालन र महेश भट्टसँग मैले भारतीय कलाकार र नेपाली कलाकारको संयुक्त कार्यक्रमको लागि आग्रह गरेको छु। अनि उनीहरुलाई भारतीय चलिचत्रको छायांकनका लागि नेपाल उपयुक्त रहेको बताउन पनि बिर्सेको छैन। 

अनि भारतीय  कलाकारलाई नेपालको पाहुना बनाउने अवसर र सांस्कृतिक सम्बन्ध दरिलो बनाउन व्यक्तिगत रुपमै भए पनि प्रयास गरेको छु। 

विद्याले मुस्कुराउँदै भनेकी छिन्– 'म तपाईँको सुन्दर देशमा छिट्टै आउनेछु। आशा छ मुस्कानसहितको सम्बन्ध विस्तार हुनेछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट