PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पीडा हुन्छ जब बच्चाहरु कुटिन्छन्


भावना शर्मा/पहिलोपोस्ट

पीडा हुन्छ जब बच्चाहरु कुटिन्छन्
बाबुआमा, शिक्षक या साथीभाइ। जोसुकैले किन नहोस्, बच्चा कुटेर रुवाएको दृश्य मलार्इ सहन एकदम गाह्रो लाग्छ। सबैलार्इ लाग्छ। नलाग्नेलार्इ म मान्छेको श्रेणीमा राख्दिन पनि।
 
खुट्टाभरि पाइपका सुम्ला उठेको यौटा तस्बिरले एकपटक फेरि झस्काइदियो। किन बारम्बार हातमा छडी बोक्नेहरुले होस गुमाउँछन्? किन क्रुरता देखाउँछन् ससाना बालबालिकामाथि? मथिंगल हल्लिरहन्छ। सहनै नसक्ने बोझ बोकेर म घिस्रिरहन्छु, मलार्इ यस्ता घटनाले निस्फिक्री हिँड्नै दिँदैन।

पीडा हुन्छ जब बच्चाहरु कुटिन्छन्।
  
लाग्छ, कसैले कुट्ला कि मेरो बच्चालार्इ पनि यसैगरी! कहीँ शरीरभरि डाम बोकेर पो फर्कने हुन् कि मेरा नानीहरु। डामै नदेखिने गरी पनि त सजाय दिइँदो हो! पटक-पटक मन चस्किन्छ।
 
आफैँले पनि भोगेकै हो सानामा। बच्चालार्इ केके सजाय दिइन्थ्योऽ राम्रै अनुभव छ। कति चोट देखिन्छन्, कति देखिन्नन्।
 
यूकेजी पढ्दाको कुरा। सरले ब्ल्याकबोर्डमा लेख्न बोलाउनुभयो। कुर्सीमाथि चढेर मैले १ प्लस २ वा ५ माइनस २ वा यस्तै केही जोडघटाउ गर्नुपर्ने थियो। संख्या ठ्याक्कै सम्झिन सकिनँ तर दुखाइ स्पष्ट याद छ। चक समाएको याद छ। त्यो धमिलो ब्ल्याकबोर्ड जुन सफा गरी पुछ्न नसकेकोमा हामीले पटक-पटक सजाय पाएका थियौं। मैले हिसाब जानिनँ। कमजोर थिएँ त्यति बेला। अहिले पनि हिसाबकिताब जान्दिनँ। जिन्दगीका असंख्य हिसाबहरु मिल्दैनन् अझै पनि। त्यति बेला १ प्लस २ जानिएन होला। ३ माइनस २ जानिएन होला। जे होस् हिसाब बिग्रियो। मलाई कुर्सीबाट झारेर सरले भुइँमा राखे। अनि भुँडीमा नराम्रोसँग चिमोटिदिए। ‘दुष्टि तेरो छाला निकालिदिन्छु।’ यही वाक्य थियो मेरो कलिलो भुँडी चिमोटेर सरले बोलेको।
 
अझै बिर्सन सक्दिनँ। कानमा गुञ्जिरहन्छ। यो सम्झिँदा ठ्याक्कै नाइटोनिरको भागमा पीडा महसुस हुन्छ, जहाँनेर सरले बेस्सरी चिमोटेका थिए। मलार्इ दुख्यो असैह्य पीडा भयो तर घाउ कतै देखिएन। कसलार्इ देखाउनु? चुपचाप बसेँ। यो स्कुले जीवनको नदेखिएको ‘पहिलो’ चोट थियो।
 
अर्को दिन। अर्को घटना। शुक्रबार थियो। सेतो सर्ट, सेतो फ्रक, सेतै जुत्ता अनि सेतो रिबन। म फुरुङ्ग पर्दै स्कुल जान्थे। हजुरआमाले बाटिदिएको त्यो सेतो रिबनको फुर्कै यति राम्रो हुन्थ्यो कि अहिले पनि रिबन बाटेर स्कुल गएका छोरीहरु देख्दा म मेरै प्रतिबिम्ब देख्छु। कुद्दै स्कुल पुगेको त्यो दिन आजै जस्तो लाग्छ। ‘चाकाचुली’ भन्थ्यौं हामी आजकल ‘सि-सअ’ भन्छन्। त्यसमा खेल्न खुब मन पर्ने।  मेरो प्यारो खेल। सामान्यतया ‘सि-सअ’ खेल्न दुई जना चाहिन्छ। दुईतिर दुई जना बसेर खेलिन्थयो। तर म अक्सर एक्लै खेल्थेँ। आफैंमा रमाउने बानी थियो। दुईतिर खुट्टा राख्यो अनि घरी एउटा खुट्टाले घरी अर्को खुट्टाले यताउता पारेर खेल्थेँ। त्यति भएपछि खुसी हुन साथी खोज्नै परेन। एक्लै रमाउन सिकेको सायद त्यति बेलैदेखि हो।
 
‘मे आई गो टु ट्वाइलेट’ यस्तै भन्नुपर्थ्यो पिसाब फेर्न जाँदा। आजकाल पनि यस्तै भनेर जाने चलन छ क्यार स्कुलमा। मैले नि सरलार्इ त्यसै भनेँ। ट्वाइलेट पुगेर पिसाब फेरेर फर्किंदै थिए। आँखा त्यही पुगे- मेरो प्यारो चाकाचुली चौरमा रित्तो थियो। एक्लो चाकाचुली अनि एक्लो म। शुक्रबार खेल्ने नै दिन हो। आधा समय चौरमा पिटी खेल्ने अनि केही बेर मात्र पढ्ने। म सानी नानी मनले मानेन। खुरुरु कुद्दै चाकाचुली खेल्न थालेँ। कक्षामा फर्किनुपर्ने समय बितेको पत्तै भएनछ। दुर्इ खुट्टा चालेर यताउता गर्दै हल्लिरहेकी थिएँ। चाकाचुलीमा हल्लिरहँदा प्रस्टै देखेँ, सर हातमा ताप्रेको सिम्कना बोकेर मतिर लम्किँदै थिए। अबोध म टक्क उभिँए। भाग्न जानिनँ। म परिस्थितिहरुसँग भाग्न नजान्ने मान्छे त्यति बेला पनि भागिनछु। उभिइरहेँ। सर नजिक आए। ताप्रेको सिम्कनाले स्वाट्ट पारेर पिडुँलामा हाने। सानी नानीका कलिला पिडुँलाहरु झनन हुनेगरी दुखे।
 
मेरी हजुरआमाले मोही पारेपछि नानीऽऽऽ भन्दै बोलाउनुहुन्थ्यो। म फ्रक उचालेर कुद्दै भान्छामा पुग्थेँ। नौनी झिकेर राखिसकेपछिका चिल्ला हातहरु मेरा कलिला पिडुँलाहरुमा दलिदिनुहुन्थ्यो मेरी हजुरआमा। घरमा काली भैँसी छउन्जेल मेरा पिडुँलामा हजुरआमाले नौनी दलिदिने क्रम कहिल्यै रोकिएन। हजुरआमाले चिल्लो पारिदिएको त्यही पिडुँलामा सिम्कनाले स्वाट्ट हानेको क्षण म दुखाइले भुतुक्क भएर त्यही चाकाचुलीमै बसेँ। सरले आँखा नहेरी अर्को सिम्कना हाने। म चाकाचुलीमै थ्याच्च भइसकेकी थिएँ। अर्को प्रहार पिडुँलाको सट्टा देब्रे आँखालार्इ छोएर गालातिरबाट स्वाट्ट कपाल लतार्दै पछाडिपट्टि पुग्यो। मेरो आँखा वरिपरि अन्धकार भयो। झ्याप्प भएको देब्रे आँखा खुल्दै खुलेन। म थुचुक्क बसेँ। आँखाबाट बर्बर आँसु खसिरहे। आवाज निकालेर म कहिल्यै रोइनँ। रुन्न पनि। त्यति बेला पनि एउटा बन्द र एउटा खुला आँखाबाट आँसु बर्बर खसिरह्यो। म हलचल गर्न सकिनँ। सँगै पढ्ने साथीले समाएर कक्षा कोठामा लगिदिई। मेरो देब्रे आँखा सुन्निइसकेको थियो। हल्ला धेरै भएपछि घटना प्रिन्सिपलकहाँ पुग्यो। सबै मतिर आए। देब्रे आँखा जति गरे पनि खुलेन। घर नजिकै थियो। मेरी साथीले कुद्दै गएर घरमा खबर गरिदिइछ। हजुरबा र हजुरआमा कुद्दैकुद्दै स्कुल आइपुग्नुभयो। बुवा अफिसमा हुनुहुन्थ्यो। मम्मीले खबर गरिदिनुभएछ। हजुरआमाले च्याप्प समाएर मलाई आफूतिर तान्नुभयो। छातीमा टाँसेर भन्नुभयो, 'कुन चैँ पापी हो त्यो, यति सानो बच्चालार्इ कुट्ने?'
 
साथीले भनिदिई ‘धर्म सर।'

'खुबै धर्म कमायो होइन त्यसले यस्तो बालखा कुटेर! त्यसको नाम धर्म कसले राख्यो, अधर्मी पापी! यति सानी नानी कुटेर।' हजुरआमाले सरलार्इ सराप्दै सराप्दै रोएको अहिल्यै जस्तो लाग्छ। सुतीको सारीको आँचल पोको पारेर मेरो आँखा सेक्दै हजुरआमाले घर लानुभयो। मैले आँखा खोल्नै सकिनँ। हतारिँदै अफिसबाट घर आइपुग्नुभएको बुवाले बोकेर आँखा अस्पताल दौडाउनुभयो। डाक्टरले औषधि लेखिदिए। आँखाभित्र चोट लागेछ। दुई हप्तासम्म औषधि खानुपर्‍यो। आँखामा झोल औषधि पनि हाल्नुर्थ्यो। बेलाबेला घाउ दुख्ने/चिलाउने भइरहन्थ्यो।
 
आँखाको घाउ त निको भयो। मनमा सधैंको लागि त्रास गढ्यो। मेरो देब्रे आँखामा दाग धेरैपछिसम्म पनि देखिन्थ्यो। मेरा आँखाको नानीमा हेर्दै हजुरआमा पछिसम्म सरलार्इ सराप्नुहुन्थ्यो, 'त्यसको नाम धर्म कसले राखिदियो?'
 
यो स्कुले जीवनको देखिएको ‘पहिलो’ चोट थियो।
 
त्यही घटनाले सरले स्कुल छोड्नुपर्‍यो। सरलार्इ स्कुलले ननिकालेसम्म मलार्इ स्कुल नपठाउने हजुरआमाको अडान थियो।
 
सरले स्कुल छोडे। म फेरि स्कुल जान थालेँ। तर त्यस घटनापछि सरमिसहरुसँग सधैं डर भइरह्यो।
 
आज पनि जब स्कुलमा बच्चाहरुमाथि ज्यादतीको खबर आउँछ। म आफ्नै बाल्यकाल सम्झिन्छु। पीडा हुन्छ। किन स-सानो निहुँमा बालबालिकामाथि ज्यादती हुन्छ? हाम्रा छोराछोरीलार्इ किन यति प्रताडित गरिन्छ? किन डरैडरमा बाँच्न सिकाइन्छ? फ्रकमा सजिएर रिबन बाटेर स्कुल हिँडेका नानीहरुमा म आफ्नै तस्बिर देख्छु।
 
देखिने चोटबाट त जोगाउन सकिएला, नदेखिने चोटहरुबाट हामीले कसरी छोराछोरी जोगाउने? म विचलित हुन्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट