PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गणेशथानको रिसाहा मूर्तिसँग एकदिन


दिपेश श्रेष्ठ/पहिलोपोस्ट

गणेशथानको रिसाहा मूर्तिसँग एकदिन
साँझ झमक्कै परिसकेको थियो। बेगले बतास चलिरहेको थियो। हावासँगै धूलो उडिरहेकाले आँखा खोल्न निकै कसरत गर्नु पर्थ्यो। साँझको बेला त्यसमाथि काठमाडौँको बत्ती। बाटो पनि मुस्किल-मुस्किलले देखिन्थ्यो। पुतलीसडकबाट कमलादी हुँदै म घण्टाघरतिर जाँदै थिए। हावा चलेर वातावरण निकै चिसो भएको थियो। ज्याकेट थिएन। हाफ टिसर्टमा, जिउ तातो बनाउन दुवै हात बाँधेर जोडले अघि बढ्दै थिए। तर हावाको बेगले भने मला पछाडि धकेल्दै थियो। लाग्थ्यो, त्यो हावा मलाई अघि बढ्नबाट रोक्न खोज्दैछ। कानमा फुस्फुसाउँदैछ, 'ओइ दिपेश! फर्क, अगाडि नबढ!' तर म भने आफ्नै सुरमा अघि बढ्दै थिए।

एकेडमी हलको मुख्य गेटअघि आइपुगे, सडक पारीबाट एकडेमी हललाई हेरेँ, ठिङ्ग उभिएको छ। छायाजस्तो। एउटै बत्ती छैन। लाग्छ, त्यहाँ अन्तिम दर्शनका लागि राखिएका सबै लासहरु मिलेर अँध्यारो काठमाडौँलाई श्रद्धान्जलि दिइरहेका छन्। यस्तै कुरा मनमा खेलाउँदाखेलाउँदै एकेडेमी हल काटे। एकेडमीको छेउको सडकमा खासै चहलपहल थिएन। पर हिमालयन बैंकको गेटबाट एउटा गाडी निस्केर दरबारमार्गतिर लाग्यो। छेउको पसलमा एउटा केटो साहुजीसँग कुरा गर्दै थिए। सायद ग्राहक होइन होला। अर्को पसल काटियो। त्यहाँ साहुजी टिलपिले बत्तीमा पत्रिका पढदै थिए। छेउको चिया पसलको साउनी थालभरि रित्तो गिलास लिएर भित्र छिर्दै थिइन्, सायद भर्खर बाहिर गिलास माझेर आएकी होलिन्। 

कमलादी गणेशथान पुग्ने बित्तिकै खुट्टा अनायसै देब्रेतिर मोडियो। 

खासमा म धर्मात्मा पटक्कै होइन। भगवानको दर्शनमात्रै गर्ने उदेश्यले मन्दिर कहिलेकाँहीमात्रै पुगेको छु। भगवानप्रति आस्था भए पनि अप्ठ्यारो पर्दा मात्रै सम्झने गर्छु। तर पनि मठ मन्दिरलाई दाहिने पारेर हिँड्ने गर्छु। अझ राम्रो भइहाल्छकि भन्ने लोभले होला, सायद। कहिलेकाहीँ आफ्नो वरिपरि हेर्छु अनि सोच्छु, कुनै बेला मैले भगवानलाई प्रार्थना गर्दा यहीँ सबै त मागेको थिएँ। त्यो बेला भने भगवानप्रति धन्य हुन्छु। फेरि एकछिनमा बिर्सिहाल्छु। 

मन्दिरलाई दाहिने पारेर घुमे पनि म विरलैमात्र मन्दिरभित्र पस्ने गर्छु। झन् यस्तो चिसोमा जुत्ता खोलेर भित्र जाने आँटै आएन। मन्दिरभित्रको भुइँको मार्बलको चिसोले खाली खुट्टा छोएको सम्झेर बाहिरबाटै दर्शन गर्ने विचार गरेँ। मार्बल चिसो नभएको बेला पनि भित्र पस्ने त कहाँ हो र। जेहोस् बाहिरबाटै नमस्कार गरेर जाने कुरामा पक्का थिए। मन्दिरको ठ्याक्कै अगाडि पुगे।
 
आज अरु बेलाजस्तो थिएन, चुक घोप्ट्याएजस्तो अँध्यारो, कालो बादल मडारिरहेको, चिसो बतास चलिरहेको, बतासले एक प्रकारको सुइय्य आवाज गरिरहेको, सुनसान, कोही मानिसनै थिएनन्। वरिपरि कुदिहिँड्ने भुस्याहा कुकुरहरु पनि देखिएनन्। मन्दिरको देब्रेपट्टी रहेको पूजाको समान बेच्ने पसल पनि बन्द थियो। आज अरु दिनजस्तो सामान्य छैन भन्ने सोच्दै मन्दिरको मुख्य ढोकाको अगाडि पुगे। बाँधेको हात खोलेर नमस्ते गरे अनि आँखा बन्द गरे।
 
आँखा बन्द गर्ने बित्तिकै अगाडिबाट आवाज आयो 'दिपेश'। आँखा खोलेर यताउता चारतिर हेरे, कोही देखिएन। कोही होइन होला भनेर फेरि आँखा बन्द गरे। हातले त अघिदेखि नमस्ते गरिरहेकै थियो। 'दिपेश' फेरि त्यही भारी स्वरले बोलायो। आँखा खोले, वरिपरि दौडाए, कोही देखिएन। कस्को स्वर होला? पहिल्याउन खोजिरहे। तर दिमागमा कोही याद आएन। त्यो स्वर कसैको अनुहारसँग मिलेन। वास्तवमा म स्वरको विषयमा एकदमै जानकार छु। एकचोटी कुरा गरेको व्यक्तिले धेरै पछि फोन गर्‍यो भने पनि फ्याट्टै चिनिहाल्छु। तर यो आवाज़ भने पहिला सुनेको कुनै पनि आवाजसँग मेल खाएन। 'भित्र आऊ', फेरि त्यही आवाज कानमा गुञ्जियो। अब भने त्यो स्वर भएको व्यक्तिलाई नभई क्यामेरा खोज्न लागे। मान्छे भने कोही थिएन। कसैले मलाई जिस्काउन खोज्दैछ भन्ने पनि मनमा कताकता लागेर आयो। पक्कै पनि कुनै टेलिभिजनको कार्यक्रम होला।

फेरि कानमा गुञ्जियो 'दिपेश ! भित्र आऊ' यसपटकको आवाज भने आदेशात्मक थियो। आँखा घुमाइरहे। भित्र गइ अब यसको पर्दाफास गर्छु सोचेर विस्तारै देब्रे खुट्टाको बुढीऔंलाले दाहिने खुट्टाको पछाडि थिचेर जुत्ता खोले। देब्रे जुत्ता पनि दाहिने खुट्टाले त्यसरी नै बिस्तारै खोले। सुटुक्क मन्दिरभित्र गए। सकेसम्म आवाज ननिकाली सिँढी ओर्लिए। भित्र हेरे। मूर्तिको अगाडि एउटा दियो बलिरहेको थियो। बाटेको धूपको बासना नाकभित्र स्वाट्टै छिर्‍यो, धूप जलिसकेको थिएन। अर्थात् केही समयअघिमात्रै यहाँ कही पूजा गरेर गएको हुनुपर्छ। दिमाग अब बिस्तारै जासुसी गर्न थालेको थियो। पक्कै पनि टेलिभिजनको कार्यक्रम हुनपर्छ। लुकाइएको क्यामेरा खोज्दाखोज्दै मनमा अर्को कुरा आयो। यस्तो अँध्यारोमा खिच्ने क्यामेरा कस्तो होला? ISO त कम्तिमा १ लाखसम्म भएमात्रै खिच्न मिल्छ होला तर फेरि त्यत्रो ISO ले खिचेको भिडिओमा डिजिटल नोइजले टिभीमा देखाउन मिल्छ होला र? माइक्रोफोन पनि त होला नि, दिमागमा यस्तैयस्तै कुरा खेल्न थाले। आवाजको लागि स्पिकर पनि त हुनै पर्‍यो। 

'अगाडि आउ', फेरि आवाज आयो। योपल्ट आवाज कमलादी गणेशथानको मन्दिरभित्र रहेको सानो मन्दिरबाट आएको थियो। यो मन्दिर अरु मन्दिरभन्दा अलि फरक छ, यहाँ मन्दिरभित्र एउटा अर्को सानो मन्दिर बनाइएको छ। जसभित्र कमलादी गणेशको मूर्ति राखिएको छ। आवाज पक्कै त्यहीँबाट आएको हुनुपर्छ भन्ने लागेपछि त्यततिर लागे।

मन्दिरभित्रको अर्को सानो मन्दिरमा गमक्कसँग बसेको गणेश भगवानको मूर्ति थियो। चाँदीको श्रीपेच पहिरिएको, चाँदीकै मालाहरु लगाएको, निधारमा रातो टिका, निधारभन्दा अलि तल सुँढ, सुरु हुने ठाउँमा रातो ॐ लेखिएको। चार हात भएको, खुट्टाचाहिँ सबै चढाइएका फूलहरुले ढाकिएको थियो। फूलका वरिपरि केही पहेँला लड्डुहरु थिए। पित्तलको मूर्ति भए नि आँखाचाहिँ सेतो थियो। निक्खर सेतो। त्यसको बीचमा कालो थियो। त्यो हेर्दा लाग्थ्यो कि त्यो मूर्तिको आँखा हुनै सक्दैन। त्यही आँखा हेरिरहँदा एक्कासी मूर्तिबाट आवाज आयो 'मैले नै बोलाएको तिमीलाई', त्यसका बाजे! झसँगै भए! एकैचोटि मूर्ति बोल्दा त। स्वास बढेर आयो। खुट्टामुनि जमिन भासिएकोझैँ भयो। जिउ गलेर, स्वाँस्वाँ बढेर आयो। त्यति हुँदा पनि मनलाई भने दह्रो बनाएरै राखे। र आफू बिस्तारै सम्भालिने कोसिस गरे। मनमनै आफैलाई भने 'यो कुनै टिभीको कार्यक्रम हो' लुकेर सबै जना मलाई हेर्दै छन्। नडराइकन बस, दिपेश।'

'यो कुनै कार्यक्रम होइन' फेरि मूर्ति बोल्न थाल्यो। 'तिमीलाई मूर्ख बनाउन रचिएको खेल होइन', प्रस्ट पारे।

टिभी कार्यक्रमवालाहरुलाई मेरो नामचाहिँ कसरी थाहा भयो? एकछिन दिमाग लडाए। म यतिनै बेला यहाँ आइपुग्छु भनेर त कसैलाई थाहा पनि त थिएन। जासुसी दिमाग घुम्दै थियो। मनमनै अब सुइकुच्चा ठोक्न पर्‍यो भनेर पछि हट्ने निर्णय गरे।

'तिमीलाई हानी गर्ने मेरो उदेश्य होइन, भाग्ने कुरा नसोच।' मेरो मनको कुरा सबै सुनिरहेको थियो अनि त्यसको उत्तर दिँदै थियो- त्यो पित्तलको मूर्तिले। 

मूर्तिको मुखमात्रै होइन, आँखा अनि ती चार हातहरु पनि चलमलाउँदै थियो। त्यो निर्जीव मूर्तिमा ज्यान भरिएको थियो। 

'म को हुँ?' प्रश्न सोधियो। हात जोडेर भने- 'गणेश'। 
मुस्कुराउँदै मूर्ति फेरि बोल्यो 'गणेश के?' 
एकछिन जासुसी दिमाग घुमाए अनि बोले, 'प्रभु जात त थाहा भएन। सबैले गणेशमात्रै भन्न सिकाए'। 

अलि कठोर स्वरमा 'तिमी मानिस भनेकोजस्तो मचाहिँ को हो? जात होइन? 
'भगवान प्रभु भगवान' एकैचोटी मुखबाट निस्कियो।

'मेरो बारे अरु के थाहा छ?' मूर्तिबाट प्रश्न आउने बित्तिकै, दिमागमा आयो 'होइन यो हाजिरी जवाफ हो कि क्या हो?
मूर्तिको आँखा चम्किलो भयो अनि त आफै मुख चल्न थाल्यो। 

'हजुर भगवान हो। हिन्दुहरुले कुनै पनि पूजाआजा गर्नुअघि हजुरको पूजा गर्नुपर्छ अनिमात्रै त्यो पूजा सफल हुन्छ' जानेको सबै सुनाए। 

'थाहा रहेछ त' बिस्तारै सोचमग्न हुँदै मूर्ति बोल्दै गयो 'कुमार दादाहजुर र मेरो बीचमा को ठूलो भन्ने विवाद हुँदा बुवाहजुरले जसले सुमेरु पर्वत ३ चोटि घुमेर छिटो आइपुग्छ त्यही ठूलो' मर्जी भयो। बुवाहजुरको बोली भुइँमा झर्न नपाउँदै कुमार दादाको बाहन मयूर ठिक परिसकेको थियो। अनि त भुरुरु उडेर गइहाले। न म कुदेर जान सक्थे न त मेरो बाहनले नै मलाई बोकेर लान सक्थ्यो त्यसैबखत् मैले बुद्धि लगाए, अनि मेरो लागि सबै भगवान मेरा माता पितानै हुन्। मेरो लागि सुमेरु पर्वत पनि हजुरहरु नै भन्दै बाबा र मुवा हजुरलाई ३ फन्को घुमेर अगाडि आई दण्डवत गरे। मेरो बुद्धिमत्ता देखेर देवहरुको पनि देव मेरो बाबाहजुर महादेवले मलाई आशिष दिनुभयो 'अब पर्यन्त कुनै पनि पूजा अनि शुभ काममा गणेश पूजा सबैभन्दा पहिला हुनेछ। हुन त कुमार दादाले झ्याली भयो भोक हड्ताल गर्छु भनेर घुर्की पनि दिनु भएकै हो तर मैले कुमार दादालाई प्रस्ट भनिदिएँ 'त्यो सुमेरु पर्वत त तपाईँ होइन मयूरले पो घुमेको त। मयूरको सवारी गरेर हजुर गइसेको होइन? त्यति भनेपछि मात्रै चूप लागिसियो। 

'अब त्यत्रो दु:ख आर्जेको सम्मान अहिले मर्त्यलोकका मानिसहरुले चटक्कै बिर्सेपछि रिस उठ्दैन त? होइन मलाई मानेन त ठिक छ। व्यस्त भयो मनुष्य भनौँला तर मेरो सट्टा अरूलाई सबैभन्दा पहिला हरेक चिज चढाउँदा त चित्त सारै दुख्छ।' एकै सासमा बोली सुक्यो। मूर्ति, यो कुरा कस्लाई सुनाउ भइराखेको थियो होला सायद। साँच्चिकै चित्त दुखेको रहेछ। बोल्दाबोल्दै अन्त्यतिर त घाँटीमा के अड्केजस्तो स्वर आयो। 

हात जोडेर विस्तारै मैले बोल्न सुरु गरे, 'प्रभु मानिसहरु आजकल व्यस्त छन्। मर्त्यलोकमा जन्मेपछि विषेश गरी नेपाली भएर जन्मेपछि त हातमुख जोड्नै गाह्रो छ। त्यसकै जोरजाममा व्यस्त भएका होलान् प्रभु। हजुरलाई बिर्सेको त होइन होला। 

मेरो कुरा सकिन पनि नपाउँदै मूर्ति त जुर्रुक्कै उठ्यो, सेतो आँखा रातो पार्दै कराउन पो थाल्यो। ' व्यस्त भएर कहिलेकाहिँ बिर्सेको भए त ठिकै छ नि। हेला नै गरे र पो त ? पाखुरा सुर्कदै झनै पो ठूलो हुनथाल्यो त स्वर। 

परिवारमा नयाँ कसैको जन्म भए सबैभन्दा पहिले त्यसैलाई चढाउने
बेरोजगारले जागिर पाउँदा सबैभन्दा पहिले त्यसैलाई चढाउने
विद्यार्थीले जाँचमा पास गर्दा, सबैभन्दा पहिले त्यसैलाई चढाउने 
गायकले नयाँ गीत गाउँदा सबैभन्दा पहिले त्यसैलाई चढाउने 
नयाँ ठाउँ घुम्नजाँदा सबैभन्दा पहिले त्यसैलाई चढाउने
केही समान किने पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने
घरमा केही मिठो पाके सबैभन्दा पहिले त्यसैलाई चढाउने  
नयाँ लुगा किने पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने
नयाँ जुत्ता, नयाँ घडी, सरसामान, गाडी, जे किने पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने 
बिहे, वर्तवन्ध जे कर्मकाण्ड गरे पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने
जसले जे गर्दा नि सबैभन्दा पहिले त्यसैलाई चढाउने
हुँदाहुँदै शुभकामना पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने 
अनि श्रद्धान्जलि पनि सबैभन्दा पहिले त्यसैलाई चढाउने
अनि दुख्दैन चित्त? अनि सनकिँदैन त दिमाग।  

होइन सारै पो रिसायो त मूर्ति। अघिसम्म पाखुरामात्रै सुर्कँदै थिए। अहिले त उफ्रीउफ्री चिच्याउन थाल्यो बा। 'होइन ! यो भगवानसँग जोहरी खोज्ने को रहेछ' भनेर सोच्दै थिए मूर्ति त मेरो अगाडिनै आइसकेको रहेछ। दाहिने हातले ढोकातिर देखाउँदै अझै कराउँदै थिए' हेप्नुको पनि सीमा हुन्छ। चूपचाप बस्यो भन्दैमा अति गर्नुहुन्न। अझै सुध्रेन भने मैले जानेको छु। गएर भनिदेउ सबैलाई। मसँग जोहरी नखोज्नु'। यतिभन्दा भन्दै मलाई ठेलेर ढोकासम्म पुर्‍याइसकेका थिए। दुईटै दाहिने हातहरुले ढोकाबाहिर देखाउँदै थिए। लाग्थ्यो आदेश दिँदैछ। 'गइहाल, तुरुन्तै गइहाल, नत्र यहाँ जे पनि हुन सक्छ'। 

ढोकाबाहिर पुगेपछि बिस्तारै सोधे 'प्रभु हजुरसँग टक्कर लिने, हजुरलाई यसरी विचलित बनाउने त्यो मनुष्यले पुज्ने त्यो अर्कोचाहिँ को पर्‍यो हजुर? जतिसक्दो नम्र भएर सोधे। 

त्यस्तो सेतो आँखा त रगत चुहिएलाजस्तो रातो भयो, एक्कासी हावाहुरी बढेर आयो। उभिनै गाह्रो भयो। चट्याङ पर्न थाल्यो। 

आकाशवाणी भएझैँ स्वर गुञ्जियो 'फेसबुक' 'फेसबुक' फेसबुक'। 

ठूलो आवाज़ गरेर मन्दिरको ढोका ड्याम्म लाग्यो। कति ठूलो आवाज होला निन्द्रै खुल्यो। उफ! साह्रो गाली खाइयो। जिउ त पसिनाले निथ्रुक्क। धन्न सपना रहेछ। सपना भए पनि प्रभुको कुरा त सबैलाई सुनाइदिनै पर्‍यो भनेर यो लेखेको बरु गणेश भगवानलाई नै च्यालेन्ज गर्ने फेसबुकमा नै लेख्दा रिसाउने पो हुन् कि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट