PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खाँचो आलोचनात्मक मिडिया संस्कृतिको


राजेन्द्र किराती/पहिलोपोस्ट

खाँचो आलोचनात्मक मिडिया संस्कृतिको
विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै विश्वमा सूचना तथा सञ्चार जगतमा कायाकल्प भएकोछ। सिङ्गो मानव समाजको अभिन्न पक्ष नै मिडिया बनेको छ। छिटो, सहज र व्यावहारिक ढङ्गले आम मानवजगतलाई सञ्चार गर्ने माध्यमनै मिडिया हो। हरेक वर्ग, समुदाय र क्षेत्रका मानिसहरुको दैनिक तथा दीर्घकालीन क्रियाकलापहरुको अभिलेखीकरण गर्ने साधन मिडिया हो। अर्थात् आज कुनै मुलुक, समुदाय, दल, संस्था, समूह र व्यक्ति मिडियाको उपयोगबिना सफल हुन सक्दैन। सफलताको आधारभूत कडी नै मिडिया बन्दै गइरहेको छ। यसको सार्वभौमिकता, उपादेयता र सान्दर्भिकता ऐच्छिक होइन अनिवार्य भएकोछ। २१ औं शताब्दीको मिडियाको वास्तविकता यही हो।
 
इतिहासलाई नियाल्दा तत्कालीन शासकहरुले मिडियालाई शासनसत्ता रक्षाको साधन बनाएको देखिन्छ। उनीहरुले अन्याय र विभेदपूर्ण शासनलाई बचाउ गर्न मिडियाको भरपुर उपयोग गरे। आफ्नो गुणगान र महिमामण्डनको लागि सिङ्गो मिडियालाई होल्ड गर्दथे। जनस्तरमा मिडियाको पहुँच थिएन। तर सामन्तवादको अन्त्यसँगै पुजीवादी प्रजातन्त्रको स्थापना भयो। त्यसपछि सामन्ती राजतन्त्र वा कुलीनतन्त्रमा निहित निरपेक्ष शासकीय शक्ति केही सम्भ्रान्त र पढेलेखेका जनताको पहुँचसम्म विस्तार भयो। त्यस बेला समाजवादीहरुले सामूहिक अर्थतन्त्र अन्तरगतको राजकीयकरण र पुँजीवादीहरुले नाफामुखी अर्थतन्त्रको छहरीमा निजीकरणको वकालत गरे। यही विन्दुबाट निजी क्षेत्रमा मिडिया आरम्भ भयो।
 
आज सञ्चार प्रविधिको नाटकीय विकास र उपयोग भइरहेको छ। निजी मिडियाहरु च्याउसरि उम्रिएका छन्। नेपालकै सन्दर्भमा सामन्ती पञ्चायती शासनमा सरकारी सञ्चारमाध्यमहरुको एकाधिकार थियो। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि जनस्तरमा धेरै मिडियाहरु खोलिए। यता लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि त झनै छापा तथा विद्युतीय मिडियाहरु खोल्ने उभार नै चलेको छ। अर्को शब्दमा मिडिया क्षेत्रमा अभूतपूर्व क्रान्ति भएको छ। हाल नेपालमा झन्डै आठ हजार पत्रपत्रिका, सात सय रेडियो, पचासी वटाभन्दा बढी टिभी र दर्जनौं अनलाइन मिडियाहरुलाई इजाजत दिने काम भइसकेको छ। संख्यात्मक रुपमा मिडियाको यो तथ्याङ्क अत्यधिक हो। यसले नीतिगत, व्यवस्थापकीय र प्राविधिक जटिलता बढाएको छ। चुनौतीका अग्लाअग्ला पहाड उभ्याइदिएको छ, जुन निकै जटिल छ।
 
नियमतः वस्तुको संख्यात्मक विकासको पराकाष्ठा नै गुणात्मक फड्को मार्ने टर्निङ पोइन्ट हुन्छ। संख्यात्मक विकासको चरम अवस्था नै गुणात्मक परिणामको आधारशीला हो। संख्यालाई गुणमा बदल्ने प्रस्थान विन्दु नै यहीँनेर हुन्छ। त्यसैले आज नेपाली मिडियाको गुणात्मक विकासमा स्टेकहोल्डरहरुले सामूहिक तथा संस्थागत ध्यान दिन जरुरी छ। समाज रुपान्तरणमा मिडियाको औचित्य र महत्व यसको गुणात्मक विकासमा निर्भर हुन्छ। यसलाई गुणात्मक रुपान्तरण गर्न सकिएन भने यो अराजक, विवेकशून्य, अनुशासनहीन, अवस्तुवादी र अव्यावहारिक बन्दछ। त्यति मात्र होइन आफ्नो नीतिशास्त्रीय मूल्यमान्यताबाट गिरेर केवल नाफाको व्यापार, राजनीतिक तथा भावनात्मक ब्ल्याकमेलिङ गर्ने माध्यम बन्दछ जुन मिडियाको आदर्श होइन। त्यसैले संख्यात्मक अङ्क गणितलाई नीतिगत व्यवस्थापन र अनुगमनमार्फत गुणमा बदल्न जरुरी छ।
 
कुनै वस्तुको संख्यात्मक विकास र विस्तार हुनु नै चुनौती र जटिलता थपिनु हो। नियामक संस्थाको सही नीति र विधिद्वारा नियन्त्रण र निर्देशन नभए अराजकता र अव्यवस्थातर्फ धकेलिने खतरा हुन्छ। राजनीतिक परिवर्तनसँगै विशेष गरेर तेस्रो विश्वका मुलुकहरुमा मिडियाको आकार विस्तार भएसँगै अराजकता र अनुशासनहीनताको आयतन पनि बढेको छ।
 
वर्तमान लोकतान्त्रिक शासन व्यवस्थाअन्तर्गत नाफामुखी एकाधिकार पुँजीवादको वर्चस्व रहेको छ। यसले विश्वव्यापीकरण, उदारीकरण तथा निजीकरणमा आधारित एकाधिकार आर्थिक नीतिको वकालत गर्दछ। निजित्व र नाफाको पक्षपोषण गर्दछ। यसमा राजनीतिक, आर्थिक, सामरिक, सामाजिक, सांस्कृतिक, धार्मिक, दलगत, क्षेत्रगत, समूहगत र व्यक्तिगत निहित स्वार्थहरु टकराउँदछ। यस्तो परिवेशमा स्वतन्त्रता र आर्दश बोकेको वस्तु वा संस्था खोज्नु बनिबनाउ कल्पना मात्र हुन्छ।
 
आजको विश्व दलाल तथा नोकरशाही एकाधिकार पुँजीवादी साम्राज्यको राज्यरुप हो। नाफा र व्यापारमुखी एकाधिकार पुँजीवादी अर्थतन्त्रहो। साम्राज्यवादी सैन्य हस्तक्षेपको सामरिक नीति हो। उपभोक्तावादी सांस्कृतिक साम्राज्यको संस्कृति हो। यस्तो परिवेशमा जुनसुकै वस्तु वा संस्थाले सार्वभौम रुपमा वर्गपक्षधरता र स्वार्थ बोकेको हुन्छ। उपभोक्तावादी सांस्कृतिक धरातलमा कुनै वस्तु वा संस्थाहरुलाई आफ्नो आदर्श र मूल्यमान्यतामा रहेर काम गर्न कठिन हुन्छ। आज पत्रकारिता क्षेत्र पनि उपभोक्तावादी संस्कृतिवाट अलग छैन। मिठो खाइहाल्ने, राम्रो लाइहाल्ने, गुडिजाने, उडिजाने, रमीते डाँडाबाट रमितापान गरिहाल्ने, धनी बनिहाल्ने, नाफा गरिहाल्ने, मोजमस्तीमा रमिहाल्ने अनि भोगविलास गरिहाल्ने उपभोक्तावादी संस्कृतिबाट मिडिया पनि अछुत छैन। उपभोक्तावादी सांस्कृतिक रसायनले मिडियाको आदर्श, मूल्य, अनुशासन र नीतिशास्त्रलाई जोड्न सक्दैन। यो सैद्धान्तिक आदर्शविपरीत प्रवृत्ति हो।
 
अर्थात् मिडिया जगत् उपभोक्तावादी संस्कृतिद्वारा सङ्क्रमित छ।
 
सकरात्मकता, सृजनशीलता र वस्तुवादीताको स्थिति रक्षात्मक छ। निरपेक्ष नकारात्मकता हाबी छ। उपभोक्तावादी संस्कृतिले सृजनशील, सहयोगी, व्यावहारिक, वस्तुवादी र कर्मशील बन्न प्रेरित गर्दैन। आलोचनात्मक आलोचना र समर्थन गर्दैन। निरपेक्ष आलोचना, समर्थन र प्रतिशोध साँध्ने काम गर्दछ। आफूले सिन्को नभाँच्ने, अरुले गरेको नदेख्ने तर निहित स्वार्थको लागि अरुमा आशावादी भइरहने लम्पट प्रवृत्ति नै उपभोक्तावाद हो। यसले सम्पूर्ण मानव संस्कृतिलाई जस्तै मिडियालाई पनि प्रदूषित बनाएको छ। उपभोक्तावादी परिवेश, प्रवृत्ति र पाठकमैत्री बन्ने क्रममा आज नेपाली मिडियामा नकारात्मक घटना प्रवृत्ति मौलाउँदै गएको छ। नराम्रो घटनाको सनसनीमा ब्ल्याकमेलिङ गर्ने संस्कृति बढेको छ। यसमा परिवेशलाई ढाकछोप गर्दै सारभन्दा रुपमा ध्यान दिइन्छ। उदाहरणस्वरुप युवतीले आत्महत्या गरेको घटना उजागर गरिन्छ तर आत्महत्या गर्नुपर्ने सामाजिक विवशताको निर्मम परिवेशलाई नजरअन्दाज गरिन्छ। यसले बजार वा उपभोक्ता केन्द्रित सनसनीपूर्ण सामग्रीहरुलाई प्राथमिकतामा राख्दछ। यो प्रगतिशील पत्रकारिता संस्कृति होइन।
 
यही गलत संस्कृतिको कारण मिडियाप्रति नकारात्मक धारणा बढिरहेको छ। यहाँसम्म कि मिडियाले त लेखिहाल्छ, बोलिहाल्छ अनि विरोध गरिहाल्छ भन्ने गलत बुझाइ छ। यो मिडिया जगतको लागि दुर्भाग्य हो। मिडियाप्रतिको नकारात्मक धारणालाई सकरात्मक र सृजनशीलतामा बदल्नको लागि गलत प्रवृत्तिलाई सचेत, विवेकशील, अनुशासित र जिम्मेवार ढङ्गले सच्याउनुपर्दछ। समाज रुपान्तरणको हिस्सेदार एवं विभेद र अन्याय विरुद्धको साधन बनाउनुपर्दछ। आवाजविहीनहरुको आवाज हुनुको साथै शोषित उत्पीडितहरुको सारथि बन्नुपर्दछ। स्वार्थमा आधारित उपभोक्तावादी ब्ल्याकमेलिङ र प्रतिशोधको मनोविज्ञानलाई हटाउनुपर्दछ। तब स्वतःस्फुर्त सकारात्मक धारणा बन्नेछ।
 
तसर्थ, वर्तमान मिडियाको संख्यात्मक अङ्क गणितलाई गुणात्मक परिणाममा बदल्नु पहिलो कार्यभार हो। मिडियामैत्री संरचना बनाई नीति र विधिमार्फत नियामक निकायको प्रत्यक्ष निगरानी, नियन्त्रण र अनुगमनको बीचबाट मिडियाहरुलाई आलोचनात्मक समर्थन, गतिशील, सृजनशील र वस्तुवादी बनाई समाज रुपान्तरणमा सक्रिय गराउनुपर्दछ। अन्यथा समग्र मिडिया जगत् प्रतिशोध साँध्ने भाँडो, मागिखाने कमण्डलु, ठगी व्यापार र इमोशनल ब्ल्याकमेलिङको अस्त्र मात्र बन्नेछ। यस्ता सवाल मिडिया को लागि कलङ्क नै हुन्। यसरी मिडियाको दुरुपयोग गर्दा आममा बढिरहेको नकारात्मक प्रवृत्तिलाई मलजल पुग्दछ। त्यसैले सकारात्मक धारणा सहितको सृजनशील मिडिया संस्कृतिमा जोड दिन जरुरी छ। यस्तो मिडियाले मात्र राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सहयोगी भूमिका खेल्न सक्नेछ। बेथिति र विकृतिमाथि सुकीर्ति स्थापित गर्नेछ। आजको आवश्यक्ता सकारात्मक, सृजनशील र आलोचनात्मक मिडिया संस्कृतिको संस्थागत विकास गर्नु हो।
 
(किराती सूचना तथा सञ्चार मन्त्रालयका सञ्चार सल्लाहकार हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट