PahiloPost

Apr 23, 2018 | १० बैशाख २०७५

कञ्चन र कुसुम : बिक्रीका 'कमला'हरु


ऋषिकेश दाहाल/पहिलोपोस्ट

कञ्चन र कुसुम : बिक्रीका 'कमला'हरु
दुई साताअघि तरकारीवाली र यो साता बीबीसीबाट फर्किएर आएका पत्रकार सुमन खरेल नेपाली मिडियाको केन्द्रमा रहे। तरकारीवाली सोसल मिडियाले बनायो। सुमन खरेल भने कान्तिपुर टेलिभिजनमा प्रसारित उनकै सोले चर्चित रहे। मिडियाको चरित्र र त्यसको व्यापारिक स्वरुपलाई बुझ्न यी दुई प्रसंगहरु निक्कै रोचक हुन सक्छ। जो-जो यससँग जोडिए तिनीहरु पात्र मात्र हुन्, जो फेरिरहन्छन् तर प्रवृत्ति यथावत।

कमलाको कथा
डेली रिपोर्टरका स्टार जर्नालिस्ट जयसिंह यादव (मार्क जुबेर) ५ दिन घरबाट हराउँछन्। जुन दिन उनी घर फर्किन्छन्, उनीसँग खतरा स्कूप स्टोरी हुन्छ – विथ लाइभ सिमोइटिक्स। मतलब स्टोरी टेलिङका लागि उनको कलममात्र होइन, सशरीर पात्रसमेत उपस्थित छ। 

भारतमा महिलाको बिक्री हुने सुनिए पनि जयसिंह यादवले त्यसको प्रमाण जुटाउनुपर्ने थियो। प्रमाण जुटाउन उनी मध्यप्रदेशको एउटा देहाती गाउँ पुगे। एउटा दलालमार्फत् कमला (दिप्ती नवल) लाई किने र दिल्ली ल्याए। 

दिल्ली प्रेस क्लब ल्याएर उनले कमललाई सार्वजनिक गरे। सार्वजनिक गर्नुअघि उनकी पत्नीको भूमिकामा रहेकी शवना आजमीले कमलालाई लुगा फेराउन खोजिन्। पत्नीको कदमको विरोध जनाउँदै यादवले अर्ध नग्न शरीरमै कमलालाई सार्वजनिक गरे। 

एउटा तीतो यथार्थलाई सार्वजनिक गरेर वाहवाही लुटे पनि। सँगै उनकै पत्नीले उनको व्यवहारलाई 'व्यापारिक' सोच भएको भन्दै प्रश्न गरिन्, फिल्म त्यही द्वन्द्वको वरिपरि सकिन्छ। 

सन् १९८४ मा रिलिज भएको 'अडल्ट मुभी' कमला मिडियाको व्यापारिक चरित्रमाथिको उत्कृष्ट प्रस्तुति हो। सवना आजमी, दिप्ती नवल र मार्क जुवेरको प्रमुख भूमिका रहेको कमलाले मिडियाको सस्तो रुपको बलियोसँग आलोचना गर्छ। 

विकासको नारा सबैभन्दा धेरै लागे पनि विकासको गतिमा सबैभन्दा धेरै कमजोर नेपालजस्ता सबै मुलुकको कथा एकैखाले छ - कमलाजस्तै। परिस्थिति पनि एउटै। मिडियाहरु यस्तैमा बहकिने कथाको पछाडि दौडिन्छन्। कुसुम र कञ्चनका कथाहरु कमलाको सिक्वेल सिनेमाभन्दा कम छैनन्।

कञ्चन कि कमला  
'बडाले जो गर्‍यो हुन्छ सर्वसम्मत्
छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित' 

लेखनाथ पौडेलको कालजयी कविताले कञ्चनको कथा बताउँछ। तर, सञ्चारमा आएको क्रान्तिले यसलाई केही हदसम्म खण्डित गरेको छ। बीबीसीबाट रिटायर्ड भएर ('राष्ट्रवादी भएर फर्के' नभनेकाले) नेपाल आएका सुमन खरेलको कार्यक्रम निन्दित भएको छ यतिखेर।

त्यसो त नेपाली पत्रकारितामा पछिल्लो समय एकपक्षीय रोनाधोना अडियन्स अड्याउन सबैभन्दा बढी प्रयोग भएको अन्तर्वस्तु हो। दिलशोभा बचाउने अभियानदेखि कञ्चनसम्ममा महिलाका आँसु बेच्न मिडिया सबैभन्दा बढी सक्रिय रहे। आँसुको मूल्य कम हुन्न। आँसु झरिसकेपछि त्यसलाई परीक्षण आवश्यक नै रहेन किनभने मानिस त्यसै रुँदैन। 

वस्तुनिष्ठ हुनुभन्दा भावनामा बग्न सजिलो पनि छ। अनि अरुको पीडालाई पढ्दै त्यसमा बहकिनेहरु उत्तिकै छन्। कान्तिपुरबाट कञ्चनको अन्तर्वार्ता अन एअर भएपछि सामाजिक सञ्जालमा देशमा कामलाग्ने एकमात्र पत्रकारका रुपमा स्थापित भए – सुमन खरेल। तर उनको सोसल मिडियाको क्रेज खण्डित हुन समय लागेन। पौडेलको कविता झै शंकरको मगन्ते भेष निन्दित नभइ रहन सकेन। जयसिंह यादवले किनेर ल्याएकी पात्र झै बनिन् कञ्चन। उनका पतिले फेसबुकमा राखेको एउटा स्टाटसले नै कञ्चनलाई धमिलो बनाउन थाल्यो। सुमनको अन्तर्वार्ताको तारिफमा प्रसंसाका माला पहिर्‍याउनेहरु नै उनीविरुद्ध गालीका स्वर निकाल्न थाले। 

थाहा छैन बीबीसीका पूर्व पत्रकारले यसबाट नेपाली पत्रकारिताबारे के सिके। तर, पश्चिमा मिडियाबाट सिकेर गरिबी र पीडाका कथा बेच्दा होस पुर्‍याउनुपर्ने पाठ पक्कै उनले पाएको हुनुपर्छ। नेपाली पत्रकारितामा कहिले रसेन्द्र भट्टराई त कहिले अनुजा बानिया। र अहिले कञ्चनहरु जारी छन्। भावुक भइहाल्ने, पत्याइहाल्ने र आँसुमा बहकिने चरित्र कायम राखेसम्म पत्रकारितामा यस्ता व्यापारहरु कायम रहिरहन्छन्।

कुसुम कि कमला?
आँसुको व्यापारभन्दा ठीक विपरित छ तरकारीवालीको कथा। सामाजिक सञ्जालमा आएको फोटोकै भरमा कुसुम श्रेष्ठ अर्को कमला बनिन्। घर आउँदा परिवारलाई सघाउन गोलभेडाको भारी बजारसम्म पुर्‍याउँदा तरकारीवालीको इमेज ग्ल्यामरस दुनियाको गतिलो कन्टेन्ट बनिसकेको थियो। फोटो खिच्नेले उनको फोटो भाइरल बनायो त्यसपछि त्यसलाई लिएर भारतीय मिडियाले तरकारीवाली स्थापित गरे। त्यसपछिमात्रै मूलधारका मिडिया तरकारीवालीको हन्टमा निस्किए – मानौ तरकारीवालीबिना देश अधुरो र अपुरो छ। तरकारीवाली मिडियामा सबैभन्दा बढी विकास विषयवस्तु बन्यो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र संविधान संशोधनजस्ता विषयभन्दा पनि चासो तरकारीवालीमा गयो। कान्तिपुर साप्ताहिकले त उनको क्लिभेज नै देखिने गरी फोटो सुट गरेर ‘ब्लो अप’ छाप्यो। 

साप्ताहिकको यो पुरुषार्थ मिडियामा चर्चित बन्यो। फिल्म कमलाको यो दोस्रो रुप रह्यो। यहाँ आँसु बिकेको छैन। शरीर सुन्दर हुनेले तरकारीको भारी बोक्नु नै समाचारको विषय बन्ने रहेछ। सामाजिक सञ्जालमा त्यसपछि घाँसवालादेखि पानीवालीसम्म उत्रिए व्यङ्ग्य गर्दै।

'तरकारीवाली' भाषाकै हिसाबले भारततिर ढल्केको भाषा थियो तर यसलाई यति धेरै स्वीकार गरियो कि सामाजिक सञ्जालमा चर्चित राष्ट्रवादले पनि यसलाई देखेन।

अन्त्यमा,
मिडियाले पस्किने सामग्री एक हिसाबले व्यवसायिक उत्पादन नै भएपनि यससँग सामाजिक प्रणाली र पद्धति जोडिएको हुन्छ। संस्कार र परम्परा पनि जोडिएको हुन्छ। व्यापारमात्र गर्छु भन्ने हो भने फरक हो अन्यथा पत्रकारिता थोरै भए पनि 'बहुजन हिताय बहुजन सुखाय' हो भने सोच्न ढिलो भइसक्यो – कतिन्जेल हामी कमलाहरुको व्यापार गर्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट