PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्वस्त्र भएर नांगो नाच देखायो सिंहदरबारले तर संसद्ले देखाउन सक्दैन


धनराज गुरुङ/पहिलोपोस्ट

निर्वस्त्र भएर नांगो नाच देखायो सिंहदरबारले तर संसद्ले देखाउन सक्दैन
सभामुख महोदय, आज बिहानै म पशुपति दर्शन गर्न जाँदै थिएँ। गौशालानेर बाटो जाम भयो। एकाबिहानै बाटो जाम किन पर्‍यो म अलमलमा परेँ। पछि थाहा भयो- एउटा छाडा छोडिएको साँढे उभिएको रहेछ।
 
फेरि पशुपति क्षेत्र पुगिसकेपछि त्यहाँ एउटा साँढे थियो। बडो शालीनताका साथ भद्रताका साथ कर्तव्य निभाइरहेको। त्यो देखेपछि मैले पशुपतिनाथको अगाडि उभिएर संकल्प गरेँ, एउटा प्रण गरेँ कि त्यो गौशालाको चौबाटोमा नियमकानुन र संविधान मिचेर उभिरहेको त्यो छाडा छोडिएको साँढेलाई पनि तह लगाउँछु। र म यही पशुपतिनाथको अघि कर्तव्यबोध गरेर नियमकानुन र संविधानअनुसार बसिरहेको साँढेकै जस्तोगरी राख्नेछु। त्यही प्रण लिएर म यहाँ उभिएको छु सभामुख महोदय।
 
गौशालाको चौबाटोमा रहेको साँढेलाई पनि त्यही पशुपतिको साँढे जस्तै गरेर राख्ने छु भनेर संकल्प गरेर उभिएको छु। सभामुख महोदय म यहाँ। यो महाभियोगको प्रस्तावमा पनि त्यही संकल्प बोकेर आएको छु।
 
लोकतन्त्रमा संविधान र कानुनभन्दा माथि केही हुन सक्दैन। लोकतन्त्रको मेरुदण्ड हो कानुनी राज्य। त्यही कानुनी राज्यमाथि खिल्ली उडाउने गरी अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अदालतले म्याद तामेली गर्न पठाउँदा हप्तौंसम्म नदिएको सबैलाई थाहा छ। के कानुन र संविधानभन्दा माथि अख्तियार प्रमुख हुन सक्छ महोदय?
 
सार्वभौम जनताको सर्वोच्च निकाय संसदभन्दा माथि पनि कोही पनि हुन सक्दैन। तर यही संसदका संसदीय समितिहरुले अख्तियार प्रमुखलाई बोलाउँदा उनले संसद्लाई छल्ने काम गरे। संसदीय समितिलाई छल्न डाक्टरको रिपोर्ट देखाएर बोल्न नमिल्नेछ भन्ने अनि टेलिभिनमा अन्तर्वार्ता दिँदाचाहिँ बोली आउने?
 
सभामुख महोदय, के हो यो? के यो संसदीय समितिलाई छलेको हैन?
 
यही दुई वटा आधार पर्याप्त हुन्छ महाभियोगका लागि। त्यसकारण महाभियोगको ग्राभिटी पुगेको छैन कि भनेर शंका उपशंका गरिरहुनुपर्ने म देख्दिनँ। त्यसबाहेक महाभियोगमा लगाइएका दर्जनौं आरोप पनि यसका आधारहरु हुन्।
 
आज यिनै दुई प्रमुख आधार रहेको महाभियोगका सन्दर्भमा निवेदन गर्न चाहन्छु। यहाँ लाग्न सक्छ, छापामार शैलीमा रातारात महाभियोगको प्रस्ताव आयो। तर म निवेदन गर्न चाहन्छु, सभामुख महोदय।  डाक्टर गोविन्द केसीले पटकपटक घचघच्याइरहेपछि हाम्रो मानसपटल उघ्रियो र साउन ६ गतेको दिन कांग्रेसका सांसद् माननीय गगन थापा नेकपा माओवादी केन्द्रका सांसद् श्याम श्रेष्ठ र म मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि लाग्दै आएको आरोपलाई छानबिन गर्ने एउटै मात्र थलो संसद हो र त्यही संसदले निर्क्योल पनि गर्नुपर्छ भनेर हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं। त्यो पाटोमा म धैरै जान चाहन्न।
 
त्यही सार्वजनिक महत्वको प्रस्ताव एउटा जग हो यो महाभियोगको। उनले चलाएका बेथिति र विसंगति विरुद्धको। त्यसमा माननीय राधेश्याम अधकारीले बोलेर एउटा इँटा थप्ने काम गर्नुभयो यही संसदभित्र।
 
त्यही जगमा उभिएर एक सय ५७ जना सांसद्ले महाभियोग प्रस्तावका रुपमा लिएर आउनुभएको छ। म धन्यवाद दिन चाहन्छु, प्रस्तावक र समर्थक माननीयहरुलाई। जग देखिँदैन सभामुख महोदय। घर बनाउँदा गारो र छानो मात्र देखिन्छ। हामीले बनाएको जग देखिँदैन। अहिले गारो देखिएको छ, छानो छाइएको छैन। छानो छाउनका लागि प्रमुख तीन दल नमिली हुँदैन। त्यसकारण अब यो कसको एजेण्डा भन्ने हैन। त्यसरी बहस गर्नु पनि हुँदैन, यो सबै नेपाली जनताको एजेण्डा हो। त्यही दृढताका साथ हामीले यसको पक्षमा उभिनुपर्छ।
 
अहिले एउटा हल्ला चलाइँदैछ र त्यसमा एउटा आशंका पनि छ कि ठूलठूला नेताहरालाई भ्रष्टाचारको मुद्दा चलाइँदै थियो। त्यसकारण पनि उनीविरुद्ध रातारात महाभियोगको प्रस्ताव ल्याइयो भनेर। तर हामीले त्यसलाई गम्भीरताका साथ हेर्नुपर्छ कि त्यसमा साँच्चिकै सत्य छ कि छैन भनेर। जुनसुकै दलको ठूलो नेता भए पनि उनीहरुलाई भ्रष्टाचार भएको छ भने उन्मुक्ति दिन हुँदैन। हामी स्पष्ट हुनुपर्छ सभामुख महोदय के नेताहरुविरुद्ध मुद्दा चलाइँदै थियो?
 
जब अख्तियार प्रमुख लोकमानसिंहको मुद्दा पुनरावलोकन गर्न अदालतले निस्सा प्रदान गर्‍यो तब मात्र अख्तियारमा पत्रकार सम्मेलन गरी लडाकु शिविरमा भएको भ्रष्टाचार अभियोगको छानबिन गर्छु भनियो। तीन वर्षसम्म त्यो अभियोगपत्र किन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दराजमा थन्क्याइयो सभामुख महोदय, किन छानबिन गरिएन? जब उनको मुद्दामाथि अदालतले निस्सा प्रदान गर्‍यो तब अख्तियारले पत्रकार सम्मेनल गर्न मिल्छ कि मिल्दैन? यो छानबिन गर्न खोजिएको थियो कि ब्ल्याकमेल गर्न खोजिएको थियो? सभामुख महोदय, एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखले ब्ल्याकमेल गर्न मिल्छ कि मिल्दैन? यसतर्फ पनि ध्यानाकर्षण हुन आवश्यक छ।
 
म निवेदन गर्न चाहन्छु, म यो चिह्नका रुपमा अख्तियार आफैंले जारी गरेको वक्तव्य प्रस्तुत गर्न चाहन्छु। (हातमा अख्तियारको विज्ञप्ति देखाउँदै) यही वक्तव्यले भन्छ कि अख्तियारले कुनै नेतामाथि छानबिन अघि बढाइरहेको छैन। यो चार दिनअघिको वक्तव्य हो। यसले स्पष्ट हुन्छ कि कुनै पनि नेताहरुमाथि अख्तियारले कुनै पनि प्रकारको मुद्दा चलाउँदैछैन। यो प्रमाणका रुपमा म यहाँ राख्न चाहन्छु।
 
लोकमानसिंह कार्कीलाई बचाउनका लागि ठूलाठूला नेताहरुविरुद्ध यो ल्याइयो। त्यसकारण यो पारित गर्न हुँदैन भन्ने? सभामुख महोदय, यस्तो पनि तर्क हुन्छ?
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख कार्कीमाथिको महाभियोग कार्कीले मच्चाएको उदण्डताका विरुद्धमा हो। कुनै पनि व्यक्तिले पदको दुरुपयोग गरेर उदण्डता मच्चाउन पाउँदैन सभामुख महोदय। त्यही उदण्डताको विरुद्धमा आएको महाभियोग असफल बनाउन अनेक बहाना भएका छन् सभामुख महोदय। त्यसलाई कुनै पनि बहानामा असफल पार्न दिनु हुँदैन। वास्तवमा संवैधानिक निकायको प्रमुख पदमा बसेर जुन उदण्डता मच्चाइएको छ, त्यसकाविरुद्ध गोलबद्ध हुनु आवश्यक छ।
 
म सुन्दैछु, यो प्रस्ताव अघि बढायो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग निकम्मा हुन्छ। यो पारित गर्दा संवैधानिक निकाय निकम्मा हुन्छ भनेको पनि। यदि त्यसो भए हाम्रो संविधानको धारा १०१ खारेज गरिदिए भयो नि सभामुख महोदय। प्रयोजनमा ल्याउने नाममा धारा १०१ किन राखिराख्नुपर्‍यो संविधानमा। त्यसकारण म निवेदन गर्न चाहन्छु- कार्कीलाई जोगाउन धेरै चलखेल पनि सुरु भएको छ।
 
त्यसैले निवेदन गर्न चाहन्छु अदालतले लोकमान नियुक्तिको फाइल माग्दा सिंहदरबारले निर्वस्त्र भएर नाङ्गो नाच देखायो। अब संसद्ले पनि त्यसरी निर्वस्त्र नाच्न मिल्दैन सभामुख महोदय। नेपालीको स्वाधीनता र स्वाभिमानको विषयसँग जोडिएको छ यो विषय। यस्ता पद त आउँछ जान्छ। तर नेपालीको स्वाभिमान गुम्यो भने त्यसलाई फर्काउन धेरै वर्ष हामीले कुर्नुपर्ने हुन सक्छ। मेरो पदका लागि म त्यति मोहित छैन, म मा पदलिप्सा छैन। त्यसकारण मेरो पद जान्छ भने जाओस् तर म नेपालीको स्वाभिमान झुक्न दिनेछैन सभामुख महोदय।

(नेपाली कांग्रेसका सांसद् धनराज गुरुङले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका विषयमा संसदमा शुक्रबार राखेको धारणा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट