PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यस्तो हुँदैछ ​​पाटनमा फोटो उत्सव


​किशोर शर्मा/पहिलोपोस्ट

यस्तो हुँदैछ ​​पाटनमा फोटो उत्सव
पाटन दरबार क्षेत्रमा रहेको पुरानो अदालत भवनमा गत साल अस्ट्रेलियन फोटोग्राफर फिलिप ब्लेंकिन्सपका श्याम-स्वेत तस्विरहरु झुन्डिएका थिए। हातमा बन्दुक बोकेका माओबादी छापामारदेखि, राजा वीरेन्द्रको शव यात्रा हुँदै गढीमाई मेलाका तस्विरहरुले भरिएको थियो अदालत भवनको पहिलो तल्ला। एक बृद्ध महिला आएर राजा वीरेन्द्रको फोटो सुम्सुमाएको दृश्यले ब्लेंकिन्सपको मन छोएछ, उनी पछि सम्म उक्त कुरा सुनाइरहेका थिए।
 
नेपालमा आयोजना गरीएको पहिलो अन्तर्राष्ट्रिय फोटो उत्सव 'फोटो काठमाडौं'को अवसरमा पाटन दरबार क्षेत्रमा यस्तै सार्वजनिक स्थानमा १८ वटा फोटो शृंखलाहरु प्रदर्शनीमा राखिएका थिए। पाटनका गल्ली र सडकमा राखिएका फोटाहरुले स्थानीय र पाटन घुम्न आएका सबैलाई उत्सुक बनाएको थियो। 
 
अंग्रेज शासित भारतबाट आएर सन् १८६३ ताका क्लारेंस कोमिन टेलर ले प्रथम पटक राणा प्रधानमन्त्री जंगबहादुर राणा लगाएत विभिन्न जात-जाति र स्थानहरुको फोटो खिचेबाट नेपालमा फोटोग्राफीको सुरुवात भएको मानिन्छ। स्मरण रहोस, स्थायीरुपमा फोटो बनाउने प्रबिधिको आविस्कार भएको करिब ३ दशक पछि मात्रको कुरा हो यो। त्यसबेलाका राणा शासकहरुले शोखका रुपमा भित्र्याएको प्रबिधि दरबार निकट रहेका चित्रकार तथा सम्पन्न नेवार परिवारमा आएको र उनीहरुले नै प्रथम पटक फोटो स्टुडियोहरुको सुरुवात गरेको इतिहास पाइन्छ। आम नेपालीको लागि यो प्रविधि सुलभ भएको निक्कै पछि मात्रै हो।
 
यी १५० वर्षमा भने धेरै परिवर्तनहरु आइसकेका छन्। सम्पन्न र पहुँचवालले मात्रै खिच्ने, फोटो खिच्न परिवारनै जम्मा हुने, कुनै ठुलो उत्सवमा मात्रै फोटो खिचिने चरण पार गरेर प्रायको हातमा फोटो खिच्न समर्थ स्मार्ट फोन भएको जमानामा हामी आईपुगेका छौँ। फोटो बिनाका पत्रिका, बिज्ञापन सामग्री वा अनलाईन माध्यम बिरलै होलान। फोटो सोखका लागि वा पारिवारिक उत्सवहरुमा खिचिने कुरा मात्रै अब रहेन। ऐतिहासिक घटना हरुको अभिलेख राख्ने साथै कला र  अभिव्यक्तिको एउटा सशक्त माध्यमका रुपमा पनि यसले आफुलाई उभ्याएको छ। जसरि माध्यमहरु फरक छन्, त्यसैगरी यसका उद्देश्यहरु पनि फरक हुने नै भए।
 
फोटोका माध्यमबाट कुनै सुन्दर दृश्यलाई कैद गर्न सकिन्छ, कुनै घटना वा दुर्घटनाका दृश्य देखाउन सकिन्छ भने बिसुद्ध व्यक्तिगत र मनोगत कला सामग्रीको रचना गर्न पनि सकिन्छ।


अजादेअख्लागी| इरान

फोटो काठमाडौंको दोश्रो संस्करणमा प्रदर्शन हुन लागेको एउटा शृंखलामा इरानी फोटोग्राफर अजादे अख्लागीले माथि उल्लेखित मध्यको तेस्रो बाटो चयन गरेकी छिन् तर यथार्थको जगमा बसेर। जसरि नेपाली इतिहासको कालखण्डमा विभिन्न रहस्यमयी हत्याकाण्ड र घटनाहरु भएका छन्, त्यसैगरी इरानको इतिहासमा भएका घटनाहरुलाई लिएर अख्लागीले एउटा शृंखला तयार गरेकी छन् जसमा ती घटनाहरुलाई चलचित्रका दृश्य जस्तै गरी संयोजन गरेर फोटो खिचिएका छन्। लामो समयको अध्ययन र अनुसन्धान पछि तयार पारिएका दृश्यहरु बनावटी हुन् तर इतिहासको कुनै खण्डमा भएको सत्य घटनामा आधारित भएकाले हामी सोच्न बाध्य हुन्छौं। यो शृंखलालाई थप व्यक्तिगत र रोचक बनाउने भनेको हरेक फोटोमा रातो शल ओढेर देखा पर्ने फोटोग्राफर आफैं हुन् र शृंखलाको नाम उनले दिएकी छिन् “बाइ एन आइ-विट्नेस“।
 किम हाक| क्याम्बोिडया

त्यसै गरी क्याम्बोडियन फोटोग्राफर किम हाकले पनि क्याम्बोडियाको द्वन्द्वकालिन इतिहासलाई उप्काउने प्रयास गरेका छन् आफ्नो फोटो शृंखला मार्फत। खमेर शासनकालमा त्यस्ता खालका कागजपत्र वा पुस्तकहरु जानीजानी नष्ट गरिन्थ्यो जसले कुनै व्यक्ति शिक्षित छ भनेर प्रमाणित गर्थ्यो। केही व्यक्तिले भने जोखिम मोलेर आफ्ना प्यारा जिनिसहरु गाडेर वा अन्य तरिकाले लुकाए। किम हाकले त्यस्तै बस्तु हरु खोजेर आफ्नो फोटो शृंखला तयार परेका छन् जसको नाम उनले दिएका छन् 'अलाइभ' अर्थात् जीवित। "युद्धले कसैको हत्या गर्न सक्छ तर जीवितहरुको यादलाई मार्न सक्दैन। यी याद हरुलाई जीवित राख्नु पर्छ, अहिलेका पुस्ता संग बाँड्नु पर्छ र भविष्यका लागि संरक्षण गर्नु पर्छ", हाक आफ्नो कामको बारेमा भन्छन्।
तिस्नम अल सुल्तान| साउदी अरब
 
साउदी अरबकी फोटोग्राफर तस्निम अल सुल्तानको मन छुने शृंखलाले हामीलाई यो मुलुकको अर्को पाटो देखाउँछ। "साउदी टेल्स अफ लव" नामको यस शृंखलामा उनले साउदी समाजको प्रेम, विवाह र सम्बन्ध बिच्छेदका आयामहरु खोतल्ने जमर्को गरेकी छिन।

बंगलादेशी फोटोग्राफर जन्नतुल मवाको घरमालिक र घरायशी कामदारलाई सँगै राखेर खिचिएका फोटाहरु सारै सुन्दर छन् तर फोटोमा देखिने मान्छेका हाउभाउले अव्यक्त कथाहरु भनिरहे झैं लाग्छ।

स्पेनिस फोटोग्राफर अरान्त्छा सेडिल्लोको पुराना स्टुडियोका पर्दालाई पृष्ठभूमिमा राखेर खिचिएको कलात्मक शृंखलामा भने हामी नेपालमा आफ्नो क्षेत्रमा अग्रणी भूमिका खेलेका महिलाहरुको तस्विर देख्न पाउँछौँ। 
जन्नतुलमवा| बांगलादेश

नेपाली फोटोग्राफर शिखर भट्टराईले अन्नपुर्ण हिमाल पारी रहेको मार्फाको दैनिकी लाई आफ्नो शृंखलामा उतारेका छन्। प्रसिद्ध पर्यटन गन्तब्यमा रहेको तर पर्यटकका आँखा बाट लुकेर रहेका विषयबस्तुमा भट्टराईको शृंखला केन्द्रित छ।

फ्रान्सेली फोटोग्राफर स्यान्ड्रा क्यल्लिगारोको 'अफगान ड्रिम' नामक शृंखलामा हामी संचारमाध्यममा बिरलै देखिने युद्धग्रस्त अफगानिस्तानी जीवनको अर्को आयाम देख्न पाउँछौँ।

शिखर भट्टराई | नेपाल

मलेसियन मुलका इयन टे का तस्विरमा हामी यांग्सी नदी छेउका बस्तीहरुको दृश्य पाउँछौँ जसको अस्तित्व अहिले छैन। त्यस्तै यसै उत्सवको एउटा भागका रुपमा रहेको दलित: आत्मसम्मानको खोजी नामक प्रदर्शनी पाटन संग्राहलयमा दुई साता अघि नै सुरु भैसकेको छ।
 
सहभागी कलाकारहरूको कृति मार्फत फोटो काठमाडौँमा दर्शकले मानव स्वभावले कसरी  द्वन्द्व, विपत तथा व्यक्तिगत चुनौती माथि विजय हासिल गर्न सक्छ भन्ने कुरालाई केलाउने मौका पाउने छन्। साथै एशियाका विभिन्न मुलुकबाट संकलन गरिएको संघर्ष तथा विजयका कथाहरू पाटनका गल्ली गल्लीमा प्रस्तुत हुने छन्। यस मार्फत् चुनौतीहरूको सामना गर्ने र त्यसमाथि विजय हासिल गर्ने दृढता दर्शकहरुमा थपिनेछ तथा उनीहरुलाई नयाँ महत्वाकांक्षा र सपना स्याहार्ने प्रेरणा मिल्नेछ भन्ने महोत्सवका आयोजकहरुको आशा रहेको छ। दुई साता सम्म चल्ने यस फोटो उत्सवमा फोटो प्रदर्शनीका साथै फोटोग्राफी कार्यशाला, कलाकार अन्तरक्रिया, पोर्टफोलियो रिभ्यु, कलाकारहरूको आवासीय कार्यक्रम सन्ध्याकालीन स्लाइड सो लगायतका कार्यक्रमहरु राखिएका छन्। कलाकारहरूको आवासीय कार्यक्रम भने ४ असोज, २०७३ देखि शुरू भइसकेको छ। कार्यक्रम अन्तर्गत छ जना कलाकारहरू चार हप्तासम्म पाटनको एउटा घरमा सँगै बस्नेछन् र विविध कलामाध्यम एवं त्यसको अभ्यासबीचको अन्तरसम्बन्ध र अन्तरक्रियालाई अध्ययन गर्नेछन्। उनीहरुले यो अवधिमा गरेको सिर्जना पनि यसै उत्सवको बेलामा प्रदर्शन गरिनेछ।
 स्यान्ड्रा क्यिल्लगारो | फ्रान्स

नेसनल जिओग्राफिकमा फोटो सम्पादकका रुपमा कार्यरत प्याट्रिक विट्टी, स्विस फोटोग्राफर यान मिंगार्ड र जर्मन क्युरेटर तथा फोटो एडिटर लार्स विलमाइट, भारतका प्रसिद्ध फोटोग्राफर पाब्लो बार्थोलोम्यु सिंगापुरका फोटोग्राफर र प्रसिक्षक केभिन डब्ल्यु वाई ली, अमेरिकन फोटोग्राफर केभिन बुब्रिस्कि, नेपाली फोटोग्राफरहरु शिखर भट्टराई र म आफैँ तथा लेखक प्रविण अधिकारीले विभिन्न कार्यशाला पनि संचालन गर्नेछन्।
 
एउटा रोचक तथ्य के छ भने फोटोग्राफीको आविस्कार भए पछि पेंटिंगको अवशान हुने डर धेरै कलाकारमा उत्पन्न भएको थियो। त्यस्तै, भनिन्छ कि सुरुवाती ताका फोटोपत्रकारलाई दोश्रो दर्जाको रिपोर्टरको ब्यावहार गरिन्थ्यो। एडिटरले क्यामेरा मिलाएर बटन थिच्न मात्र पठाउँथे भनेर घोचपेच समेत गर्ने गरिन्छ भने फोटो र पेंटिंगको विवाद त अहिले सम्म पनि चल्ने गरेको छ। तर समयक्रममा फोटोग्राफर- फोटोपत्रकार आफैं रचनाकार हुन थालेको र फोटो आफैंमा अभिव्यक्ति को एउटा सशक्त माध्यम बन्न सक्छ भन्ने विचार घनिभूत भएर आएको पाइन्छ।
 
स्थापनाकालदेखि नै नेपालमा फोटोग्राफीको विकाश-विस्तारमा प्रयासरत रहेको संस्था फोटो सर्कलले यो फोटो उत्सव मार्फत् दृश्य माध्यममा काम गर्ने कलाकार, फोटोग्राफी क्षेत्रका अग्रणी व्यक्तित्वहरु र दर्शकलाई एउतै मंचमा ल्याउने जमर्को गरेको छ। फोटोग्राफरका रुपमा, कलाकारका रुपमा, पत्रकारका रुपमा वा दर्शकका रुपमा सबैजना यो उत्सवमा सहभागी हुन सक्नुहुन्छ।
  
‘फोटो काठमाडौँ’  नेपालको एक मात्रै अन्तर्राष्ट्रिय फोटो महोत्सव हो। यो महोत्सव दोश्रो पटक ५ देखि १८ कार्तिक २०७३ सम्म पाटनमा सम्पन्न हुँदैछ। यसको पहिलो संस्करण १७ देखि २३ कार्तिक २०७२ मा पाटनमा नै सम्पन्न भएको थियो।
अरान्त्छा सेडल्लो| स्पेन


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट