PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'सवारीलाई त हामीले रानीवनमा उहिल्यै थन्क्याइसकेको होइन!'


दीपज्योति श्रेष्ठ/पहिलोपोस्ट

'सवारीलाई त हामीले रानीवनमा उहिल्यै थन्क्याइसकेको होइन!'
आज त टाइममै अफिस पुग्छु भनेर ८ बजे पाकेको खाना पनि छाडेर हतारहतार हान्निएँ माइक्रो स्टेसनतिर। मनमैजुमा अफिस टाइम सुरु हुनुअघि निस्कियो भने माइक्रो चढ्न लाइन बस्नुपर्दैन। त्यही भएर म अक्सर घरबाट अरुभन्दा छिटो निस्किन्छु, आज त तुलनात्मक रुपमा अझ चाँडै निस्किएँ। 

बिहानै त ट्राफिक जाम नहोला- करिब आधा घन्टामा सुन्धारा पुग्छु अनि कात्यानीको टेम्पोले अलिक टाइम लगाउँछ यताउता गरेर जसरी नि ९:१५ सम्ममा त अफिस पुग्छु भन्ने थियो। समयको क्यालकुलेसन गर्दै सदाझैं फुरुक्क परेर गाडी चढेँ। 

गाडीमा अक्सर बोर लाग्ने भएर म प्राय: किताब पढ्छु किनकि त्यति बेला दैनिक तालिकामा अलिकति फ्री पाउँछु। आज भने हिजो अफिसमा हालेको ‘लोकमतको खोजी’ पढ्न मन लाग्यो। हाम्रोतिरको माइक्रो उही त हो- जति छिटो चढे पनि सार्वजनिक बिदामा समेत खचाखच हुनु स्वाभाविक हो। फरक यति हो कि तपाईंले सीट पाउनुभयो कि उभिन पर्यो। म भने सीट पाउने भाग्यमानीमै पर्छु किनकि मेरो यात्रा स्टेसनबाटै सुरु हुन्छ। 

आज भने म महिला सीटको रिजर्भेसनको उपयोग गर्दै लोकतन्त्रको मजा लिँदै किताबतिर ध्यान लाउँदै आएँ। लोकतन्त्रका ठूलाठूला व्याख्यामा रमाउदै थिएँ- गाडी लैनचौरमा टक्क अडियो। चारैतिरबाट कोभन्दा को अगाडि पुग्ने मेसोमा छरिएका अव्यवस्थित गाडी र तीनका कर्कश हर्नले शान्ति दिवसका दिन पनि कोलाहल मच्चियो। मैले किताबबाट आँखा हटाएँ र गाडीको झ्यालबाट बाहिर चिहाएँ। सडक भद्रगोल रहेछ- यत्रतत्र छरिएका स्कुलका गाडी, एम्बुलेन्स, सार्वजनिक सवारीसाधन, प्राईभेट सवारीसाधनहरु।

मोबाइलमा टाइम हेरेँ- भर्खर ८:२० भएको रहेछ। माइक्रोबाट गन्तव्य समयमा पुग्न नपाउनुका विवश आवाजहरु ओइरिए- ‘एकाबिहानै हैन केको जाम हो यो?’ 

ड्राइभरले व्यंग्यात्मक पाराले प्रतिउत्तर दिए- ‘सवारी छ रे!’ 

फेरि एक बुज्रुक प्यासेन्जरले अर्को व्यंग्य हाने, ‘अब सवारी भन्ने होइन। को गयो को आयो भन्नुपर्छ। सवारीलाई त हामीले रानीवनमा उहिल्यै थन्क्याइसकेको होइन!’ माइक्रोमा एक छिन हाँसो फैलियो।

कुन्नि कसको पट्यारलाग्दो सवारीको पर्खाइमा एक छिन भने पनि पोलिटिकल प्रहसन राम्रैसँग जम्यो गाडीमा। म भने आफ्नो हातमा रहेको किताबको लोकतान्त्रिक व्याख्या र दैनिक जीवनमा आफूले भोग्नुपरेको लोकतन्त्रको देनलाई मनमनै विश्लेषण गरेँ र मुस्कुराएँ। जसले जतिसुकै तर्कवितर्क गरे पनि आखिर त्यो १५ मिनेटको प्रहसनमा भनिएझैं ‘तन्त्र जे जे आए पनि हामी नागरिकमाथि शासन  गर्ने तरिका फेरिएको छैन’ भन्ने कुरामा म पनि नजानिदो पाराले सहमत भएँ। किनकि यो यदाकदा १-२ दिनको सास्ती होइन नागरिकले भोग्नुपरेको। हरेक दिनजसो उही कहानी- बिहान जाँदा बेलुका फर्कँदा।

उसै पनि काठमाडौं ट्राफिक जामबाट कहिल्यै मुक्त हुन सकेको सहर होइन। त्यसमाथि दैनिकको यो सास्ती। हजारौं मानिसको दिनको ऊर्जा नै आधा घटाउँछ केही मान्छेको विलासीताको यो लतले। तर साँच्चि नै सोच्ने हो भने नेपाली राजनीति जहिले यसरी कमेडी र प्रहसनमै मात्र सीमित हो त? नागरिकको दैनिकी सहज बनाउन, नागरिकको सुविधाको बारेमा काम गर्नको लागि त हामीले ती बुज्रुक प्यासेन्जरले भनेझैं सवारीलाई रानीवनमा थन्क्याएका थियौं। तर पनि अवस्था उही नकाव मात्र फरक भयो भने आखिर आम मान्छेले के पाए त यी परिवर्तनहरुबाट?

सुनेको थिएँ- अन्य देशमा त यस्तो हुँदैन रे। तर हम्रोमा आखिर किन डराउँछन् होला? ‘नबिराउनु, नडराउनु’ भनेझैं राम्रो काम गर्नु। शानले हिँड्नु नि!

समाचारमा देखेको थिएँ- आज विदेशबाट फर्किएका उपराष्ट्रपतिलाई विमानस्थलमै स्वागत गर्न प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सुरक्षा अङ्गका प्रमुखहरु अनि सरकारका सचिवहरु पुगेका रे।

अचम्म लाग्छ, सवारी पनि कति गर्छन् मेट्रो ट्राफिकले भन्ने गरेका यी अति विशिष्ट व्यक्तिहरुले। हिजो बेलुका घर फर्कँदा पनि सवारी भन्दै थियो। आज बिहानै पनि सवारी! 

समयमै अफिस जान पाइँदैन। साँझ घरमा जहिले किचकिच ढिलो भएकोमा! यिनीहरुको सवारीको चापमा सधैं हाम्रो भने समय बर्बाद हुने भो भनेर फेरि मैले नबुझेको लोकतन्त्रलाई बुझ्न किताबतिरै आँखा लगाएँ। आखिरमा जेजे तन्त्र भनिए पनि त्यसका अर्थ र व्याख्या किताबकै ठेलीमा मात्र त भेटिने रहेछ। यथार्थमा त शासन प्रणाली उही त रहेछ नि! (फोटो : रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट