PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संकटग्रस्त समाज, फ्लक डेभिल र मिडिया


केशवी जोशी/पहिलोपोस्ट

संकटग्रस्त समाज, फ्लक डेभिल र मिडिया
हाम्रो समाजमा पछिल्लो समय विभिन्न हिंसात्मक घटना बढ्दै गएका छन्। चाहे त्यो सामाजिक होस् वा राजनीतिक। एकातिर देश संघीयतातिर मोडिँदैछ भने अर्कातिर राजनीतिक अस्थिरता बढ्दै गएको छ।
 
संघीयताको नाममा हुने गरेको विरोधका कारण अराजक गतिविधिहरुले तीव्रता पाउने र त्यसको सास्ती जनताले पाउने गरेका छन्।
 
राजनीतिक पार्टीले एक-अर्कासँग मलेर अघि बढ्नुपर्ने समयमा पार्टीभित्रै फुट सिर्जना गरिरहेका छन्। गुट–उपगुट बनाउँदै आफ्नै पार्टी कमजोर बनाउँदैछन्। जसलाई मिडियाले अतिरञ्जित बनाउँदै बाहिर ल्याउने गर्छ। यसले अडियन्स (जनता) लाई दिग्भ्रमित बनाउने काम गर्छ। उनीहरुमा रानीतिक पार्टी र सरकारप्रति तिक्तता र वैराग्य सिर्जना गर्छ।
 
जनताले आदर्श मानेका नेता, पार्टी र सरकारको यस्तो रवैयाले उनीहरुमा मानसिक र नैतिक (मोरल प्यानिक) खलबली वा संकट पैदा गर्छ, एक किसिमको त्रासको वातावरण निर्माण हुन्छ। उनीहरु त्यसबाट बाहिर आउने बाटोको खोजीमा हुन्छन्। र, त्यसै बेला बाहिरी शक्तिले जनता, राजनीतिक दल र सरकारबीचमा दरार पैदा गर्दै आफ्नो वर्चस्व कायम गर्छ। र, षडयन्त्र रच्न सफल हुन्छ।
 
अहिले नेपाली जनता अस्थिर राजनीतिक घटनाक्रमका कारण यस (पोलिटिकल मोरल प्यानिक) का सिकार भएका छन्। जसका कारण आफ्नो भविष्य अन्धकार भएको भान उनीहरुमा परेको छ। त्यसका बारेमा नेपालका ठूला मिडियाहरुले समेत ख्याल गरेको देखिँदैन। कस्ता विषयलाई प्राथमिकता दिने र कसलाई गौण बनाउने भन्ने विषयमा नेपाली मिडिया अझै अन्योलमा छ। मिडियाले पालना गर्नुपर्ने सामाजिक उत्तरदायित्वको समेत परबाह गरेको देखिन्न।
 
मोरल प्यानिकका घटनाहरु राजनीतिक मात्र नभएर सामाजिक, सांस्कृतिक तथा अन्य क्षेत्रबाट समेत निम्तिने गर्छन्। नेपाल जस्तो विकासोन्मुख मुलुकमा त्यस्ता घटना निम्त्याउने प्रमुख राजनीतिक दल र तिनका जिम्मेवार नेता, मन्त्री, सरकारी कर्मचारी, कलाकारिता क्षेत्रका व्यक्तित्व, रुढीवादी परम्परा, झाँक्री तथा बोक्सीको आरोप खेपिहरेका मानिसदेखि आधुनिकतालाई अँगाल्नेहरु समेत रहेका छन्। त्यस्ता अराजक व्यक्तिलाई ‘फ्लक डेभिल’ (समाजको हित विपरीतको कार्य गर्ने वा हिंसा फैलाउने व्यक्ति) भनिन्छ। भनौं सामाजिक सुशासन बिथोल्ने जो कोही पनि ‘फ्लक डेभिल’ बन्न सक्छ। तर, त्यसको प्रचार गर्ने काम मिडियाले गर्छ।
 
सोसल मोरल प्यानिकको उदाहरणको रुपमा पछिल्लो समय आफ्नो छोरो बचाउन अरुको छोरालाई बलि दिएको घटनाले धेरैलाई स्तब्ध बनाएको घटना लिन सकिन्छ। नेपालमा कहिले नसुनिएको नरबलि जस्ता अमानवीय र हिंसात्मक घटनाले सामाजिक सुशासन र सुव्यवस्थामा मोरल प्यानिक (नैतिक संकट) उत्पन्न भएको छ। नेपाल मात्र नभएर विश्वमा नै मोरल प्यानिकका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। जसले गर्दा समाजमा सधैंजसो एउटा न एउटा मुद्दाले त्रास फैलाइरहेको हुन्छ। समाजमा निर्धक्क भएर हिँड्न सक्ने वातावरणको कमी हुँदै गएको महसुस गर्न थालेका छौं। त्यस्ता त्रास फैलाउने कतिपय घटनालाई सञ्चारमाध्यमले अतिरञ्जित गरिदिँदा तनावलाई झन् बढावा दिइरहेको हुन्छ। सामाजिक प्राणी भएका कारण हामी शारीरिक वा मानसिक रुपमा कुनै न कुनै बेला मोरल प्यानिकका सिकार बनेका हुन्छौं।
 
समाजमा फ्लक डेभिलका रुपमा जो पनि उभिन सक्छ। तर फरक यति हो कि त्यसको सार्वजनिक छवि अनुसार सञ्चारमाध्यमको चासो पनि वृद्धि हुन्छ। मिडियमले त्यसलाई त्यति नै परसम्म पुर्‍याउने काम गर्छ। कुनै घटनाले एउटा सानो समुदाय मात्र नभएर देश र विदेशमा समेत भयनाक डर निम्त्याउँछ। सन् २०१२ को १५ डिसेम्बरमा दिल्लीमा भएको बलात्कारको घटनाले देशभित्र मात्र नभएर विदेशमा समेत आतंक सिर्जना गरेको थियो।
 
हामी एउटा जोखिमले भरिएको संसारमा बाँचिरहेका छौं। त्रास र डरमा बिताएको जिन्दगीले मोरल प्यानिकबाट छुटकारा पाउने तरिकाको खोजी गर्छ। समाजमा दृश्य र अदृश्य रुपमा देखिने फ्लक डेभिलले जो सुकैलाई पनि समस्यामा पार्न सक्छ। बिनाकुनै गल्ती जानी वा नजानी शारीरिक वा मानसिक रुपले हामी त्यस्ता मुद्दाको भागीदार बनेका हुन्छौं।
 
२०७२ साउन ५ गते नवलपरासीको कुडिया–४ का परमानन्द कोहारका १० वर्षीय छोरा जीवनलाई छिमेकी कोदाई चमारले बलि चढाइएको घटनाले पूरै देशमा भय सिर्जना गरेको थियो। यस घटनाले गाउँलेबीचको सदभाव र आत्मियतामा कमी आएको समाचार बाहिर आए। कुडिया गाउँमा मात्र नभएर अन्य गाउँ समाजमा समेत छिमेकीप्रति शङ्का, भय, डर र आक्रोश निम्त्यायो। यस्ता घटनालाई अझ आक्रामक बनाउने कि सहजताको अनुकूल बनाउने भन्ने बिषयमा सञ्चारमाध्यमले सोच्नुपर्ने देखिन्छ।
 
पोलिटिकल मोरल प्यानिकको उदाहरणको रुपमा अघिल्लो वर्षको भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी सहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु  घटनाले थारु र पहाडी समुदायमा डर, त्रास र असमन्जस्यता कायम गर्‍यो। ती समुदाय एक-अर्कासँग अझै पनि सशंकित नै छन्। त्यसलाई कम गर्न मिडियाले कस्तो भूमिका निर्वाह गर्ने, सोच्नुपर्ने हो। त्यति बेला त्यस घटनालाई स्कुपको रुपमा लिएका राष्ट्रिय मूलधारका मिडियाका कारण पनि दुई समुदायबीच वैमनस्यता बढेको हो भन्ने हेक्का पनि स्वयं मिडियाले राख्नुपर्छ।
 
असार १५ मा कृषिमन्त्री हरि पराजुलीले सार्वजनिक स्थानमा महिलामाथि गरेको अभद्र व्यवहारले ठूलै तहल्का ल्यायो। आफ्नो नैतिक आचरण र ओहदा समेत बिर्सने तत्कालीन  मन्त्री पराजुलीले नेपालका राजनीति गर्ने नेताहरुको नैतिक आचरणमाथि नै प्रश्न उठाएको छ। समाजलाई शान्त र स्वच्छ राख्ने कोसिस गर्दा समाजमा देखिने त्यस्ता ‘फ्लक डेभिल’ले कुनै न कुनै दुर्घटना निम्त्याउँछन्। त्यसलाई मिडियाले प्रमुख मुद्दा बनाई समाजमा त्रास फैलाउने काम गर्छन्।
 
समाजमा नैतिक संकट नित्याउने एक व्यक्ति भए पनि त्यसलाई सकारात्मक रुपमा लिने सानो समूह रहन्छ। जसले समाजको सुशासन बिथोल्ने काम गर्छन्। जुन समाजको लागि बढी डरलाग्दो बन्छ। त्यस्तै सिके राउतले लगाएको ‘स्वतन्त्र मधेस’को रटान नेपाली समाजका लागि असह्य बनेको छ। यसले नेपाली भूमि खण्डन हुने डर नेपालीहरुमा छ।
 
राजनीतिक चलखेल, अर्थिक चलखेलका कारण पनि नेपाली समाज नैतिक पतनतिर जाँदैछ। अर्कातिर बलात्कार, छोरीबेटी बेचबिखन, लागुऔषध, दाइजो, सम्बन्ध बिच्छेद जस्ता मुद्दाले समाजमा ठूलो त्रास निम्त्याएको छ। मिडियाले समेत त्यस्ता मुद्दाहरुलाई अतिरञ्जित समाजमा तनाव सिर्जना गर्ने गर्छ।
 
अहिले नराम्ररी विकसित भएको इन्टरनेटको प्रयोगले यस्ता घटनालाई तीव्रता दिएको छ। सामाजिक सञ्जालमा कुरा भएकै भरमा आत्मीयता बढाउने, आफ्ना पारिवारिक कुरा शेयर गर्ने, लगनगाँठो समेत कस्ने जस्ता क्रियाकलाप बढ्दै गएका छन्। यतिमात्र नभएर कतिको वैवाहिक जीवन समेत तहसनहस भएका समाचार दैनिकजसो पढ्न, सुन्न र देख्न पाइन्छ। यो समाजको लागि ठूलो भयको विषय बनेको छ।
 
समाजले बेहोरिरहेको अर्को ठूलो मोरल प्यानिकको रुपमा वैदेशिक रोजगारी समेत परेको छ। युवाहरुको विदेश जाने बढ्दो क्रमसँगै वैवाहिक जीवनमा सङ्कट उत्पन्न हुने घटना समाजका लागि मात्र नभएर देशकै लागि ठूलो खतरा बनेका छन्। विदेशबाट लास र अवैध गर्भ लिएर फर्किने नेपाली छोरीहरुको बारेमा मिडियाले सूचना दिने तरिकाले समाज अझ मर्माहत बन्ने गर्छ।
 
यस्ता घटनाबाट बच्न हरसम्भव कोसिस गरिए पनि कति बेला हामी पनि यसका सिकार हुन सक्छौं। यदि नेपाली मिडियाले मोरल प्यानिकका घटनाका बारेमा सन्तुलित सूचना दिने हो भने समाजमा सुव्यवस्था कायम हुन सक्छ। त्यसका लागि सरकार र मिडियाको रणनीति हुनु आवश्यक छ।
 
गत वर्ष गएको भूकम्प र भारतीय नाकाबन्दीपछि नेपाली मिडियाले चित्रण गरेको सूचनाहरुमा केही संयमता अपनाएको देखिन्छ। जसका कारण समाजमा फैलिएको त्रास साम्य हुन सहज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट