PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

हामी कुरा गर्न सिपालु भयौं तर काम के गर्‍यौं?


युवराज ज्ञवाली/पहिलोपोस्ट

हामी कुरा गर्न सिपालु भयौं तर काम के गर्‍यौं?
काठमाडौं प्राकृतिक सुन्दरताले हिसाबले तेस्रो आकर्षक ठाउँमा पर्दछ। तर प्रदूषण, भद्रगोल र अव्यवस्थाका हिसाबले पनि तेस्रो स्थानमा नै पर्ने रहेछ।
 
राजधानीमा पानी आए हिलोले हिँड्न नसक्ने, घाम लागे धुलोले खपिनसक्नु हुन्छ। बाटोमा हिँड्नेको हालत हेरिनसक्नु हुन्छ।
 
म सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु। त्यहाँ जनताले सरकार, सासंद र दलप्रति दिने नकरात्मक प्रतिक्रिया सुनिनसक्नु छ।
 
हामी कुरा गर्छौं तर परिणाम केही पनि छैन। हामी (राजनीतिज्ञहरु) परिणाममुखी हुनुपर्छ।
 
राजधानीको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडक बनाउन लागेको महिनौं भयो। दैनिक हजारौं गाडी गुड्छन् त्यहाँ। लाखौं मानिसले त्यो बाटोमा यात्रा गरिरहेका हुन्छन्।
 
सडकका खाल्टाखुल्टी एम्बुसको रुपमा रहेको छ। एम्बुलेन्समा रहेको बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ।
 
अझ राजधानीबाहिरको सडकको अवस्था कस्तो होला? सहज रुपमा विचार गर्न सकिन्छ।
 
त्रिपुरेश्वर-नागढुङ्गा बाटो यथाशीघ्र निर्माण गर्नुपर्छ कि पर्दैन? यस्तै रुपमा राखेर बस्न सरकारले मिल्छ?
 
बाहिरबाट आउने पर्यटकले के भन्दा हुन्? लाज लाग्छ। विदेशले के भन्दा हुन्? लज्जाबोध हुन्छ हामीलाई।
 
राजधानीका जति पनि शाखा बाटा छन्, मुख्य बाटोमा जाम हुनासाग ती बाटोमा पनि तत्काल जाम भइहाल्छ। सानो र साँघुरो भएकाले पनि घन्टौं जाम हुने समस्या छ।
 
जनताले प्रतिक्रिया दिइरहेका हुन्छन्, तर कसैले सुन्दैन। जनतामा गुनासो मात्र होइन आक्रोश छ।
 
हामीले कति विकास गरेका छौं, बाटो हेरेपछि दुनियाँले थाहा पाउँछ। राजधानीको बाटो हेरेपछि आजसम्म हामीले के विकास गर्‍यौं; प्रस्ट हुन्छ। हामी कुरा गर्न सिपालु भयौं तर काम के गर्‍यौं?
 
सम्बन्धित मन्त्रीले कहिलेसम्म मर्मत गर्ने हो, यो रोष्टमबाट जवाफ दिनुपर्छ।
 
सडक निर्माणमा ठूलो कमिसनको खेल हुन्छ। कोही पक्राउ पर्दैन। अख्तियारले केही पनि गर्दैन।
 
म यो अवस्थाप्रति वर्तमान सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। कहिलेसम्म यस्तो दुराअवस्थामा रहेको बाटो बन्ने हो? सम्बन्धित मन्त्रीबाट म जवाफ चाहन्छु। 
 
(प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संसदमा राखेको धारणाको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट