PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सहभागिता मात्रै, खोइ पदक?


गोविन्दराज नेपाल/पहिलोपोस्ट

सहभागिता मात्रै, खोइ पदक?
ब्राजिलमा ३१ औं संस्करणको ओलम्पिक सकिसकेको छ। खेलकुदको कुम्भ मेला मानिने रियो ओलम्पिकमा नेपालले पनि सहभागिता जनायो। पाँच खेलका सात खेलाडीले आफ्नो चुनौती मात्र पेश गरे। पदक जित्ने लक्ष्यसाथ भने होइन।
 
नेपाल खालि सहभागितामै रमाउँछ, पदाधिकारी सहभागिता नै ठूलो कुरा मान्छन् अनि खेलाडी राष्ट्रिय कीर्तिमान कायम राख्दैमा दंग छन्। नेपालले ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा पनि थोरै समयमा तयारी गर्छ। पदक जित्ने खासै लक्ष्य पनि हुँदैन। तर किन यस्तो हुन्छ खेलकुदका पदाधिकारी सोच्दैनन्।
 
अब नेपालले बेलैमा सोच्ने बेला आएको छ। पदक जित्न सक्ने नहुन्जेल ओलम्पिकमा खेल्न पो नजाने कि?
 
हुन त ओलम्पिकमा कुनै पनि देशको क्षेत्रफल र जनसंख्याको आधारमा खेलाडीको सहभागिताको तोक्ने चलन पनि होला। नेपालभन्दा साना र थोरै जनसंख्या भएका देशहरुले पनि भटाभट ओलम्पिक खेल्दै स्वर्ण पदक जित्दै गरेका छन्।
 
नेपालभन्दा पछि ओलम्पिक खेल्न पुगेका देशले पनि स्वर्ण जितिसके। हामी सहभागितामै सीमित छौं। राष्ट्रिय रेकर्ड तोड्न सक्यो भने त्यो बोनसझैं हुन्। नेपाली पदाधिकारीले हामी पनि पदक जित्छौं भनेर कहिले सोच्ने?
 
खेलाडीले पदक जित्ने भनेको आफ्नो प्रदर्शनले हो। तर उसलाई पदक जित्नका लागि योग्य बनाउने काम अरुकै हुन्छ। उसलाई सिकाउने प्रशिक्षक हुन्छ भने खेल्ने वातावरण मिलाउने संघ। विदेश प्रशिक्षण गर्न पठाउने नियमित ट्रेनिङ गर्न पहल गर्ने राष्ट्रिय खेलकुद परिषद छ। खेल जित्नका लागि प्रतिभाको खेलकौशल त चाहिन्छ नै। नेपाली खेलाडी कमजोर छैनन् तर उनीहरुको पहिचान गरेर सही स्थानमा सदुपयोग गर्न सकिएको छैन।
 
नेपालले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिक नै हो। यो विश्व खेलकुदकै कुम्भ मेला अर्थात् महोत्सव पनि। कुनै पनि खेलाडीले खेल क्षेत्रमा आफूलाई होमिसकेपछि सोच्ने अन्तिम बिन्दु ओलम्पिक नै हो। अनि त्यसमा पदक जितेर आफ्नो खेल जीवन सार्थक पार्ने अन्तिम लक्ष्य। यति हुन पाए भने खेलाडीले पनि आफ्नो देशलाई केही दिन पाएकोमा र आफूले पनि खेल क्षेत्रमा केही गर्न सकेकोमा गर्व गर्नेछन्।
 
ओलम्पिकपछि नेपालले खेल्ने दोस्रो ठूलो प्रतियोगिता एसियन गेम्स हो भने त्यसपछि दक्षिण एसियाली खेलकुद साग। अन्तर्राष्ट्रिय स्तरमा को बलियो खेलाडी को कमजोर खेलाडी भन्ने नै छैन। सब एकसे एक छन्। पदक जित्ने र नजित्नेको पनि केही मात्र अन्तर हुन्छ।
 
ओलम्पिकमा त छनोट भएर खेल्न जानुपर्छ। तर छनोट नभए तापनि वाइल्ड कार्ड मार्फत छनोट हुने सम्भावना हुन्छ। त्यसमा पनि छनोट हुन नसक्नेका लागि आइओसीले युनिभर्सल प्लेसेस अर्थात् अनिवार्य कोटामार्फत ओलम्पिकमा छनोट हुने वातावरण मिलाइलिएको छ। जसअन्तर्गत आफ्ना सदस्य राष्ट्रका एथलेटिक्स र पौडीका दुईदुई खेलाडी एकएक महिला र पुरुष गरी कुल चार खेलाडीलाई अनिवार्य सहभागिताको अवसर दिएको छ।
 
ओलम्पिक जस्तो एसियन र सागमा हुँदैन। ओलम्पिकमा नेपालले अहिलेसम्म एकै संस्करणमा पठाएको सबैभन्दा धेरै खेलाडी संख्या १७ हो। ती खेलाडी सन् १९८८ मा सोल गएका थिए। तर एसियन गेम्स र साग गेम्समा नेपालले जम्बो टोली नै पठाउने गर्छ। खेलाडीभन्दा पदाधिकारी बढी हुन्छन्। अनि पदकका नाममा एकदमै न्युन उपलब्धि।
 
एसियन गेम्स त नेपालका लागि पदक जित्न टाढाको जस्तो बन्न थालिसक्यो। सागमा पनि नेपालले आफ्नो क्षमता र उपस्थिति गुमाउँदै गएको छ। आफूले जित्दै आएको खेलमा नेपाल पछि पर्दै गएको छ। नेपालको स्तर खस्किँदो छ। खेलेर कसरी बाँस्ने भन्ने उनीहरुमा चिन्ता छ।
 
नेपालले १२ औं सागमा निकै सकसका बीच तीन स्वर्ण जित्यो। रजत र कास्य गरी कुल पदक संख्या ६० थियो। नेपाल अहिले त्यसमै रमायो। पछिको लागि सम्बन्धित निकायले सोचेको देखिँदैन। त्यस बेला राखेप सदस्य सचिव केशव त दक्षिण एसियाली खेलकुदमा नेपालले संख्या बढाएको भन्दै हौसिएका थिए।
 
दुई वर्षअघिको एसियन गेम्स हेर्ने हो भने नेपालको अवस्था निकै नाजुक थियो। कराँतेकी विमला तामाङले एक कास्य जित्दै नेपालको इज्जत जोगाइन्। त्यसअघि गोन्झाउमा बक्सिङका दिपक विष्टले कास्य जिते।
 
केहीअघिसम्म एसियन गेम्समा नेपालका दीपक विष्ट, संगीना वैद, आयशा शाक्यहरुले रजतसम्म दिलाएका थिए। अहिले समय फेरिएको छ। नेपाल हरेक खेलमा पदक जित्नमै संघर्ष गरिरहेको छ।
 

खेलको पहिचान

नेपालले अब आफू बलियो रहेको खेलमा राम्रो तयारी गरेर थोरै खेलाडी मात्र ओलम्पिकमा खेल्न पठाए हुन्छ। थोरै खेलाडी पठाउँदा सबैको ध्यान र समर्थन त्यसमै केन्द्रित हुन्छ। विदेश घुम्नमात्रै केन्द्रित नभई यस विषयमा राखेप र ओलम्पिक कमिटीले ध्यान पुर्‍याउन जरुरी छ।
 
अहिले जमैका छोटो दौड, अमेरिका पौडी, बास्केटबल र भलिबल, चीन ब्याडमिन्टन, टेबलटेनिस, अफ्रिकन राष्ट्रहरु लामो दुरीको दौडमा बलिया छन्। उनीहरुको पहिचान त्यसैमा छ। खेलकुदमा नेपालको पहिचान के त?
 
पहिला मार्शस आर्टसमा नेपालमा नेपालको राम्रो पकड थियो। दक्षिण एसियामा नेपाललाई चुनौती दिने कमै हुन्थे। तर अब सब अवस्था उल्टिइसकेको छ। नेपाल सहभागितामै रमाइरहेको छ।
 
हामीले बलियो खेललाई बैलैमा पहिचान गरी लगानी गर्ने, वैदेशिक तालिम गर्ने खेलाडीलाई सक्षम बनाएर पदक जिताउन लागिपर्ने बेला आइसकेको छ। नत्र नेपालले खेल पनि हार्नेछ, पदक जित्ने त टाढाको कुरा।
 
धेरैले भन्ने गर्छन्- नेपालको खेलकुद अवस्था र खेलाडी कमजोर भए होइनन् तर विदेशी खेलाडीहरुले राम्रो गरेकाले नेपाल पछाडि परेको हो।
 
त्यसो भए त हामी झनै अगाडि बढ्नुपर्ने होइन र? कि अरुलाई अगाडि लगाएर पछिपछि हिँडिमात्रै रहने?
 
अहिले ओलम्पिकमा २८ खेलका ४२ विधामा ३०६ इभेन्ट समावेश थियो। अब चार वर्षपछि टोकियोमा हुने ओलम्पिकमा कराँते सहित पाँच खेल थपिने निर्णय भइसकेको छ।
 
कराते थपिने भएपछि नेपाल उत्साहित छ। तर नेपालले सागमै करातेतर्फ राम्रो प्रदर्शन गर्न छाडिसक्यो। कुनै बेलाको बलियो खेल कराते अहिले त सागमा पनि समावेश नै गरिएन।
 
पहिले सागमा पदक जित्न सक्ने हुनुपर्छ। त्यसपछि एसियन गेम्स अनि मात्र ओलम्पिक। नेपाली खेलाडी र सम्बन्धित निकायले यसमा ध्यान दिनैपर्छ।
 
ओलम्पिकमा पनि पौडी र एथ्लेटिक्स गरी चार खेलाडीले अनिवार्य सहभागिता मार्फत सहभागी जनाउने मौका पाँउछन्। तर किन अनिवार्य नै कुर्ने? राम्रो गरेर छनोट भएर नै जान सकिन्न र! वाइल्ड कार्ड वा अनिवार्यबाट जाँदा विपक्षी हाबी बन्छ।
 
अर्को पटकको ओलम्पिकमा नेपालले कुनकुन खेलमा खेल्न सक्छ, पदकमा दाबी गर्न सक्छ सक्दैन, अहिलेबाटै तयारी गर्नु आवश्यक छ। त्यो पनि निश्चित खेल निर्धारण गरेर। यदि टोकियोमा सक्दैन भने आठ वर्षपछिको ओलम्पिकका लागि योजना बनाऔं।
 
त्योभन्दा अघि नेपालकै बृहत् राष्ट्रिय प्रतियोगिता हुन्छ। त्यसमा देशभरबाट राम्रो खेलाडीहरुलाई सहभागी हुने वातावरण बनाऔं। नातागोताकै भरमा खेलाडीलाई छनोट नगराऔं। प्रतिभालाई राम्रोसँग चिनौं। उनीहरुलाई निरन्तर खेलमा लाग्ने वातावरण सिर्जना गरौं। तालिम दिऔं। प्रशिक्षणका लागि विदेश पठाऔं।

नेपाली खेलाडीले पदक जित्नका लागि यति भए ठूलो सम्भावना रहन्छ। साग गेम हुँदै एसियनमा पनि नेपालको बलियो खेल के हो भनेर सोचौं अनि मात्र खेलाडी छानौं। तबमात्र भन्न सकिन्छ- नेपाल पदक ल्याउनका लागि सक्षम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट