PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डा. गोविन्द केसीलाई बलि नचढाऊ


ऋषिकेश दाहाल/पहिलोपोस्ट

डा. गोविन्द केसीलाई बलि नचढाऊ
भूकम्पले जताततै बेहाल। उद्दारका लागि सरकारले परिचालन गरेका संयन्त्रहरु गाउँगाउँसम्म पुगिरहेका थिएनन्। समाचार संकलन गर्नेका लागि हरेक गाउँ समाचारका विषयवस्तु बनिरहेका थिए। जहाँ पुगे पनि समाचार। जे पनि समाचार। सिन्धुपाल्चोकको तातोपानी नाका पुग्दा पनि सरकारभन्दा पहिले पुगिने र रसुवाको धुन्चे पुग्दा पनि सरकारी सहयोगभन्दा अघि भइने! दुखद् र त्रासदीपूर्ण समयको एउटा कालखण्डमा पत्रकारिताको अनुभव गर्नु आफैँमा एउटा सिकाइ थियो। 

यही क्रममा रसुवाको धुन्चेसम्म पुगेर फर्किँदै गर्दा बाटामा एक ८० कटेका वृद्ध भेटिए। उनकी पत्नी घाइते रहिछिन् सडकसम्म ल्याउन सकिएको रहेनछ। न गाउँका सचिव त्यहाँ पुगेका थिए, न स्वास्थ्यकर्मी नै। उनलाई सडकमा अलपत्र देख्यौं। उनको पीडाले भूकम्प पीडितको अवस्थालाई चित्रित गरिरहँदा त्यहाँ राज्यको उपस्थितिका संकेतहरु केही पनि देखिएका थिएनन्। उनको मुजा परेका अनुहारले पीडा सुनाएलगत्तै हामी हान्निनु थियो काठमाडौं। बाटोमा फर्किँदै गर्दा कोही चिनेको अनुहार साक्षत्कार भयो। मोटरसाइकल रोकेर फर्किएको त रहेछन् डाक्टर गोविन्द केसी। 

'कति दिन यता हुन्छु थाहा छैन,' रुक्स्याक भिरेका उनी लुखुर लुखुर उत्तरतिर हानिँदै थिए। भूकम्पले सडक बन्द थियो। हामीले उनलाई जहाँ भेट्यौं त्यहाँबाट रसुवाको सदरमुकाम धुन्चे पुग्दा १५ किलोमिटरजति दुरी बाँकी थियो। उनी हिँड्दै त्यो दुरी पार गर्दै थिए। उनका साथी कोही थिएनन्। जोखिम र जटिल अवस्थामा केही औषधी ढाडमा अडिएको रुक्स्याकमा भिरेर भित्ते पहरोमा वेदनाले छट्पटिएकाहरुको उपचारका लागि उनी त्यता जाँदै थिए। उनलाई बाटोमै भेटेपछि केही समय अघिमात्र भेटेको वृद्ध र उनकी पत्नीको कुरा सुनायौं। 'म भेटाउँछु होला,' गोविन्द केसीले हाम्रो कुरा सुनेपछि आश्वासन दिए। त्यसपछि उनी लागे रसुवातिर, हामी फर्कियौं काठमाडौं।

सम्बन्धित समाचार : स्थलगत रिपोर्ट : हर्कमानको पुकारा र डा. गोविन्द केसीको उदय

रसुवा जानुअघि डाक्टर केसी सिन्धुपाल्चोकका दु:खीहरुको घरमा पुगेका रहेछन्। त्यहाँ उपचारका सम्भावनाहरु बढ्दै गएको देखेपछि उनीहरु रसुवातिर हानिएका थिए।

पटक-पटक आन्दोलन गरिरहने गोविन्द केसी एउटा ह्याट लगाएर आफ्नो काँधमा औषधि बोकेर पीडितहरुको दैलोदैलो चहारिरहेका थिए। करिब २ साता उनी उतै भुले।

अहिले यिनै केसी आठौं पटक अनसनमा बसेको एक साता भइसकेको छ। उनका मागहरु नाजायज छन् भनेर बोल्ने हिम्मत कसैमा छैन। तर उनका विपक्षमा उत्रिनेहरु बलिया छन्। मोटाघाटा र अग्लाहरु छन्। सेलिब्रिटी छन्। भूकम्पको रिपोर्टिङका सिलसिलामा गोविन्द केसी जसरी भेटिए, उनका विपक्षमा अहिले उत्रिएका भुसतिघ्रेहरु देखिएका थिएनन्। भेटिएका भए ती पनि समाचारका शीर्षक बन्थे, निश्चय पनि। 

यतिखेर अखबारका पानामा यिनैका मुद्दालाई छायाँमा पार्ने तत्वहरुको प्रतिस्पर्धा छ। सामाजिक सञ्जालमा उनीविरुद्ध विष वमन गर्नेहरु पनि उत्तिकै सक्रिय रुपमा परिचालित छन्। राजनीतिलाई पेशा बनाएर चिकित्साशास्त्रको शिक्षालाई व्यापार गर्ने थलो बनाउनेहरु उनीविरुद्ध एकमत छन्। यिनीहरु बलिया पनि छन्। गोविन्द केसी न त अग्ला छन् न बलिया नै। यिनी त भूकम्पमा परेर अलपत्र परेका घाइतेहरुजस्तै हुन् जसप्रति सत्ताको हम्मेसी नजर पुग्दैन। पुगिहाले पनि स्वार्थका केन्द्रहरुले यिनीमाथि वक्रदृष्टि लगाउन दिएको निर्देश अनुशरण गर्छ सत्ता। अनि यिनलाई दुष्ट देख्छ। आफू स्वार्थको सागरमा पौडिनेहरुबाट घेरिएको सत्ताले कहिल्यै महसुस गर्दैन। यिनी अपहेलित हुन्छन्। लोकतन्त्रमा यिनीमाथि हुकुमी आदेश लागू हुन्छ - अस्पतालमा आन्दोलन नगर।

ठीक हो अस्पतालमा आन्दोलनका नारा घन्किन हुन्न। उपचार गर्ने ठाउँमा आन्दोलन गर्न हुन्न। तर, यही लोकतान्त्रिक सरकार हो जसले कर्मचारीलाई दलमा विभाजन गर्छ र तिनीहरुबीच चुनाव गराउँछ। त्यही चुनावको रडाको अहिले मुलुकको प्रशासनलाई तन्नम बनाउन जुटेको छ। गोविन्द केसीका विरुद्ध प्राध्यापकहरु उतारिएका छन्। तिनमा थोरैमात्र प्राध्यापकीय र धेरै दलका कार्यकर्ता हुने गुण छ। दलीय रुपमा भाग लागेका छन् यस्ता प्राध्यापकहरु। शिक्षालय बन्द गराउने गरी आन्दोलनमा यिनै जुटिरहेका भेटिन्छन्। अनि गोविन्द केसीको निष्ठा र आन्दोलनमाथि औला यिनैले ठड्याइरहेका हुन्छन्। 

गोविन्द केसीको अनशन आफैँमा एउटा पीडा हो। दु:खीका घरमा उपचारका थैली बोकेर हिँड्ने उनी आफैमा भोकभोकै रहँदा रमाउनेहरु उत्तिकै छन्। उनलाई मोहरा बनाउनेहरु पनि नहोलान् भन्न सकिन्न। तर उनले जे एजेन्डा उठाएका छन् त्यो गलत भन्ने हिम्मत कसैमा छैन। बाहुबलीहरुले थपथपाएको पिठ्युँको शक्तिले गोविन्द केसीहरुमाथि धावा बोलिँदैछ। उनको एजेन्डालाई गलत ठहर्‍याउने कोही माइका लाल भेटिएका छैनन् तर पनि उनीविरुद्ध मिडियाबाजी सुरु भइसकेको छ। देशकै कहलिएका सम्पादकहरु गोविन्द केसीविरुद्ध मसी खर्चिरहेका छन्। तिनमा थोरै पनि हीनताबोध देखिन्न। उनको अनसनको शक्तिले आत्तिएकाहरु मिडियाबाट उनलाई बद्‍नाम गराउन लागेका छन्। 

अनि एकथरी छन् जो गोविन्द केसीलाई अनशनमा धकेलिरहेका छन्। थाहा छैन किन उनीहरु आफै केसीका मुद्दालाई एजेन्डाका रुपमा स्थापित गर्न सक्दैनन् र उनकै बलि खोजिरहन्छन्। आफू केही गर्न नसक्ने र गोविन्द केसीलाई भोकभोकै राखेर इमानको राजनीति गर्नेहरुले पनि उनको निष्ठाको अभियानलाई दुषित बनाएका छन्। इवी र इगोमा दौडिएकाहरु गोविन्द केसीको पक्षमा उत्रिँदा समाज ध्रुविकृत हुन थालेको छ। जसका उदाहरणहरु अखबारका पानाहरुमा छरपस्ट भइरहेको छ। गोविन्द केसीको मुद्दालाई डिफ्युज गर्न ध्रुविकरणलाई हतियार बनाएको छ सत्ताले। सत्ता चल्ने नै ध्रुविकरणको बीचबाट हो जुन अहिले जारी छ। त्यसैले यसपाला डाक्टर केसीको आन्दोलन कुन मोडमा पुग्छ र के हुन्छ पत्तो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट